‘न्यायाधीशमाथि निर्ममतापूर्वक उत्खनन् गर्नुहोस्, लेख्नुहोस् ’

821
  •  
  •  
  •  

s50aकाठमाडौं ११ पुस (ओएनएस) : बिहीबार साँझ अबेरसम्म ललितपुरको गोदावरी भिलेज रिसोर्टमा सर्वोच्च अदालतका न्यायाधीश कल्याण श्रेष्ठ, निमित्त रजिष्ट्रार विपुल न्यौपाने, सहायक प्रवक्ता बाबुराम दाहालसहित सर्वोच्च अदालतका केही अधिकारी र पत्रकारहरुको जमघट थियो । सर्वोच्च अदालतले पत्रकारसँग गरेको अन्तक्र्रिया यो मात्रै पहिलो त थिएन तर केही विषय र प्रसंगका हिसाबले यो उल्लेख्य रह्यो ।

राष्ट्रिय मिडियामा अदालत बिट बनाएर कलम चलाउने, समाचार सम्पादन गर्नेहरुसहितको जमघटमा पत्रकाहरुले अदालत र न्यायाधीशका विषयमा लेख्नुअघि एकपटक सोच्नुपरेको, सेल्फ सेन्सरसिपको सामना गर्नुपरेको यथार्थ सुनाए । अवहेलना मुद्दाका डरले कतिपय पत्रकारले बिट नै परिवर्तन गरेको, कतिपयले समाचार नै नलेखेको, कति रिपोर्टरले लेखे पनि डेस्कबाट अवहेलना मुद्दा लाग्छ कि लाग्दैन भनेर केरकार पारेको, अनि कतिपय अवस्थामा प्रकाशक नै आएर अदालतबारे लेख्दा विचार पुर्याउनू है भन्दै चेतावनीका शब्द आउने गरेको भन्दै पत्रकारहरुले आफ्नो अनुभव सुनाएका थिए ।

पत्रकारका जिज्ञासा र गुनासो सुनेपछि सर्वोच्च अदालतका वरिष्ठतम न्यायाधीश एवम्: न्यायपरिषद सदस्य कल्याण श्रेष्ठले लामो टिप्पणीमूलक जावफ दिए । अबको केही महिनापछि प्रधानन्यायाधीश रामकुमार प्रसाद साहलाई विस्थापन गर्ने न्यायाधीश श्रेष्ठको प्रस्तुतिको सारसंक्षेप :

न्यायाधीशका विषयमा अवहेलना मुद्दा लाग्छ भनेर डराउनु पर्दैन । न्यायाधीशमाथि तपाईंहरू निर्ममतापूर्वक उत्खनन् गर्नुहोस् । निर्मम ढंगले लेख्नुहोस् । डराउनुपर्दैन । नेपालको सञ्चार जगत यति डरपोक हुनै सक्दैन । अवहेलनाबाट डराउने प्रेस साँचो प्रेस र अदालतको साथी हुनै सक्दैन । त्यस्तो प्रेस हामीलाई चाहिएको पनि छैन । डरपोक पत्रकार हाम्रा सम्पत्ति होइनन् र हुन पनि सक्दैनन् ।

कुनै पात्र कति खराब छ ? त्यो खोतलेर इमान्दार भएर लेख्न सक्नुपर्छ । तर, लेख्ने कुरामा अदालतको अवहेलनासँग डराउनु आबश्यक छैन । अवहेलना भनेको अपवाद मात्रै हो । यो नियमित होइन । लेख्दा अवहेलना सम्झेर, डराएर नलेख्नूस् । लेख्दा त आनन्दको अनुभूति पो हुनुपर्छ । डर पालेर लेखिएको लेख गहिराइमा पुग्नै सक्दैन । जति सक्नुहुन्छ, सत्यको गहिराइमा पुग्नुहोस् । सत्यको साधना गर्नुहोस् ।

हामीलाई स्तुति चाहिको छैन । आलोचना गर्नुहोस् । तर, मूल्यबाट निर्देशित भएर काम गरिदिनुहोस् । इमानदार भएर लेखिदिनुहोस् । स्वतन्त्रतापूर्वक लेख्नुहोस् । सौम्य भएर लेखिदिनुहोस् । स्वतन्त्रता नग्नता होइन, सौम्यता हो ।

लेख्दा अदालतको अवहेलना हुन्छ भन्ने डरले ‘सेल्फ सेन्सर’ गर्ने कुरा खतरनाक हो । सेल्प सेन्सरसिपले सत्य बाहिर आउँदैन । पत्रकारको धर्म पनि पूरा हुँदैन । लेखनकला, प्रस्तुति कला पनि तपाईंको आफ्नै हो ।

कुनै पक्षलाई जिताउँछु वा हराउँछु भनेर लेख्न बस्दा सत्य र न्याय ओझेल पर्न सक्छ । यत्तिचाहिँ विचार गरिदिनुहोस् । आत्म संयम राखिदिनुहोस् ।
कुनै पात्रका कारण, कुनै कालखण्डमा केही भयो होला । उसलाई आधार बनाएर सिंगो अदालत र न्यायिक प्रक्रिया नै खत्तम छ भन्ने खालका टिप्पणीले न तपाईंहरूलाई फाइदा पुग्छ, न हामीलाई । न त राज्य र प्रणालीलाई नै ।

रसियाली प्रधानन्यायाधीशले न्यायाधीश झिंगा हो भन्नुहुन्थ्यो । पत्रिकाले यस्सो उठाएर झ्याप्प हान्यो भने झिंगा नै रहँदैन । के अदालत र न्यायाधीशलाई झिंगा बनाउने हो ? झिंगा बनाउन चाहनुहुन्छ ? न्यायपालिकालाई बलियो बनाउने हो भने त्यो तपाईंहरुको हातमा पनि हुन्छ ।

जनतासमक्ष सत्य के हो ? ल्याएर राखिदिनुहोस् । सत्य समाचार लखेकै आधारमा केही भयो भने त्यसको प्रतिरक्षा हामी गर्छौं । फेरि पनि भन्छु, न्यायाधीशहरूका विषयमा निर्मतापूर्वक उत्खनन् गर्नुहोस् । सत्यको साधाना गर्नुहोस् । कुनै पात्र बदमास भए सक्दो खोतल्नुहोस् । मर्यादाभित्र रहेर गरिदिनुहोस् । अतिरन्जना र प्रायोजनबाट टाढा रहनुहोस् । मूल्यबाट निर्देशित भएर गरिदिनुहोस् । आखिर तपाईं हाम्रो लक्ष्य त एउटै हो नि ।


  •  
  •  
  •