अँध्यारी गौरा एवं दूर्वाष्टमी पर्व मनाइँदै

77
  •  
  •  
  •  

काठमाडौं । उमा महेश्वरसहित दुवोको पूजा गरि सुदूरपश्चिम र मध्यपश्चिममा आज अँध्यारी गौरा एवं दूर्वाष्टमी पर्व मनाइँदैछ ।
यो पर्व भाद्र शुक्ल अष्टमीका दिन मनाउनुपर्ने भए पनि यस वर्ष त्यसअगावै अगस्त्य ऋषिको उदय हुने भएकाले कृष्ण जन्माष्टमीकै दिन मनाउनुपर्ने शास्त्रीय विधान रहेको नेपाल पञ्चांक निर्णायक समितिले जनाएको छ ।

समितिका अध्यक्ष एवं धर्मशास्त्रविद् प्रा.डा रामचन्द्र गौतमका अनुसार भाद्र शुक्ल अष्टमीमा मनाइने गौरालाई उज्याली र कृष्ण अष्टमीमा मनाइने गौरालाई अँध्यारी भन्ने गरिन्छ । यसैले यस वर्षको गौरालाई अँध्यारी भनिन्छ । पहिलो पटक व्रत बस्नेले भने भाद्र शुक्ल अष्टमीअर्थात् उज्याली गौराबाटै शुरु गर्नुपर्ने व्रत विधान छ ।

गौरालाई सुदूरपश्चिम र मध्य पश्चिम क्षेत्रका मानिसले ऐतिहासिक मौलिक पर्वका रूपमा लिने गरेका छन् । राजधानीमा पनि सुदूरपश्चिम र मध्य पश्चिम क्षेत्रका मानिसको बसोवास बढेसँगै यो पर्व यहाँ पनि धुमधामका साथ मनाउन थालिएको छ ।

गौरा पूजा गर्नका लागि पाँच वनस्पति कुश, काँस, सामा (सौँ), तीतेपाती र अपामार्ग कतै तिलको बिरुवा पनि राखेर देवीको आकार बनाउने गरिन्छ । यसरी बनाइएको देवीलाई भाद्र कृष्ण अष्टमीका दिन गाउँको सफा घरमा भित्र्याएर व्रतालुले निराहार बसी पूजा गर्ने परम्परा रहेको छ ।
आज सूदुरपश्चिमवासी देउडा गीत गाएर नृत्य गरी रमाइलोसमेत गर्ने गर्दछन् । काठमाडौंको टुँडिखेलमा पनि यस दिन देउडा गीत र नृत्य गरी सुदूरपश्चिमवासी मनोरञ्जन गर्ने गरिन्छ ।

यसैबीच राष्ट्रपति विद्यादेवी भण्डारीले गौरापर्वले राष्ट्रिय एकता सुदृढ पार्न सहयोग पु¥याउँदै आएको बताएकी छन् ।
गौरापर्वको शुभकामना सन्देश दिँदै उनले हाम्रो समाजमा गौरापर्वको आफ्नै ऐतिहासिक एवं पौराणिक महत्व रहेको उल्लेख गर्दै यस्ता लोक परम्परा एवं सांस्कृतिक पर्वले विविधतामा एकता, सामाजिक र सांस्कृतिक ऐक्यबद्धता, सहिष्णुता र आपसी सद्भाव अभिवृद्धि गरी राष्ट्रिय एकता सुदृढ पार्न सहयोग पु¥याउँदै आएको बताइन् ।

सन्देशमा भनिएको छ, ‘विशिष्ट सांस्कृतिक महत्व बोकेको गौरापर्वले नेपाली मौलिक संस्कृतिको संरक्षणमा थप योगदान गर्दै सबैमा उत्साह एवं उमङ्ग जागृत गर्न सहयोग पु¥याउने विश्वास लिएको छु ।’

यस्तै प्रधानमन्त्री केपी शर्मा ओलीले गौरा पर्व नेपालको एक विशिष्ट पहिचान झल्काउने पर्वको रुपमा सुपरिचित रहेको बताएका छन् ।

गौरा पर्वको अवसरमा शुभकामना सन्देश दिँदै उनले कर्णाली प्रदेश तथा सुदूरपश्चिम प्रदेशमा विशेष हर्षोल्लासका साथ मनाइने यस पर्वले आपसी सद्भावलाई अझ मजबुत बनाउने बताएका छन् ।


  •  
  •  
  •