चितवन भिमबहादुर विश्वकर्माको हत्याप्रति जुरी नेपालको ध्यानाकर्षण

87
  •  
  •  
  •  

काठमाडौं । दुुर्गा मन्दिरमा पूजा गर्ने विषयलाई लिएर चितवनका भिमबहादुर विश्वकर्माको हत्याप्रति जुरी नेपालले गम्भीर ध्यानाकर्षण जनाएको छ ।

जुरी नेपालका अध्यक्ष अधिवक्ता स्यामकुमार विश्वकर्माले बुधबार एक विज्ञप्ति जारी गर्दै ध्यानाकर्षण गराएका हुन् ।

गत असोज २८ गते दशैंको नवमीका दिन भरतपुर महानगरपालिका वडा नं.–४ दुर्गाचोक स्थित दुुर्गा मन्दिरमा दलितले पूजा गर्न नहुने विषयलाई लिएर स्थानीय दिलिप श्रेष्ठले कुुटपिट गर्दा विश्वकर्माको निधन भएको थियो ।

जुरी नेपालको विज्ञप्तिमा भनिएको छ, ‘जातको आधारमा हुने छुवाछूत तथा भेदभाव संविधान तथा विभिन्न राष्ट्रिय अन्तराष्ट्रिय कानून अनुुसार दण्डनीय तथा अत्यन्त क्रूर र अमानवीय आपराधिक कार्य घोषित भईसक्दा पनि नेपाली समाजमा नियमित जस्तो यस खालका घटना घटी ज्यानै समेत जानुु ज्यादै निन्दनीय र दुःखद विषय हो । नियमितजसो घट्दै आएका यस्ता घटनाले समाजमा अविभेद, समानता तथा शान्ति अमनचयन कायम गर्न निकै ठूलो चुनौती खडा गरेको पाइन्छ । अतः राज्यले जातीय भेदभाव तथा छुवाछूतको उन्मूलनको मुलभूत दायित्वलाई आत्मसात गरी दण्डसजाय, अपराधको रोकथाम, नियन्त्रणका साथै सामाजिक जागरण लगायत आवश्यक गैर–फौजदारी जवाफदेहीताका उपायहरुको कार्यान्वयनमा समेत जिम्मेवार हुन अत्यन्तै आवश्यक देखिन्छ ।’

यस्तै जुरी नेपालले यसका लागि संघीय संसद तथा सरकार, राष्ट्रिय मानव अधिकार आयोग, राष्ट्रिय दलित आयोग, प्रदेश संसद तथा सरकार एवं स्थानीय तहहरु संवेदनशील भई जातीय भेदभाव तथा छुवाछूत अन्त्यको लागि तत्काल कार्ययोजना बनाई त्यसको कार्यान्वयनका लागि समन्वय, सहकार्य लगायतका कार्यहरु यथाशीघ्र सञ्चालन गर्न पर्ने हुुँदा सबैको सोतर्फ ध्यानाकर्षण गराएको छ ।

जुरी नेपालले घटनाको अपराध अनुसन्धान स्वतन्त्र तथा निष्पक्ष रुपमा गरी सत्य तथ्य पत्ता लगाई मुलुकी अपराध संहिता, २०७४, ज्यान सम्बन्धि कसूरको परिच्छेदका व्यवस्था तथा जातीय तथा अन्य सामाजिक छुवाछुत तथा भेदभाव (कसूर र सजाय) ऐन, २०६८ बमोजिम दोषीलाई हदैसम्मको सजाय गरी पीडित परिवारलाई पर्याप्त परिपूरण दिलाउन तथा सामाजिक सुरक्षाका सुनिश्चिताको लागि आवश्यक प्रवन्ध मिलाउँदै आगामी दिनमा समाजमा यस प्रकारका घटना घट्न नदिन तत्काल आवश्यक प्रबन्ध गर्न समेत सम्बन्धित सबै पक्षसँग समक्ष जोडदार माग गरेकाे छ ।


  •  
  •  
  •