फोहर फाल्दा कालीगण्डकी नदी प्रदूषित

136
  •  
  •  
  •  

पर्वत, २९ भदौ : धार्मिक पर्यटकीय हिसाबले महत्वपूर्ण मानिने कालीगण्डकी नदी प्रदूषित बन्दै गएको छ । कालीगण्डकी नदी किनार र यसको जलाधार क्षेत्रका नदीमा सहरबजारको फोहर फाल्नाले यो नदी प्रदूषित बनेको हो । नदी प्रदूषित बन्दै गएपछि फोहर नफाल्न आग्रह गर्दै जिल्ला जिल्लामा अभियान सञ्चालन गरिएको छ ।

नगरपालिकाले नदीमा नै फोहर फाल्ने गरेका कारण पवित्र नदी प्रदूषित बनेकाले उपल्लो तटीय क्षेत्रमा फोहर नफाल्न आग्रह गर्दै कृष्णगण्डकी क्षेत्र विकास समिति नवलपरासीले अभियान सञ्चालन गरेको हो । समितिले नदीको उपल्लो तटीय क्षेत्रमा पर्ने हरेक नगरपालिकामा पुगेर नदीमा फोहर नफाल्न र छुट्टै स्थानमा डम्पिङ साइट निर्माण गर्न अनुरोध गरेको छ ।

अभियानले पर्वत, बागलुङ, म्याग्दी, स्याङ्जा, गुल्मी, तनहुँ, कास्की, नवलपरासी र मुस्ताङ जिल्लामा पुगेर सबै नगरपालिकालाई अनुरोध गरेको समितिका अध्यक्ष कुलराज चालिसेले बताए ।
“कालीगण्डकी नदीको भौगोलिक संरचना, जैविक विविधता र जनताको मौलिक संस्कृतिलाई यथास्थानमा संरक्षण गरी वैदिक जल संस्कृतिको स्थलगत सङ्ग्रहालयमा विकास गर्ने उद्देश्यसहित नदी बचाउ अभियान सुरु गरिएको हो”–अध्यक्ष चालिसेले भने, “यो अभियानलाई उपल्लो तटीय क्षेत्रबाट विसर्जन गरिएका फोहरले चुनौती दिएकाले यसलाई हटाउनुपर्छ ।”

कालीगण्डकीको तटीय क्षेत्रमा फोहर विसर्जन, ढल विसर्जन र अव्यवस्थित रूपमा ढुङ्गागिट्टी बालुवाको उत्खनन रोक्न आवश्यक भएको अध्यक्ष चालिसेको भनाइ छ । विश्वमै दुर्लभ शालिग्राम, ढुङ्गागिट्टीका रूपमा प्रयोग भइरहेकाले त्यसको दुरुपयोग रोक्न आवश्यक भएको उनको भनाइ छ ।

अभियानका क्रममा कृष्णगण्डकी क्षेत्र विकास समितिले पर्वतको कुुस्मा नगरपालिकाका कार्यकारी अधिकृत चण्डिका पौडेललाई ज्ञापनपत्र बुझाएको छ । कुस्मा नगरपालिकाको फोहर कालीगण्डकी र मोदीनदीमा नफाल्न आग्रह गर्दै ज्ञापनपत्र बुझाइएको हो । कार्यकारी अधिकृत शर्माले यो अभियानलाई सहयोग गर्ने र व्यवस्थित ल्यान्डफिल्ड साइड बनाउने प्रतिबद्धता व्यक्त गरे ।


  •  
  •  
  •