बर्तमान सरकारको आयु माघ ८ सम्ममात्रै : ओली

108
  •  
  •  
  •  

काठमाडौं, ३ कात्तिक (ओएनए) : नेकपा एमालेका अध्यक्ष केपी ओलीले बर्तमान सरकारको आयु माघ ८ सम्म मात्र रहेको दाबी गरेका छन् । ओलीले पूर्वसहमति अनुसार प्रधानमन्त्री सुशिल कोइरालाले माघ ८ गते संविधान बने पनि नबनेपनि पद छाड्नु पर्ने भन्दै प्रधानमन्त्रीले संविधान जारी नभए आफूले पद नछाड्ने अभिब्यक्ति दिएको भन्नेमा आफूलाई विश्वास नभएको बताए ।

सोमवार रिपोर्टस क्लबले सोमवार आयोजना गरेको साक्षात्कारमा ओलीले प्रधानमन्त्रीले माघ ८ गते संविधान जारी नभए पद छाड्दिन भन्नु भएको हो भने त्यो गलत भएको बताए । ‘सहमति अनुसार प्रधानमन्त्रीले संविधान जारी भए पनि नभए पनि छाड्नु पर्छ, उनले भने,‘त्यसपछि एमालेको नेतृत्वमा सरकार बन्छ । प्रधानमन्त्रीले माघ ८ मै संविधान आउँछ भनेको भएर अहिले नै अविश्वास गर्नुहुँदैन । तर पनि अब प्रधानमन्त्री कोइरालाले माघ ८ गतेपछि पद छाड्नैपर्छ त्यसको विकल्प छैन ।’’

एक अर्को प्रसंगमा ओलीले एमाओवादी अध्यक्ष प्रचण्डले संविधानसभाबाट संविधान आउन नदिन दोहोरो चरित्र निर्वाह गरिरहेको आरोप लगाए ।   उनले संविधान निर्माण गर्न लाग्छु भन्ने सर्तमा एमाओवादी प्रचण्डलाई राजनीतिक समितिको संयोजक बनाएको भन्दै अहिले उनी २२ दलका २२ सय मान्छे जम्मा गरेर माघ ८ गते संविधानसभाबाट संविधान जारी हुन नदिने षड्यन्त्रमा लागेको आरोप लगाएका छन् ।

देशलाई तल पारेर प्रचण्ड आफू ठूलो हुने योजनामा रहेको दावी गर्दै उनले भने, ‘देशलाई तल पारेर ब्यक्तिलाई ठूलो पार्ने काम एमालेले कदापि गर्दैन र त्यो कुरा प्रचण्डले कल्पना नगरेपनि हुन्छ ।’
उनले सहमति नगर्ने किरिया खाएर एमाओवादी र मधेसवादी दलहरु बस्ने भए उनीहरुको आन्दोलनको सामना गर्दै प्रक्रियाबाट संविधान जारी गर्ने चेतावनी दिदै संविधान निर्माणको बेला कसैले कसैलाई धम्कि नदिन सुझाव दिए ।

‘एमाओवादी सहमतिमा नआएपनि हामीसँग स्पष्ट बहुमत र दुई तिहाई छ, उनले भने,‘संख्याको आधारमा गएर भएपनि हामी संविधान जारी गरेरै छाड्छौं । विरोधलाई सामना गर्दै प्रक्रियाबाट संविधान जारी गर्छौं ।’  ओलीले प्रचण्ड आन्दोलनबाट ब्याक नभए विगतमा १० वर्षे जनयुद्धमा गएर पछुताए जस्तै पछुताउने समेत चेतावनी दिएका छन् ।

ओलीले ८० प्रतिशत जनताले लोकतान्त्रिक संविधान निर्माणको लागि प्रतिनिधि चुनेर पठाईसकेको बताउँदै फेरि पनि दुई चार जना असफल नेताहरुले जनमत संग्रहको माग गर्नुको कुनै अर्थ नभएको स्पष्ट पारेका छन् । उनले भने–‘‘चार जना नेता असफल हुँदैमा जनमत संग्रहको माग गर्नु भनेको फेरि पनि मुलुकमा वितण्डा मच्चाउन खोज्नु हो । यसको अहिले कुनै आवाश्यक छैन ।’
उनले एमाओवादी र मधेसवादी दलले भने जस्तो धेरै प्रदेशमा मुलुकलाई नटुक्राउने स्पष्ट पार्दै चार प्रदेशमा लगिने बताए । आफू कोशी, राजधानी, गण्डकी र कर्णाली प्रदेशको पक्षमा रहेको बताउँदै सहमतिकोलागि बढीमा छ प्रदेशसम्म जान सकिने तर माओवादीहरु ६ प्रदेशमा नआए चार प्रदेशमा आफुहरु फर्कने चेतावनी दिए ।

‘‘राष्ट्रिय संसद भवन नभएर भाँडामा बस्नु परेको छ । १० प्रदेश बनाएर गर्भनर, मुख्य मन्त्री, मन्त्री, संसदको कार्यालय र आवास गृह अहिले बनाएर संघीयता संस्थागत गर्न सकिन्छ ?– ओलीले प्रश्न गरे । उनले मुलुक धेरै प्रदेशमा गए आउँदो १०० वर्ष प्रदेश निर्माण गर्नेमा समय खर्चिने समेत स्पष्ट पारेका छन् । ओलीले औषधी सेवन गरेझैं गरि विशेष स्फूर्ति देखाएर धेरै प्रदेश बनाउनुपर्छ भन्नु हाँस्यास्पद भएको समेत प्रष्ट पारेका छन् । उनले केन्द्रले स्रोत जुटाएर प्रदेश चलाउन नसकिने पनि बताएका छन् ।

उनले सानो देश नेपाललाई धेरैवटा संघीय राज्यमा लगेर फाईदा नभएको उल्लेख गर्दै सबैलाई चित्त बुझाउन आफूहरु संघीयतामा गएको समेत सो अवसरमा स्पष्ट पारे ।


  •  
  •  
  •