कैलाली भन्सारले उठायो दोब्बर राजस्व

358
  •  
  •  
  •  

kailali customsधनगढी, २८ मंसिर (ओएनएस) : चालू आर्थिक वर्ष २०७२/२०७३ का शुरुका चार महिना लक्ष्य भन्दा कम राजश्व असुलेको कैलाली भन्सार कार्यालय धनगढीले पाँचौ महिना मंसिरमा भने महिना नसकिदै मासिक लक्ष्यको दोब्बर राजश्व संकलन गरेको छ ।

मंसिर २७ गतेसम्म भन्सार कार्यालयले ३० करोड ५८ लाख ९ हजार रूपैयाँ राजस्व संकलन गरेको छ । भन्सार कार्यालयले मंसिर महिनामा १३ करोड ६६ लाख ११ हजार रूपैयाँ राजस्व संकलन गर्ने लक्ष्य लिएको थियो ।

‘चालू आर्थिक वर्षको चार महिना लक्ष्य अनुसार पनि राजस्व संकलन हुन सकेको थिएन ।’ कैलाली भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत पार्वतीरमण दाहालले भने,‘तर मंसिर महिनामा पूरै महिना नपुग्दै लक्ष्य भन्दा बढी राजश्व संकलन भएको छ ।’

मंसिर महिनाको दोस्रो सातादेखि नाकामा केही सहज भएपछि राजस्व संकलन बढेको जानकारी दिँदै भन्सार प्रमुख अधिकृत दाहालले पूर्वी नाकामा अझै अवरोध कायम हुँदा त्रिनगर नाकाबाट काठमाडौं सामाग्री जाने गरेको बताए ।

‘असोज–कार्तिकमा नाका अवरोधका कारण कम परिमाणमा वस्तु आयात हुन्थ्यो । आयातित वस्तु पनि कम राजस्व संकलन हुने (खाद्यान्न, दाना, तरकारी) लगायतका वस्तु आयात हुन्थ्यो ।’ भन्सार अधिकृत दाहालले भने, ‘एक साता यता भन्सारबाट सहज आयात हुन थालेको छ ।’ रक्सौल नाकाबाट नियमित आयात नहुँदा काठमाडौंका ब्यापारीहरूले त्रिनगर नाकाबाट वस्तु आयात गर्न थालेका छन् ।

उनका अनुसार त्रिनगर भन्सार नाका भएर मोटरसाईकल लगायतका इलेक्ट्रोनिक सामग्री काठमाडौं जाने थालेका छन् ।

आइतबार मात्र २ करोड ६५ लाख रुपैयाँ राजस्व संकलन भएको भन्सार कार्यालयका कम्प्युटर अपरेटर राजेन्द्र थापाले जानकारी दिए ।
मंसिर २४ गते चार करोड ३२ लाख पाँच हजार सात सय रुपैयाँ राजस्व संकलन गरेको कैलाली भन्सार कार्यालयले २५ गते तीन करोड ४६ लाख ५८ हजार तीन सय ६७ र २६ गते एक करोड २८ लाख २९ हजार ६ सय ४९ रुपैयाँ राजस्व संकलन गरेको छ ।

साउन–भदौमा कैलालीमा भएको आन्दोलन/कर्फ्यु तथा असोजदेखिको भारतीय नाकाबन्दीका कारण लक्ष्य अनुरुप राजस्व संकलन हुन नसकेको भन्सार अधिकृत दाहालको भनाई छ ।

[box type=”shadow” ]मंसिरको लक्ष्य १३ करोड ६६ लाख रहेकोमा २७ दिनमै ३० करोड ५८ लाख राजश्व संकलन

मंसिर २७ गते मात्रै २ करोड ६५ लाख संकलन

रक्सौल नाका ठप्प हुँदा काठमाण्डौंका व्यवसायीहरुले त्रिनगर नाकाबाट बस्तु आयात गर्न थालेका छन्[/box]

भन्सार कार्यालयले साउनमा आठ करोड सात लाख ७५ हजार तीन सय, भदौमा नौ करोड ५३ लाख ९६ हजार पाँच सय ५९ रुपैयाँ राजस्व संकलन गरेको थियो ।

भन्सारले साउनमा १० करोड २४ लाख ५९ हजार तथा भदौमा १४ करोड ५१ लाख ४९ हजार रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य लिएको थियो ।
असोज/कार्तिकमा भारतको नाकाबन्दी तथा आन्दोलनले न्यून मात्रामा राजस्व संकलन भएको भन्सार अधिकृत दाहालले बताए ।

असोजमा ११ करोड ७१ लाख ७१ हजार एक सय ५६ तथा कार्तिकमा ११ करोड १४ लाख १० हजार ९१ रुपैयाँ राजस्व संकलन राजस्व संकलन गरेको छ । कार्यालयले असोजमा १२ करोड ८० लाख ७३ हजार तथा कार्तिकमा १३ करोड ६६ लाख ११ हजार रुपैयाँ राजस्व संकलनको लक्ष्य राखेको थियो ।

पछिल्लो समयमा पेट्रोलियम पदार्थको आयातमा सहज भएकाले पनि राजस्व संकलनमा वृद्धि भएको हो ।

नेपाल आयल निगम क्षेत्रीय कार्यालय धनगढीका सूचना अधिकृत शिवराज भण्डारीले एक साता यता पेट्रोलियम पदार्थको आयातमा केही सहज भएको बताए ।

‘इण्डीयन आयल कर्पोरेशन बन्थरा डिपोले एक साता यता पेट्रोलिय पदार्थको कोटा बढाएको छ ।’ सूचना अधिकृत भण्डारीले भने,‘शनिबार मात्र २१ ट्यांकर पेट्रोलिय पदार्थ भित्रिएको थियो ।’


  •  
  •  
  •