भक्तपुर, १७ चैत(ओएनएस) : आगामी चैत २७ गतेदेखि सुरू हुने बिस्केट जात्रामा यसपटक पनि जुजुभाइले जोब्रो छेड्ने भएका छन् ।
जुजुभाइले यस वर्ष पनि जिब्रो छेड्नका लागि कोही नभएपछि ८ औँ पटक जिब्रो छेड्ने बताएका हुन् । उनले परम्परा र जात्रा पर्वलाई जोगाउनकै लागि आफूले जिब्रो छेड्न लागेको बताएका छन् ।
उनले पहिलो पटक २०६६ सालमा जिब्रो छेडेका थिए । त्यसपछि पनि उनले लगातार जिब्रो छेड्दै आएका छन् ।
जात्राको मुख्य आकर्षण वैशाख २ मा मध्यपुर थिमि नगरपालिका वडा नं १ बोडेमा हजारौंको सहभागितामा जिब्रो छेड्ने प्रचलन छ । त्यसपछि जिब्रो छेड्नेको इच्छा अनुसार बोडे परिक्रमा गरिन्छ ।
जिब्रो छेड्ने व्यक्तिले ३ दिनअघि (चैत ३० गते) देखि ब्रत बस्नु पर्ने हुन्छ । ब्रतका क्रममा चोखो भएर बस्ने, पशुपंक्षी, महिला छुन नहुने र अरुको घरमा जान नहुने परम्परा रहेको छ ।
यो जात्रा लिच्छवीकालदेखि नै चलेको मानिन्छ । जात्रामा अहिलेसम्म धेरैले जिब्रो छेडीसकेका भए पनि यस्ता १३ जनाको नाम मात्रै जानकारीमा छ ।