‘क्रसर उद्योग सञ्चालन मापदण्डमा पुनर्विचार हुन्छ’

230
  •  
  •  
  •  

काठमाडौं, २९ साउन :  सरकारले तत्काल क्रसर तथा खानी उद्योग सञ्चालनका लागि पहल गर्ने भौतिक योजना, यातायात तथा पूर्वाधार मन्त्रालयका सचिव तुलसी प्रसाद सिटौलाले बताएका छन् ।  बिहीबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कार कार्यक्रममा सचिव सिटौलाले सरकारी समन्वयको अभावमा सही मापदण्ड बनाउन नसक्दा समग्र क्रसर उद्योग बन्द भएको बताए । उनले उद्योग बन्द हुँदा आधारभूत निर्माणका सामाग्रीको अभावले विकास निर्माण समेत प्रभावित भएकाले सरकारले छिट्टै सहज आपूर्तिको लागि पहल गर्ने बताएका छन् ।

कार्यक्रममा सचिव सिटौलाले क्रसर उद्योग भौतिक पूर्वाधार मन्त्रालयको कारणले भन्दा पनि विज्ञान तथा वातावरण मन्त्रालयका सचिव डा. कृष्ण चन्द्र पौडेलका कारणले प्रभावित भएको आरोप लगाउँदै आफ्नो मन्त्रालयले सहज आपूर्तिको लागि विशेष पहल कदमी चाल्ने पनि उद्घोष गरेका छन् ।

उद्योग बाणिज्य महासंघका उपाध्यक्ष किशोर प्रधानले सरकारले तोकेको मापदण्ड नीजि क्षेत्र मैत्री नभएको गुनासो गर्दै तत्काल मापदण्ड परिमार्जन गर्नुपर्ने धाराणा राखेका छन् । प्रधानले विगतमा आफू समेतको सहभागीतामा ६ जना सचिवसहितको समितिले पेश गरेको ढुँङ्गा, गिट्टी सम्बन्धी नियमन गर्ने प्रतिवेदन लागू नगरी सरकारले हाल क्रसर उद्योगलाई बन्दै गर्ने उद्देश्यले पूरानै मापदण्ड लागू गर्दा यस्तो समस्या आएको आरोप समेत लगाएका छन् ।
त्यस्तै क्रसर तथा खानी उद्योग व्यवसायी महासंघका सल्लाहकार कृष्ण प्रसाद शर्माले सरकारले पटक–पटक मापदण्ड परिवर्तन गर्दा यस्तो समस्या आएको भन्दै उक्त अव्यवहारिक मापदण्ड तत्काल परिमार्जन गर्नुपर्ने बताए । शर्माले सरकारले अव्यवहारिक मापदण्ड तोक्दा सम्पूर्ण विकास निर्माणका कामहरु प्रभावित भएको गुनासो गरेका छन् ।

उपभोक्ता हित संरक्षण मञ्चका महासचिव ज्योति बानियाँले सरकारले क्रसर उद्योग बन्द गरेर कालोबजारी शुरु गरेको आरोप लगाएका छन् । बानियाँले सरकारले गिट्टी बालुवा बन्द गरेर विकास निर्माणका काम नै प्रभावित पारेको छ ।

जिविस ढुङ्गा, गिट्टी ठेक्का व्यवसायी रामहिरा पाठकले बर्षाको सिजनमै क्रसर उद्योग व्यवसायीहरुले बालुवा उत्खनन गर्ने सिजन भएको भन्दै यो सिजनमै सरकारले उत्खनन कार्य नै बन्द गर्नु असान्दर्भिक भएको बताए । पाठकले सरकारले सहज रुपमा बालुवा, गिट्टीको आपूर्तिको लागि वातावरण निर्मार्ण गर्न पहल नगरे देश विकास निर्माणबाट पछि पर्ने चेतावनी समेत दिए ।


  •  
  •  
  •