काठमाडौं ४ पुस (ओएनएस) :
सन् २०१४ को नोबेल शान्ती पुरस्कार विजेता कैलाश सत्यार्थी आज नेपाल आउँदै छन् । सत्यार्थी आफ्नो पूर्व प्रतिबद्धता अनुसार शुक्रबार बिहान ११ बजे नेपाल आउँदैछन् । कात्तिकमा नोबल कमिटीले उनी र मलालालाई संयुक्त विजेता घोषणा गरे लगतै सत्यार्थीले पुरस्कार थापेपछि नेपालको भ्रमण गर्ने बताएका थिए । सत्यार्थीले आज सभासदहरुलाई प्रवचन दिने भएका छन् । सत्यार्थीले दिउँसो संविधानसभाको ल्होत्से हलमा आफ्नो मन्तब्य राख्नेछन् । उक्त कार्यक्रम २ घण्टाको लागि तय भएको छ ।
भारतका सामाजिक कार्यकता सत्यार्थीले नेपाल बसाईको दौरान संसदको महिला, बालबालिका, समाजकल्याण तथा जेष्ठ नागरिक समितिले बालबालिकामाथि हुने हिंसा अन्त्य गर्ने बिषयमा गर्ने छलफलमा भाग लिनेछन् ।
भारतको बाल बचाउ आन्दोलनका सत्यार्थी समितिको निम्तोमा शुक्रबार नै काठमाडौं आउाने कार्यक्रम छ ।
समितिले सभासद डिल्ली चौधरीको पहलमा नोवेल पुरस्कार विजेता सत्यार्थीलाई नेपालमा बोलाएको हो । शिक्षा क्षेत्रमा गरेको योगदानको सम्मान स्वरुप सत्यार्थीसँगै पाकिस्तानकी १६ बर्षिया मलाला युसफजाईले संयुक्त रुपमा सन् २०१४ को नोवल शान्ति पुरस्कार प्रदान गरिएको थियो ।
सत्यार्थीले बिहान बानेश्वरको एपेक्स स्कुल, सिहं दरबारस्थित राष्ट्रिय योजना आयोग र नयाँ बानेश्वरस्थित संसद भवनमा सभामुख सुवासचन्द्र नेम्वाङलाई भेट गरि संसदमा सम्बोधन पनि गर्ने कार्यक्रम छ । लगतै सिंह दरबारमा प्रधानमन्त्री सुशील कोइरालासँग भेट गर्ने छन् र बेलुकी बानेश्वरको एभरेष्ट होटलमा कांग्रेसका नेता शेरबहादुर देउवाले दिने भोजमा जाने छन् ।
तीन दिने भ्रमणमा नेपाल आएका सत्यार्थी शनिबार बिहान बागमती सफाई अभियानमा सहभागि हुँदै नौ बजे दाङ जाने छन् । त्यसै दिन बेलुकी दाङबाट र्फकने सत्यार्थीले आइतबार विहान राष्ट्रपति भवन शीतल निवासमा राष्ट्रपति रामवरण यादवसँग भेट गर्ने छन् । त्यसपछि भृकुटीमण्डपस्थित नेपाल पुलिस क्लबमा हुने कार्यक्रममा सत्यार्थीलाई महिला बालबालिका तथा समाज कल्याण मन्त्री लगायत बालबालिका सम्बन्धी काम गर्ने विभिन्न संस्थाले सम्मान गर्ने छन् । दिउसो १२ बजे सत्यार्थी भारत र्फकने कार्यक्रम छ ।