पुनरावेदन अदालत जुम्ला दशैँको समयमा पनि खुला रहने

80
  •  
  •  
  •  

जुम्ला, ९ असोज (ओएनएस) पुनरावेदन अदालत जुम्ला दशैको समयमा पनि खुला रहने भएको छ । बन्दी प्रत्यक्षिकरण सम्बन्धीको निवेदनको सुनुवाई गर्नका लागि पुनरावेदन अदालत खुल्ला राख्न लागिएको हो ।

भदौ ३१ गते सर्वाेच्च अदालतबाट प्राप्त भएको चलानी नम्बर २ सय ९७ नम्बरको पत्रअनुसार बन्दी प्रत्यक्षिकरण सम्बन्धी निवेदनको सुनुवाईका लागि दशैंमा पनि अदालत खुल्ला राखिने रजिष्टार ठगिन्द्र कट्टेलले जानकारी दिए  । असोज ९ गते घटस्थापना, ११ गते शनिबार, १७ गते विजया दशमी र १८ गते शनिबार बाँहेक अरु सबै दिन विहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म अदालत खुल्ला रहने उनको भनाइ छ । न्याय प्रशासन ऐन २०४८ को दफा २३ अनुसार दशैंको समयमा पनि बन्दी प्रत्यक्षिकरणको निवेदनको सुनुवाई हुने पुनरावेदन अदालत जुम्लाले जनाएको छ । घटस्थापनादेखि कोजाग्रात पूर्णिमासम्म अदालतमा सार्वजनिक बिदा हुने भए पनि देशभरका सबै अदालतले बन्दी प्रत्यक्षिकरणको निवेदनको सुनुवाई गर्ने रजिष्टार कट्टेलले बताए  ।

दशैको अवसरमा शान्ति सुरक्षाको संवेदनशिलतालाई ध्यानमा राख्दै आवश्यक सुरक्षा प्रबन्ध मिलाइ दिन पुनरावेदन अदालत जुम्लाले जिल्ला प्रहरी कार्यालय तथा जिल्ला प्रशासन कार्यालयलाई अनुरोध गरेको छ । बन्दी प्रत्यक्षिकरण सम्बन्धी निवेदनको सुनुवाईका लागि दशैंमा पनि अदालत खुल्ला राख्न लागिएको यो पहिलो पटक हो ।


  •  
  •  
  •