के सोचिरहेको छौँ कमरेड ? अब भन विश्वास दिन्छौ कि धोका?

94
  •  
  •  
  •  

कविता

तिम्रो हेडक्वाटरको आदेशले
म कम्युनिष्ट होइन
तिम्रो मूल ढोकामा पुग्दा
मेरो अभिवादनको वास्तै नगरी
तिमी सुटुक्क भित्र छिर्‍यौँ
देखेनौ कि भनौँ भने
आखा जुधेकै थियो।

विहानीको रोलकल सकेर
जब एकैसाथ मुठ्ठी कसेर
गाएको अन्तराष्ट्रय गीत
के साँच्चै तिमीले
छातीमा हात राखेर भन्न सक्छौ?
म अन्तराष्ट्रिय जाती भएँ भनेर।

अनि, त्यो गौरव बाँड्न सक्यौ त ?
बस्ती-बस्तीमा गएर
हिजो बाँडेको सपनाहरु
मुसुक्क मुस्कुराएर-दिएको खुसी
भन कमरेड, के साँच्चै
यो चालिरहेको सत्ता सर्वहारा वर्गकै हो त?

संघर्षका दिनहरु सम्झेँ
हामीले सँगै लगाएका-थियौ नारा
वर्ग, जाती, क्षेत्र र लिङ्ग बिचको विभेद
छिट्टै नामेट हु्न्छ भनेर
तर आज,
उल्टो गंगा बगाउँदै छौ।

छरपष्ट छरिएका छन-विचारहरु। बरु निर्वाध पस्छन्
तिम्रो हेडक्वाटरमा दलालहरु

खै! कहिले हाँस्छन्
ती काखका मुना गुमाएका आमाहरु ।
रगत र पसिना बगाएर तिमीलार्इ
यहाँसम्म पुर्‍याउने तिम्रा सहयात्रीहरु
ती इमान्दार र स्वाभिमानीहरु!

कहिलेकाँही आउँछु
तिम्रो हेडक्वाटर तिर
अत्तरको गन्धले
भाइरल रोग लागेकै हुन्छ
तैपनि एक छेउमा उभिएर हेर्छु
तिम्रो हेडक्वाटरका झ्यालहरु
अनि, आसेपासे धुपौरेका हुल!

पत्याउनै गाह्रो हुन्छ
सम्झन्छु मैले बिताएका
ती घनीभुत संघर्षका दिनहरु सत्य हो कि दृष्टिभ्रम
छु्ट्याउन गाह्रो भयो
तिम्रो हेडक्वाटरमा फर्काउने राता झण्डा
रगतले लत्पतिएका हुन् कीरु रातो रङ्गले?

यतिबेला,
मनभरि प्रश्नै-प्रश्न उठेरा हैरान छु
उत्त दिन भ्याउँदिन म
खाली पेट आएकी छु
लालाबाला कतै राखेर धाएकी छु

तिमी
के सोचिरहेको छौँ कमरेडहरु
अब भन
विश्वास दिन्छौ कि धोका?


  •  
  •  
  •