सगरमाथा आरोही शर्मिला लामाको टोलीद्वारा जुगल आरोहण

628
  •  
  •  
  •  

काठमाडौं । मानव बेचबिखनविरुद्ध अभियानरत सगरमाथा आरोही शर्मिला लामाको टोलीले जुगल हिमशृंखलाअन्तर्गतको ग्याल्जेन पिक आरोहण गरेको छ ।

यही कार्तिक ३ गते आफूसहित पाँच जनाको टोली ६ हजार १ सय ५१ मिटर उचाइको जुगल हिमशृंखलाअन्तर्गतको ग्याल्जेन पिक आरोहणपछि राजधानी फर्किएको हिमाल आरोही लामाले जानकारी दिइन् ।

आरोहण टोली काठमाडौंबाट आफ्नो नेतृत्वम बेसक्याम्पसम्म गएको र त्यहाँबाटमाथि योजना प्रमुख आङदोर्जे शेर्पाको नेतृत्वमा गएको उनको भनाई छ ।

जुगल गाउँपालिकाको आयोजना र सोल हिमालय टुर एण्ड ट्राभल्स प्रालिको व्यवस्थापनमा भएको आरोहण दलमा शर्मिला लामा, पेम्बा तामाङ, आङदोर्जे शेर्पा, सार्की शेर्पा र आङछिरिङ शेर्पा रहेको जुगल गाउँपालिकाका उपाध्यक्ष सिर्जना तामाङले बताइन् ।

शर्मिला र पेम्बाले सगरमाथा आरोहण गरिसकेका छन् भने आरोहण दलका अन्य सदस्यले ६ हजार मिटर अग्ला राष्ट्रिय र अन्तर्राष्ट्रिय हिमालको सफलतापूर्वक आरोहण गरिसकेका छन् ।

राजधानी काठमाडौंसंगै जोडिएको जिल्ला सिन्धुपाल्चोकको जुगल हिमाल नेपाल घुम्न आउने विदेशी पर्यटकहरूका लागि सबैभन्दा नजिकको गन्तव्य बन्न सक्ने भए पनि ‘नजिकको तिर्थ हेला’ भनेझैं उचित प्रचार प्रसारको अभावमा ओझेलमा परेकोले आफू नेतृत्वको टोलीले जुगल आरोहण गरेको शर्मिलाले बताइन् ।

जुगल राजधानीसँग रहेको र कम आरोहण भएको हिमाल हुँदा पछिल्लोपटक आरोहीहरू आकर्षित भएको र पदमार्ग, वेसक्याम्पलगायतका पूर्वाधार निर्माण गर्न सके यो हिमालको आकर्षण झन् बढ्ने सम्भावना रहेको पर्यटन व्यवसायी सार्की शेर्पाले बताए ।

जुगल हिमाललाई राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरमा प्रचार–प्रसारका लागि यो आरोहणले थप मद्दत पुग्ने उनको भनाइ छ ।

कोरोना महामारीका कारण विश्व आक्रान्त भइरहेको बेला निरासा र तनावबाट मुक्त हुनुपर्छ भन्ने सन्देश दिन पनि आफ्नो टोली कोरोना परीक्षण पश्चात हिमाल आरोहणमा निस्किएको शर्मिलाको भनाई छ ।

मानव बेचबिखनविरुद्धको सन्देश बोकेर, नेपालको पर्यटन प्रवद्र्धनमा टेवा पुर्‍याउन ८ हजार मिटर अग्ला विश्वका १४ हिमाल चढ्ने अभियानमा रहेकी शर्मिलाले विश्वको सर्वोच्च शिखर सगरमाथा, ८ हजार १ सय ६३ मिटरको मनास्लु, युरोपको सबैभन्दा अग्लो हिमाल इल्ब्रोस, ५ हजार ९ सय २५ मिटर अग्लो नेपालको रामदुङ हिमालको सफल आरोहण गरिसकेकी छन् ।

अहिलेसम्म ८ हजार मिटरमाथिका विश्वका १४ अग्ला हिमाल २ जना (अष्ट्रेलियन र स्पेनिस) महिलाले मात्रै चढेका छन् ।


  •  
  •  
  •