विनोद शर्मा
जुम्ला १० भदौ (ओएनएस) :जुम्लामा पनि सम्बन्ध बिच्छेद गर्नेहरुको सँख्यामा बृद्धि भएको पाइएको छ । जिल्ला अदालत जुम्लामा आर्थिक वर्ष २०७०÷०७१ मा सम्बन्ध विच्छेद सम्बन्धी १६ वटा मुद्धा दर्ता भएको थियो । आर्थिक वर्ष २०६८÷०६९ मा १० वटा मुद्धा दर्ता भएकोमा आर्थिक वर्ष २०६९÷०७० मा १४ वटा मुद्धा दर्ता भएको श्रेष्तेदार पुष्पराज पाण्डेयले बताउनुभयो । पछिल्ला केहि वर्षको तथ्याँकलाई हेर्दा जिल्लामा सम्बन्ध बिच्छेद गर्न चाहनेहरुको सँख्यामा बृद्धि भएको उहाँको भनाइ छ । यस आर्थिक वर्ष २०७१÷०७२ को पहिलो महिनामैं सम्बन्ध बिच्छेदका ७ वटा मुद्धा दर्ता भएको जिल्ला अदालत जुम्लाले जनाएको छ । तराइका जिल्लामा जस्तो एकै वर्ष सयौं दम्पत्तीले सम्बन्ध बिच्छेद गराउने अवस्था नभए पनि समस्याका रुपमा देखिँदै आएको पाण्डेयको भनाइ छ । निम्न र मध्यम वर्गका मात्रै नभएर उच्च तथा सम्पन्न घरानाका दम्पत्ती पनि सम्बन्ध बिच्छेदका लागि आउने गरेका छन् । श्रीमान श्रीमतीका बीचमा हुने असहमति तथा बिचार नमिलेका कारण सम्बन्ध बिच्छेद हुने गरेको पाइन्छ । घरेलु हिंसा, बालविवाह तथा बहुविवाह, फेरिँदो जीवनशैली लगायतका कारण सम्बन्ध बिच्छेदका घटना हुने गरेको श्रेष्तेदार पाण्डेयले बताए ।