जुजुभाईले आज सातौ पटक जिब्रो छेड्ने

207
  •  
  •  
  •  

jujubhai on bisket jatra
फाइल फोटो

काठमाडौ, २ बैशाख(ओएनएस) : बिस्केट जात्राको छैठौ दिन अर्थात् वैशाख २ गते बुधबार मध्यपुर थिमि बालकुमारी स्थित बिहान सिन्दुर जात्रा गरी दिउँसो बोडेमा जिब्रो छेड्ने जात्रा मनाइँदै छ ।

जिब्रो छेड्ने जात्रा अन्तरगत आज जुजुभाईले आफ्नो जिब्रो छेड्ने भएका छन् । चैत मसान्तका दिन बोडे महालक्ष्मी मन्दिर प्राङ्गणमा लिङ्गो उठाएपछि जिब्रो छेड्ने परम्परा छ । एक महिनाअघि तेलमा डुबाइराखेको १० ईन्च लामो सुइरोले जुजुभाईले जिब्रो छेड्ने छन् । जिब्रो छेडेपछि बोडे नगरको परिक्रमा गर्ने प्रचलन रहेको छ ।

यस्तै, जिब्रो छेड्नका लागि तीन दिनसम्म भोकै बस्नुपर्ने परम्परा रहेको छ । जुजुभाईले अहिलेसम्म छ पटकसम्म जिब्रो छेडिसकेका छन् भने यो वर्षपनि उनैले जिब्रो छेड्न लागेका हुन् । लगभग लोप हुन लागेको परम्परालाई यीनले जोगाएका छन् । यो परम्परा अन्तरगत अहिलेसम्म १२ पुरूषले जिब्रो छेडिसकेका छन् ।

जिब्रो छेड्नका लागि श्रेष्ठ थरकै व्यक्ति हुनुपर्ने प्रचलन समेत रहेको छ । जिब्रो छेड्नाले अनिकाल, महामारी, अनावृष्टि, अतिवृष्टि, महाभूकम्पबाट बोडेलाई जोगाउन सकिने धार्मिक विश्वास रहिआएको छ भने जिब्रो छेड्दा जिब्रोबाट रगत आउन नहुने, यदी रगत आए अनिष्ट हुने विश्वास गरिन्छ ।

भक्तपुरको प्रसिद्व बिस्केट जात्राको पाचौं दिन अर्थात नयाँ वर्षको दिन अघिल्लो साँझ उभ्याइएको लिङ्गो ढालिएको थियो । चैत्र मसान्तको राती भेलुखेलमा बाजागाजासहित तान्त्रिक विधि पूर्वक उभ्याइएको ५५ हाते लिङ्गोलाई मङ्गलबार साँझ तान्त्रिक विधि पूर्वक ढालिएको थियो ।

लिङ्गो तान्त्रिक विधिपूर्वक दशकर्म विधान गरी लिङ्गो कोखा (टुप्पो) मा नाग र नागिनीको प्रतीकस्वरूप दुईवटा ध्वजा बाँधेर अष्टमातृकाका प्रतीक आठ वटा डोरीले बाँधी लिङ्गो उभ्याइने प्रचलन छ । लिङ्गोको कोखामा झुण्ड्याइएका दुईवटा ध्वजालाई वीरध्वजा, विश्वध्वजा, र आकाश भैरवका ध्वजा समेत भनिन्छ । भक्तपुरको प्रसिद्घ बिस्केटको लिङ्गो जात्रा हेर्नाले सुख, समृद्घि सहकाल आउनुका साथै शत्रु नाश हन्छ भन्ने धार्मिक मान्यता रहेको स्थानीयको भनाई छ । त्यसै अनुरुप मङ्गलबार बिहानै देखि दर्शनार्थीको भिड लागेको छ ।


  •  
  •  
  •