क्वारेन्टिनमा बलात्कारः जनप्रतिनिधिलाई गालीगलौज र कार्यालय तोडफोड गरेको भन्दै सेवा बन्द

216
  •  
  •  
  •  

धनगढी । कैलालीको लम्कीचुहा नगरपालिका वडा नम्बर १ वडा कार्यालयले अनिश्चितकालका लागि कार्यालयबाट दिइने सेवा बन्द गरेको जनाएको छ ।

शनिबार राति लम्कीचुहा नगरपालिका वडा नम्बर १ शहीद स्मृति माविको क्वारेन्टिनमा भएको सामूहिक बलात्कार प्रकरणलाई लिएर जनप्रतिनिधिहरुलाई गालीगलौजका साथै कार्यालय तोडफोड गरेको भन्दै वडा कार्यालयले एक विज्ञप्ति जारी गर्दै वडाको सेवा बन्द गरेको हो ।
वडाले दोषीलाई कारबाहीको मागसहित सेवा बन्द गरेको हो ।

वडाअध्यक्ष जनकबहादुर बमले विज्ञप्ति जारी गर्दै जनप्रतिनिधिलाई गालीगलौज गरी तोडफोड गर्ने व्यक्तिलाई पक्राउ गरी कारबाही नगरेसम्म वडा कार्यालयबाट प्रवाह हुने सबै सेवा बन्द हुने जानकारी गराएका छन् ।

विज्ञप्तिमा वडाका जनप्रतिनिधि र कर्मचारीको सुरक्षाको प्रत्याभुतिको माग समेत गरेका छन् । वडाध्यक्ष बमले जारी गरेको विज्ञप्तिमा उक्त घटनाप्रति खेद प्रकट गर्दै दोषीलाई कारबाहीको दायरामा ल्याएर पीडितलाई न्याय दिन माग पनि गरिएको छ ।

शहीद स्मृति माविको क्वारेन्टिनमा बसेकी ३१ वर्षीया महिलामाथि शनिबार राति तीनजनाको समूहले जबरजस्तीकरणी गरेको आरोप लागेको हो । उनीहरुलाई प्रहरीले आइतबार पक्राउ गरिसकेको छ ।

पक्राउ पर्नेमा लम्कीचुहा नगरपालिका वडा नम्बर १ का २२ वर्षीय किशोर परियार, २० वर्षीय लक्षण विक र १८ वर्षीय सर्जन विक रहेका छन् ।


  •  
  •  
  •