नगर मित्र, भरीया र खुद्रा व्यापारीलाई के एण्ड के कलेजको सम्मान

242
  •  
  •  
  •  

काठमाडौं, ३ चैत (ओएनएस) : काठमाडौंको नयाँ बानेश्वरमा रहेको के एण्ड के इन्टरनेशनल कलेजले नगर मित्र, भरीया र खुद्रा व्यापारी गरी ३२ जनालाई सम्मान गरेको छ । मँगलबार परेको ८ औं विश्व सामाजिक कार्य दिवसको अवसरमा स्नातक तहमा सामाजिक कार्य अध्ययनरत विद्यार्थीले १० नगर मित्र (फोहोरमैला उठाउने), १० भरीया र १२ खुद्रा व्यापारीलाई सम्मान गरेका हुन् ।

हरेक पेशालाई समान दृष्ट्रिकोणबाट हेरेर उनीहरुको आत्मसम्मानमा ठेस पुग्ने कामलाई निरुत्साहित गर्ने उद्देश्यले सम्मान गरिएको विद्यार्थी रक्षा आचार्यले बताइन् । उनले भनिन्, ‘समाजमा रहेका हरेक व्यक्तिले गर्दै आएको पेशा स्वागतयोग्य छन् । घर घरमा पुगेर थुप्रिएका फोहोर उठाएर हामीलाई रोगमुक्त बनाउने नगर मित्र, भारी बोकिदिएर हाम्रो यात्रा सहज बनाउने भरिया र बाटोमा खुद्रा सामानको पसल थापि दैनिक उपभोग्य सामान उपलक्ब्ध गराउनेहरुलाई सम्मान गरेका हौं । हामी चाहन्छौं सबै पेशाले समान इज्जत पाउनुपर्छ ।’

कलेजको प्राङ्गणमा भएको औपचारिक कार्यक्रममा शान्ति तथा पुननिर्माण मन्त्रालयका सचिव खेमराज पुञ्जालीले उनीहरुलाई सम्मान गरेका हुन् । नगरमित्रहरुलाई माक्स, क्याप, पञ्जा र टिसर्ट, भरियालाई चप्पल, क्याप, माक्स र टिसर्ट तथा खुद्रा व्यापारीलाई नाङ्लो, छाता, माक्स र टिसर्ट प्रदान गरिएको छ ।

सम्मानपछि बोल्दै शान्ति सचिव पुञ्जालीले फोहोर उठाउने पेशालाई समाजबाट अपहेलित गरिएको बताउँदै विद्यार्थी र कलेजले गरेका कामको प्रशंसा गरे । उनले भने, ‘समाजलाई प्रभाव पार्ने काम गरेकोमा के एण्ड के का विद्यार्थी र सहयोग गर्ने कलेज प्रशासनलाई धन्यवाद छ । अरु संघ संस्थाले पनि यस्ता कामको सिको गरुन्, सरकारले पनि यस विषयमा सोच्छ । समाजका लागि हुने र गर्नु पर्ने काम यीनै हुन् ।’

त्रिभुवन विश्वविद्यालय अन्तर्गतका मानविकी तथा सामाजिकशास्त्र संकायका डिन प्राध्यापक डाक्टर चिन्तामणी पोखरेलले यस किसिमको सम्मानले नगर मित्र, शरिया तथा खुद्रा व्यापारीको आत्मबल बढाएको बताए । उनले भने, ‘हामी विदेशमा गएर अर्काको शौचालय सफा गर्ने, फोहोर ओसार्ने, ज्यामी काम समेत गर्न पछि पर्दैनौं । तर त्यहि काम यहाँ गर्दैनौं । यहाँका विद्यार्थीले कामको सम्मान गर्ने परम्पराको सुरुवात गरेका छन् । मलाई आशा छ अब कुनै पेशामा संलग्न व्यक्तिलाई अपमान गरिँदैन ।’

कान्तिपुर दैनिकका सहसम्पादक घनश्याम खड्काले यस किसिमको सम्मानले युवामा स्वदेशमैं केहि गर्नुपर्छ भन्ने सन्देश प्रवाह गरेको बताए । उनले भने, ‘समाजले कहिल्यै नदेखेको, नगनेको, हेपेको पेशमा संलग्नलाई सम्मान गर्दा ती पेशामा संलग्नको आत्मविश्वास बढाउनुका साथै हौसला प्रदान गरेको छ । स्वच्छ छवी भएका व्यक्तिहरु सम्मानित भएको मैले १५ वर्षको पत्रकारिता अनुभवमा कहिल्यै देखेको थिइन । नेपालका ४० लाख व्यक्ति विदेशमा भएको सन्दर्भमा देशका लागि सोच्नेहरु पनि रहेछन् भन्ने ठानेको छु ।’

के एण्ड के मा सामाजिक कार्य विषयमा स्नातक गरिरहेका विद्यार्थीले हेय दृष्टि होइन मिठो वचन बोल्ने गर्नुपर्छ एक अर्काले गर्ने कामको सम्मान गर्नुपर्छ भन्ने भाव प्रदर्शन गरेका थिए । प्रहरी प्रधान कार्यालयका एसएसपी सर्वेन्द्र खनालले हिनताबोधका साथ काम गरेर जीवनयापन गरिरहेका व्यक्तिको सम्मान भएकोमा खुसी व्यक्त गरे ।

उनले भने, ‘युवाहरु भविष्यका कर्णाधार होइनन् वर्तमानका साझेदार पनि हुन् भन्ने कुराको प्रमाण आजको कार्यक्रमले देखाएको छ । कुनै काम सानो र ठूलो हुँदैन । सरकारी कर्मचारीको सबैभन्दा ठूलो पदमा भए पनि समाजका लागि केहि गर्दैन भने त्यासको कुनै मान्यता हुँदैन ।’ प्रिन्सिपल प्राध्यापक डाक्टर रेशबहादुर बस्नेतले लडेका व्यक्तिहरुलाई उठाउनु पर्छ भन्ने मान्यताका साथमा विद्यार्थीले सुरु गरेको अभियानलाई कलेको साथ रहने बताए ।

सामाजिक काम एक दिन एक हप्ता नभई हरेक दिन गर्नु पर्ने बताउँदै प्रिन्सिपल बस्नेतले समाज परिवर्तनका लागि यस्ता कार्यले आगामी दिनमा पनि निरन्तरता दिन सुझाव दिए । शिक्षक सरोज गिरीले हाम्रो जीवनलाई सहज बनाउने पेशामा संलग्न व्यक्तिहरुलाई राज्यका तर्फबाट सम्मान र हौसला प्रदान गर्नु पर्नेमा जोड दिए । समाजमा सम्मानित भएर बाँच्न पाउनु सबैको अधिकार भएकोले सभ्य समाजको निर्माणका लागि हरेक पेशालाई सम्मान गर्नु पर्नेमा गिरीको जोड छ ।

यस वर्ष व्यक्तिगत आत्मसम्मान र मुल्य मान्यताको प्रवर्द्धन भन्ने नाराका साथ विभिन्न कार्यक्रम गरी विश्व सामाजिक कार्य दिवस मनाइएको हो । कार्यक्रममा श्रृष्टि खतिवडाले नगर मित्रले गर्ने काम र उनीहरुलाई गरिने व्यबहार अध्ययन गर्दा भोगेका अनुभव, पुनम गिरीले भरिया छनोट गर्दाका अनुभव र रक्षा आचार्यले खुद व्यापारीसँग बिताएका समयको अनुभव सुनाएकी थिइन् ।

सामाजिक कार्य दिवसका अवसरमा विद्यार्थीहरुले सप्ताहव्यापी कार्यक्रम गरेको आउटरिच कोअर्डिनेटर सुदिप लामाले जानकारी दिए । के एण्ड के इन्टरनेशनल कलेजमा झण्डै ४ सय जना विद्यार्थीले सामाजिक कार्य विषय अध्ययन गरिरहेको उनको भनाइ छ ।

K and K, Tshirt


  •  
  •  
  •