जेथा बेचेर गएका, व्यथा बोकेर पर्किदै

223
  •  
  •  
  •  

काठमाडौं १४ वैशाख (ओएनएस) : करिब चार वर्षअघि मलेसिया आएका हात्तीखर्क-६ धनकुटाका गणेशहाङ तिगेला काम गरिरहेका बेला अचानक ढले । मलेसियाको एक कम्पनीमा सुरक्षागार्ड काम गर्ने उनी अचेत भएको देखेपछि नजिकै काम गर्ने नेपाली सहकर्मीहरूले ट्याक्सीमा अस्पताल दौडाए ।
नेपालबाट तन्दुरुस्त आएका २५ वषर्ीय गणेशले सोचेजस्तो धन कमाउन त परै जाओस्, उल्टै मस्तिष्कघातका कारण कुँजो ज्यान लिएर स्वदेश फर्किनुपर्‍यो ।
करिब दुई साताअघि फर्किएका गणेशको जस्तै सन् २०१२ मा मलेसिया आउँदा सर्लाहीका जसोदत्त थारूलाई कुनै पनि शारीरिक समस्या थिएन । उनी आएको वर्ष दिनमै प्यारालाइसिसले थलिए र महिनौंको उपचारपछि पनि निको नभएपछि कुँजो शरीर लिएर नेपाल फिरे ।
यी त केही प्रतिनिधि पात्र मात्रै हुन् । मलेसियामा निरोगी (सपाङ्ग) भित्रिएकामध्ये बर्सेनि कतिपय नेपाली विभिन्न खाले अपाङ्गता लिएर घर र्फकेका छन् । सोनमा-४, महोत्तरीका प्रमोद साह सुदीको काम गर्दा मेसिनले दाहिने हात छिनायो । उनी एउटा मात्र हात लिएर घर फर्किए ।
केराबारी-४ मोरङ घर भई तीन वर्षअघि मलेसिया आएका पूर्ण धमलाले मानसिक सन्तुलन नै गुमाएपछि उनलाई आफन्तजनले स्थानीय संघसंस्था र दूतावासको पहलमा उद्धार गरी स्वदेश फर्काए ।
कारण जेसुकै भए पनि धन कमाउन जेथा बेचेर सकुशल पराइभूमिमा उत्रिएका कैयौं नेपाली रोग/व्यथा बोकेर स्वदेश र्फकनुपर्दा बाँकी जीवन पीडादायी बन्ने गरेको छ । यसरी अंगभंग भएर स्वदेश र्फकने पछिल्ला वर्ष झन्-झन् बढै गएको पाइन्छ । विदेशमा रहँदा घरायसी चिन्ता, आर्थिक उन्नति गर्न नसक्दा बढ्ने उदासीनता, नेपालबाट आउँदा सोचेभन्दा काम र तलबसुविधा फरक पर्नुले पनि मानसिक सन्तुलन बिग्रने गरेको जानकारहरू बताउँछन् ।
नेपाली दूतावासको एक तथ्यांकअनुसार २०१३ मा गम्भीर खाले शारीरिक तथा मानसिक समस्या भएपछि उद्धार गरी ३५ जनालाई घर फर्काइएको थियो । उक्त तथ्यांकले हरेक महिना झन्डै ३ नेपाली अपाङ्ग भएको देखाउँछ ।
दूतावासका एक अधिकारीका अनुसार दुर्घटनामध्ये सडक र मेसिनवाला बढी छन् । त्यस्ता पीडितका लागि कम्पनीले बिमाको पहल नगरिदिँदा त्यसबाट पनि वञ्चित हुने गरेका छन् । मलेसियामा अंगभंग भएकालाई अवस्थाअनुसार करिब ७ लाख रुपैयाँसम्म दुर्घटना बिमा मिल्छ ।
अर्कातिर घाइतेको उपचार खर्च कम्पनीले नबेहोरिदिँदा कतिपय नेपाली अस्पतालमै महिनौंसम्म अलपत्र रहेका उदाहरणसमेत छन् । ‘उसको उपचार खर्च झन्डै ९ हजार रिंगिट (करिब ३ लाख रुपैयाँ) भएको रै’छ,’ मस्तिष्क घातले थलिएका गणेशतिर देखाउँदै उनका काका मनकुमारले भने, ‘त्यत्रो पैसा कसरी जुटाउने भन्ने चिन्ता थियो । तर धन्न दूतावासको पहलपछि सबै उपचार खर्च गणेश काम गर्ने कम्पनीले नै बेहोर्‍यो । नत्र निकै साह्रो पथ्र्यो ।’
अस्पतालबाट डिस्चार्ज भएपछि उद्धार गरी दुई साताअघि स्वदेश फर्काइएका गणेशहाङ लिम्बु यतिखेर आफैंले खाना खान, बोल्न र हिँड्डुल गर्न अशक्त छन् भने शरीरको देब्रेपाटो चल्दैन । ‘खाना नाकबाट पाइपको सहाराले खुवाउनुपर्छ । देब्रे हर नै चल्दैन ।’ गणेशलाई लिएर स्वदेश फिर्ने बेला काका मनकुमारले भावुक हुँदै सुनाए, ‘घरमा आमामात्रै हुनुहुन्छ । परिवारमा अरू कोही छैन । अब यसको हेरचाह गरिदिने कोही छैनन् । आर्थिक अवस्था पनि एकदमै नाजुक छ ।’
नेपालीले आ-आफ्ना जिल्ला, गाउँठाउँका नाममा गठन गरेका संघसंस्था एवं जातीय संगठनहरूले आपत् पर्दा सहयोग जुटाउँछन् । प्रवासी मगर संघ मलेसियाका अध्यक्ष राजेन्द्र राना मगरका अनुसार उक्त संघले हालसम्म झन्डै १० लाख रुपैयाँ आर्थिक सहयोग गरिसकेको छ । त्यसका लागि ‘मगर राहत कोष’ खडा गरिएको छ । कान्तिपुरबाट

  •  
  •  
  •