सूर्यबहादुर थापाका नजरमा को पत्रकार कस्तो ?

66
  •  
  •  
  •  

मैले नेपालमा सबभन्दा बढी माया गर्ने र मान्ने पत्रकार चन्द्रलाल झा हुनुहुन्थ्यो । उहाँको कलम तिखो थियो भने भाषामाथि राम्रो पकड थियो । पञ्चायतकालमा उहाँसँग मेरो लामो संगत रह्यो । उहाँले सन्तुलित रुपमा विषयवस्तु राख्नुहुन्थ्यो । पत्रकारहरुमध्ये व्यक्तिगत रुपमा म सबभन्दा नजिक रहेको उहाँसँगै हो । उहाँ विहानै मेरो घरमा आउनुहुन्थ्यो, हामी दुई–तीन घन्टा बस्थ्यौं, कुराकानी गथ्र्यौं । उहाँको विश्लेषण क्षमता राम्रो थियो ।

गोविन्द वियोगी पनि त्यस्तै पत्रकार हुनुहुन्थ्यो । उहाँले पनि सन्तुलित पत्रकारिता गरेको मैले अनुभव गरेको छु । साह्रै इमान कमाउनुभएको थियो उहाँले ।

गोपालदास श्रेष्ठले अंग्रेजीमा पत्रिका निकाल्नु हुन्थ्यो । उहाँ कलकत्ताबाट पढेर आएको, साह्रै राम्रो मानिस हुनुहुन्थ्यो । उहाँसँग पनि बेलाबेलामा कुराकानी भइरहन्थ्यो ।

हरिहर विरही अहिले के भन्छन्, थाहा छैन । तर, जिल्लाबाट काठमाडौं आएदेखि उनलाई माथि उठाउन मैले बहुत सहयोग गरेको हुँ । उनले पनि मलाई सधैं मद्दत गरे । मेरा अनन्य सहयोगी कमल जोशी थिए । विरहीले कमल जोशीबाटै आफूलाई राइज गरेका हुन् । व्यक्तिगत रुपमा पनि मैले उनलाई ठूलो मद्दत गरेको छु ।

विजयकुमार पाण्डेले पनि कमल जोशीसँगै सिकेका हुन् । उनलाई पनि मैले मद्दत गरेको छु । अहिले पनि उनीसँग राम्रो सम्बन्ध छ । उनको पुस्तक विमोचन छ रे । मलाई उनले फोन गरेका थिए । म अरुकोमा भए जाने थिइनँ । तर, विजयकोमा गइदिन्छु ।

पद्मभक्त खरेलले ‘चक्षु’ पत्रिका निकाल्थे । उनलाई ज्योतिषशास्त्रको पनि ज्ञान छ क्या र । हुन त उनी त्यस्तो प्रोफेसनल ज्योतिष होइन होला तर पत्रिकामै ज्योतिषीका कुरा लेखेका हुन्छन् ।

मलाई रघु पन्तको लेखन साह्रै मन पथ्र्यो । म नछुटाएर पढ्थें । लेखनमा आफ्नो दृष्टिकोण कमै पत्रकारले दिन्छन् । तर, पन्त ‘सार्प’ दृष्टिकोण दिन्थे । उनीसँग अलि बढी चिनजान चाहिं संसद्तिर गएपछि गएपछि भएको हो ।

पञ्चायतकालमा किशोर नेपालको पनि बेग्लै पत्रकारिता थियो । उनी बढी क्रिटिकल थिए । तर, लेखेको चाहिं म पढ्थें । अरु साथीहरुसँग थियो, मसँग उनको घनिष्टता भएन ।

मदनमणि दीक्षित मानिसहरुसँग हिमचिम मिलाएर हिँड्ने मानिस होइनन् । उनी बौद्धिक मानिस हुन् । मणि खलक भएका कारण उनी आफैं पनि सम्पन्न मानिस थिए । उनको मसँग खासै घनिष्टता रहेन ।

तपाईं अचम्म मान्नुहोला, मलाई पञ्चायतकालभरि आफूलाई दरबारिया भन्ने पत्रकारहरुले खुबै खेदे । मेरो सीधै राजासँग कुरा हुन्थ्यो, अरु ऐरेगैरेसँग सम्बन्ध नै हुँदैनथ्यो । त्यही भएर दरबारको वरिपरि रहेकाहरुले सधैं मेरो विरोध गर्दथे । म त्यस्ता पत्रकारहरुको अहिले नाम पनि लिन चाहन्न ।

पछिल्ला दिनका प्राय: सबै पत्रकार चिन्दछु । तर, कसैसँग पनि घनिष्टता भएन ।

ई–बुधवारबाट 


  •  
  •  
  •