१६ मिटर चौडा सडक बिस्तारपछि २२ मिटर फराकिलो

202
  •  
  •  
  •  

काठमाडौं २३ माघ ।
त्रिपुरेश्वरदेखि कलंकी हुदै नागढुंगासम्मको १२ किलो मिटर सडक खण्डलाई छवटा गाडी एक साथ ओहोरदोहोर गर्न सक्न गरी फराकिलो बनाइने भएको छ । १६ मिटर चौडा सडक बिस्तारपछि २२ मिटर फराकिलो हुनेछ ।

‘हामी विस्तृत परियोजना प्रतिवेदन बनाइरहेका छौं । एक महिना भित्र सकिन्छ,’ काठमाडौं उपत्यका सडक विस्तार आयोजना प्रमुख प्रभातकुमार झाले भने, ‘पूर्ण रूपमा प्रतिवेदन नबनेसम्म कति रकम लाग्छ, भन्न सकिन्न ।’ सरकारले चावहिल चोकदेखि जोरपार्टीको वागमति पुलसम्मको साढे ३ किलोमिटर सडक खण्ड पनि थप विस्तार गर्ने तयारी गरेको छ । चाहविल-जोरपार्टी खण्डको भने प्रस्ताव लान बाकि छ । ‘त्यसलाई पनि हामी छिटै अघि बढाउछौं,’ झाले भने ।

त्रिपुरेश्वरबाट कालीमाटी हुदै कलंकीसम्मको ३ किलोमिटर र त्यहाँदेखि नागढुंगासम्मको ९ किलोमिटरको विस्तारमा लाग्ने सम्पूर्ण खर्च सरकारले नै बेहोर्ने छ । ‘थप काम अघि बढाउन काठमाडौं विकास प्राधिकरणका प्रमुख भाइकाजी तिवारीको प्रतिक्षामा छौं,’ झाले भने । तिवारी जापान भ्रमणमा छन् ।

अहिले सडकको दुवै भागमा फुटपाथसहित दुई/दुई लेन गरि ४ लेनको बाटो छ । ‘राजमार्ग भएकोले बिहानदेखि बेलुकीसम्म नै चाप हुन्छ । ट्राफिक व्यवस्थापनका लागि पनि हामीले यो काम अघि बढाएका हौं,’ झाले भने, ‘सडकका दुवै भागमा ३/३ मिटर थपिने छन् ।’

नियम विपरित सरकारी जग्गा अतिक्रमण गरि बनाइएका घर, पर्खाल भत्काउनेबारेको छलफल प्राधिकरण प्रमुख तिवारी शुक्रबार स्वदेश फर्किएपछि गरिने झाले जनाए । ‘हामी नियम अनुसार अघि बढ्ने हो । नापी गरेर त्यहि अनुसार विकास प्राधिकरणले काम गर्छ’ उनले भने ।

२०२१ को ऐनमा राजमार्गको दुवै भागमा २५/२५ गज छाड्नु पर्ने भनिएको छ । यसैगरी २०३१ सालको सडक ऐनमा दुवै भागमा २५/२५ मिटर छाड्नु पर्ने उल्लेख गरिएको छ । त्रिपुरेश्वर चोकबाट सुरू हुने त्रिभुवन राजमार्ग वीरगन्जको सिर्सिया बोर्डरसम्म १५९.६६ लम्बाईको छ । नियम अनुसार २५/२५ मिटर बढाउनुपर्ने भए पनि शहरी क्षेत्रमा बढी स्पिडमा गाडी नगुड्ने हुनाले २२ मिटर फराकिलो सडक बनाउने निर्णय गरिएको झाले जनाए । कान्तिपुरबाट


  •  
  •  
  •