स्वास्थ्यप्रति सचेत बन्दै कालिकोटका महिला

सुरक्षित गर्भपतन गर्ने बढे
126
  •  
  •  
  •  

 काठमाडौं । नेपालका ग्रामीण क्षेत्र लगायत शहर बजारमा समेत अझैँ पनि महिलाहरु असुरक्षित गर्भपतन गर्ने गरेको पाइन्छ । किशोरी एवं महिलाहरुमा अज्ञानताका कारण असुरक्षित गर्भपतन गर्न बाध्य भइरहेका छन् । मातृ मृत्युदर गराउने प्रमुख कारणमध्ये असुरक्षित गर्भपतनलाई पनि एक कारकका रुपमा लिने गरिन्छ ।
विशेष गरी ग्रामीण क्षेत्रमा सुरक्षित गर्भपतन गर्न स्वास्थ्य संस्थामा जान समेत असहज मान्ने प्रवृत्ति छ । कसैले देख्छ वा थाहा पाउँछ कि भनेर उनीहरु स्वास्थ्थ संस्था नजाने गरेको पाइएको छ ।
गर्भपतन सेवा निःशुल्क छ तर, महिलालाई यो सेवा निःशुल्क प्राप्त गर्न सकिन्छ भन्ने जानकारी समेत छैन । धामी, झाँक्रीसमक्ष पुग्ने, झारपात वा अन्य औषधि प्रयोग गरिरहेको पाइन्छ ।
असुरक्षित गर्भपतनले शारीरिक एवं मानसिक स्वास्थ्यमा नकारात्मक प्रभाव पारेका धेरै उदाहरण पनि छन् । यस्तै कालिकोट जिल्लाको विभिन्न गाउँहरुमा सरकारी स्वास्थ्य सेवासँगै अन्य संघसंस्थाले पनि प्रजनन् स्वास्थ्य र गुणस्तरिय स्वास्थ्यका कार्यक्रम सञ्चालन गर्न थालेपछि स्थानीय महिलाहरु यौन तथा प्रजनन् स्वास्थ्यबारे सचेत हुन थालेका छन् ।


कालिकोटका ग्रामीण क्षेत्रमा एक्सन वर्क्स नेपाल लगायत विभिन्न संघसंस्थाहरुले प्रजनन् स्वास्थ्य, गर्भपतनको कानूनी मान्यता, परिवार नियोजनका साधनहरूको प्रयोगबारे महिलाहरुलाई जानकारी दिने र सम्बन्धीत स्वास्थ्य संस्थालाई आवस्यक स्वास्थ्य सामग्री पनि प्रदान गर्दै आएको छ । जसले गर्दा त्यहाँका महिलाहरुमा यो सेवा लिनु पर्छ भन्ने चेतना सगै सेवा लिनेको सख्या पनि बढ्दै गएको छ ।

‘प्रजनन् स्वास्थ्यका बारेमा धेरै बुझ्ने अवसर पाएको छु’

मेरो नाम डल्ली वि.क हो । मेरो ठेगाना कालिकोट तिलागुफा नगरपालिका वडा नं.४ दलितटोलमा पर्छ । मेरो विवाह १६ वर्षको उमेरमै भयो । १७ वर्षको उमेरमा गर्भ बस्यो । गर्भवती भएको तीन महिनामै मेरो गर्भ खेर गयो । गर्भ तुहिनुका कारण पनि मलाई थाहा थिएन । फेरि म १८ वर्षको उमेरमा गर्भवती भए । गाउँघरमा मेलापात गर्दा गर्दै मेरो बच्चा जन्मियो । छोरो जन्मिएको १२ दिन नपुग्दै उकालि ओराली गर्नुपर्यो ।
जेठो छोरो ९ महिना नपुग्दै मेरो पेटमा अर्को बच्चा बसेछ । त्यसपछि मलाई ९ महिनाको छोरा र पेटमा रहेको बच्चालाई स्याहार्न अप्ठ्यारो भयो । मेरो पेटमा रहेको बच्चा साढे ३ महिना पुगि सकेछ । त्यसपछि म औषधि लिन नजिकैको स्वास्थ्य चौकीमा गए । स्वास्थ्य चौकीमा औषधी नपाएर त्यसै घर फर्कीएकी थिए । भोलीपल्ट फेरि नाग्मा बजार गए । मेडिकलबाट १२ सयको औषधी किनेर ल्याए । औषधी खाएको ५ दिनसम्म रगत बग्यो । तर बच्चा खेर गएन । पेट असाध्यै दुख्यो । ६ दिनमा बच्चा आधा खसेछ । बच्चा खसेर पनि मेरो पेट दुख्न छाडेन । रगत बग्न पनि छोडेन । अन्तिम अवस्था भइ सकेको थियो । अस्पताल टाढा थियो । अस्पताल नै जानुपर्ने भयो । म वेहोसमा थिए । ऋण खोजेर मेरो श्रीमानले जुम्ला अस्पताल लगेर मेरो उपचार गर्नुभयो । त्यसपछि ठूलो छोरा २ वर्ष पुगेपछि ३ वर्षमा लागेपछि म फेरि गर्भवती गए । गाउँघरमा मेला पात गर्दागर्दैै अर्को बच्चा जन्मियो । म कति बैठक कार्यक्रममा जाने गरेको थिइन् । बैठक कार्यक्रममा नएरै होला मलाई केहि कुरा थाहा थिएन । घरमा पनि बैठक कार्यक्रममा सहभागि हुन जान दिँदैनथे । म बलजबस्ती आमा समुहमा सदस्य बने । प्रत्येक महिनाको एक चोटी बैठकमा उपस्थित भए । आमासमुहमा बस्दा मलाई धेरै ज्ञान भयो । आमा समुहको बैठकमा हामी बसिरहेको अवस्थामा एक्सन वक्र्स नेपालबाट एक जना सामुदायिक सहजकर्ता आउनुभयो । उहाँ सुरक्षित गर्भपतन र परिवार नियोजन सेवाको बारेमा छलफल गर्न २, २ महिनाको फरकमा आउनुभयो । त्यसबीचमा मेरो छोरी जन्मिइन । त्यसपछि मेरो घरमा घरभेटमा सामुदायिक सहजकर्ता आउनुभयो । परिवार नियोजनका बारेमा पनि मेरो श्रीमानलाई सिकाउनुभयो । त्यसपछि पनि मेरो फेरि बच्चा बसेको थियो । सामुदायिक सहजकर्ताकै सल्लाहमा हामीले जुम्ला मेरि स्टोपमा गएर सुरक्षित गर्भपतन गरायौँ । अहिले हामीले गर्भ निरोधका साधन प्रयोग गरिरहेका छौँ ।

‘गर्भपतन गर्न घरायसी जडिबुटी खाए’

मेरो नाम राधा शाही(वर्ष २९) हो । मेरो ठेगाना तिलागुफा नगरपालिका वडा नं ६ जुविथा हो । मेरो विवाह १८ वर्षकै उमेरमा भयो । १९ वर्षमा भर्गवती भए । पहिलो बच्चा छोरी जन्मिइ । छोरी जन्मिएको ११ महिनापछि मेरो फेरि अर्को बच्चा बसेछ । बच्चा बसेको थाहा पाएपछि म नजिकैको स्वास्थ्य संस्थामा जाँच्न गए । त्यसपछि मेरो पेटमा साढे २ महिनको बच्चा रहेको थाहा भयो । गर्भपतनको औषधि मागे । स्वास्थ्य संस्थामा औषधि रहेनछ । मेडिकल जाउँ म सँग पैसा थिएन ।
त्यसपछि ममा घरायसी जडिबुटि प्रयोग गर्ने सोच आयो । गाउँको दिदीको सल्लाह बमोजिम मैले सिस्नोको जरा र गहत पकाएर खाए । त्यसपछि अलिकति रगत बग्यो । मेरो बच्चा खेर गएन कि पेटमा बच्चा मरेछ । पेट धेरै दुख्यो । म थला नै परे । त्यसपछि मेरो श्रीमानले ऋण काडेर मलाई नेपालगञ्ज पुर्याउनुभयो । त्यसपछि पेटको बच्चा मेरो पाठेघरमा टासिएको रहेछ ।
त्यसपछि मेरो पाठेघर सफा गरियो । त्यसपछि हामी घर फर्कीयौँ । त्यसपछि आमा समुहको बैंकमा सहभागि हुन थालेको थिए । एक्सन वर्क नेपालबाट १ जना परिचालिका आमा सहमुहको बैंठकमा बसेको ठाउँमा आउनुभयो । सुरक्षित गर्भपतनका बारेमा र परिवार नियोजनका बारेमा जानकारी गराउनुभयो । श्रीमानलाई पनि बताउनुभयो । त्यसपछि ३ वर्षपछि मेरो छोरा जन्मियो । अहिले मेरो श्रीमानले पनि परिवार नियोजनको साधान प्रयोग गर्नुभएको छ । पहिल्यै सबै कुरा थाहा पाएको भए दुःख पाउने थिइन ।

यि त केहि उदाहरण मात्र हुन् । तर गाउँघरमा कतिपय महिलाहरु सुरक्षित गर्भपतन र परिवार नियोजनका बारेमा थाहा नपाउँदा अकालमै मृत्युवरण गर्न बाध्य भएका छन् । एक्सन वक्र्स नेपालले कालिकोटमा गरेको एक अध्ययनका क्रममा ४५.२ प्रतिशतले महिलाले गर्भपतन गर्दा पाप लाग्ने बताएका थिए । २९ प्रतिशत महिलाले गर्भपतन गर्न चाहना नभएको पाइएको थियो । गर्भपतन गर्ने महिलाले आफ्नो परिवार (३०.५ प्रतिशत) र समुदाय (२९.५) प्रतिशतले लाजमर्दो भएको बताएका थिए ।

एक्सन वक्र्स नेपालका कार्यक्रम अधिकृत सञ्जय चन्द कालिकोटको साविकका १५ वटा गाविसमा आफुहरुले गर्भपतन सम्बन्धी र परिवार नियोजन सम्बन्धी सचेतना बढाउन सक्दो सहयोग गरिरहेको बताउँछन् ।
उनी भन्छन्, ‘हामीले स्वास्थ्य संस्थाका अनमी, अहेवहरुलाई गर्भपतन गराउने तालिम दिँदै आएका छौं । स्वास्थ्य संस्थाहरुबाट सहज र सुलभ रुपमा परिवार नियोजना सम्बन्धी सहज बनाएका छौं ।’
स्वास्थ्य संस्थामा फर्निचर र अन्य इक्युमेन्टहरु समेत आफुले सहयोग गर्दै आएको उनको भनाइ छ ।
उनले भने, ‘एक्सन वक्र्स नेपालले जनचेनाका लागि युथ क्लव, आमा समुहलाई तालिमहरु दिइरहेका छौं । उनीहरुलाई परिवार नियोजन सम्बन्धी जनचेता जगाएका छौं । किशोर किशोरीहरुलाई शिक्षा दिनका लागि सम्बन्धीत स्कूलका शिक्षकलाई तालिम दिएका छौं । यस सम्बन्धि विभिन्न कक्षा पनि दिँदै आएका छौं ।’
अधिकृत चन्दले किशोरकिशोरी र परिवार नियोजन सम्बन्धी रेडियो कार्यक्रम पनि सञ्चालन गर्दै आएको बताए ।
उनले भने, ‘पहिले परिवार नियोजनका बारेमा धेरैलाई थाहा थिएन । अहिले धेरैलाई थाहा भएको छ । उनीहरुले प्रयोग पनि गर्दै आएका छन् ।’
उनीहरुलाई परिवार नियोजन र गर्भपतनका बारेमा ज्ञान दिँदा बच्चा धेरै जन्माउनेको संख्या घटेको र मातृ मृत्युदर पनि घटेको उनको भनाइ छ ।
अहिले धेरै हदसम्म महिला र किशोरीहरुले महिनावारी बार्ने चलन पनि घट्दै गएको अधिकृत चन्द बताउँछन् ।

जनस्वास्थ्य कार्यालय कालिकोटकी स्टाफ नर्स सेतु शाही सरकारले महिलाहरुको सुरक्षित गर्भपतनका विषयमा जिल्ला हुँदै वडा स्तरबाट कार्यक्रम सञ्चालन गर्नुपर्ने बताउँछिन् । जन स्वास्थ्थ कार्यलयले पनि यो आवस्यकतालाई आत्मसाथ गरी मासिक र चौमासिक रुपमा छलफल गर्दै आएको उनको भनाइ छ । उनी जिल्लामा अझैँ असुरक्षित गर्भपतनलाई शुन्यमा झार्नका लागि के गर्न सकिन्छ भनेर संघसंस्थासँग समन्वय गरिरहेको बताउँछिन् । उनले नेपाल सरकारले मात्र अभियान चलाएर नहुने भन्दै बिभिन्न संघसंस्थाहरुसँग पनि हातेमालो गर्दै अगाडि बढ्नुपर्ने बताइन् ।

जिल्ला जनस्वास्थ्य कार्यालय कालिकोटका अनुसार आर्थिक वर्ष २०७७/७८ मा सुरक्षित गर्भपतन सेवा पाउनेमा २० वर्ष तलका मेडिकल १ जना र सर्जिकल १ जना रहेको छन् । २० वर्ष माथिका मेडिकल सेवा लिने १ सय ९८ जना र सर्जिकल सेवा लिने ६३ जना रहेका छन् ।
गर्भपतन पश्चात परिवार साधन अपनाएकामा छोटो अवधिकाको १ सय ४७ र लामो अवधिको ३७ जनाले सेवा लिएका छन् ।  गर्भपतन पश्चात जटिलता भएका १ जनामा जटिलता देखिएको जनस्वास्थ्य कार्यालयका जगदिश नेपालीले जानकारी दिए ।
दक्ष प्रसुतिकर्मीबाट २ हजार ८ सय ६७ जनाले प्रसुति सेवा लिएका छन् भने ४ सय ४ जनाले अन्य स्वास्थ्यकर्मीबाट सेवा प्रसुती सेवा लिएका छन् ।

जिल्ला जनस्वास्थ्य कार्यालय कालिकोटका प्रमुख कटक महत पछिल्लो समय जिल्लामा असुरक्षित गर्भपतन गराउनेको संख्या कमि हुँदै आएको बताउँछन् । उनी भन्छन्, ‘सुरक्षित गर्भपतन सम्बन्धी जनचेता अभिवृद्धि भएको छ । महिला, किशोरीहरु जनस्वास्थ्यको बारेमा सचेत हुँदै गएका छन् ।’

जिल्लामा महिला स्वास्थ्य र प्रजनन्का विषयमा जनचेतना फैलाउन विभिन्न संघसंस्था लगायतका साथ र सहयोग छ ।
मातृ मृत्युको प्रमुख कारणमध्ये असुरक्षित गर्भपतन पनि एक हो । नेपालमा सुरक्षित गर्भपतन सेवाले कानुनी मान्यता पाएको छ । त्यसैले अबको गन्तव्य : असुरक्षित गर्भपतनको अन्त्य नै हो ।


  •  
  •  
  •