प्रधान न्यायाधीशमा कल्याण श्रेष्ठ सिफारिस

880
  •  
  •  
  •  

kalyanकाठमाडौं, २६ जेठ (ओएनएस) : भावी प्रधान न्‍यायाधीशको लागि सर्वोच्च अदालतका वरिष्ठतम् न्यायाधीश कल्याण श्रेष्ठ सिफारिस भएका छन् । मंगलबार विहान बसेको संवैधानिक परिषद्को बैठकले वरिष्ठताका आधारमा कल्याण श्रेष्ठको नाम सिफारिस गर्ने निर्णय गरेको हो ।

परिषद्ले सर्वसम्मतिमा श्रेष्ठको नाममा निर्णय गरेको समिति सदस्य सभामुख सुवास नेम्वाङले जनाए। वर्तमान प्रधानन्यायाधीश रामकुमार प्रसाद साहको पदावधि आगामी असार २३ गते सकिने भएपछि नयाँ प्रधानन्यायाधीश नियुक्तिको गृहकार्य शुरु भएको हो । प्रधान न्यायाधीश रामकुमार प्रसाद साहले उमेरका कारण अवकास पाउन लागेका हुन् ।

न्याय परिषद्ले श्रेष्ठसहित सुशीला कार्की र गिरिशचन्द्र लालको नाम सिफारिस गरेको थियो । श्रेष्ठपछि प्रधान न्याधीशको रोलक्रममा सुशीला कार्कीको नाम छ ।

कार्कीभन्दा बरिष्ठ न्यायाधीश गिरिशचन्द्र लाल उमेरका कारण पहिले नै अवकाश हुने भएकाले उनी नेपालको इतिहासमा पहिलो महिला प्रधान न्यायाधीश हुने रोल कायम भएको हो ।

संसदीय सुनुवाई प्रक्रिया समेत पार गर्नुपर्ने भएकाले परिषदले एक महिनाअघि नै श्रेष्ठको नाम सिफारिस गरेको हो। श्रेष्ठले प्रधान न्यायाधीशका रुपमा एक वर्ष पनि पूरा गर्न पाउने छैनन् । उनले पनि उमेरका कारण आगामी चैत मसान्तमा अवकाश पाउनेछन् ।


  •  
  •  
  •