पत्रकारिता: न शिष्टता, न जवाफदेहिता

538
  •  
  •  
  •  

पत्रकार- मिडियाले त यस्तो लेख्या छ नि, के गर्या ?

अतिथि- तपाईँ धेरै बकबक नगर्नुहोस् । अलि ढंगले प्रश्न गर्नुहोस् । प्रश्न गर्ने शिष्टता सिक्नुहोस् ।

पत्रकार- तपाईँ राजनीतिक दलको नेताले शिष्टता सिकाउने मिडियालाई ? हामी शिष्ट छौँ । तपाईँले सिकाउनु पर्दैन ।

पत्रकार- मेरो प्रश्नको उत्तर दिन सक्नुहुन्न भने तपाईँ यहाँबाट जान सक्नुहुन्छ ।

अतिथि माइक झिकेर साइडमा मिल्काउँदै बाहिर निस्किए ।
पत्रकार : नमस्कार,  ‘…………’ मा स्वागत छ…।

कुराकानीको केही समय अघि बढ्दाबढ्दै दुई अतिथिहरु एकआपसको आरोप प्रत्यारोपमा यस्तो स्थितिसम्म पुग्छन् कि बसिरहेको कुर्सीबाटै उठेर मुख छाडाछाड हुन्छ ।

अतिथि- तपाईँको पार्टी डाँका हो । हत्यारा हो ।

अर्का अतिथि- तपाईँको पार्टी डाँका । जो चोर, उसैको ठूलो स्वर ।

अन्त्यमा पत्रकारले संयम् हुनुहोस भन्दाभन्दै कार्यक्रम नै समाप्त ।

पछिल्लो समय मिडिया, त्यसमा पनि एफएम तथा टेलिभिजनमा उपस्थित अतिथि–अतिथि, पत्रकार–अतिथिबीच यस्तो चर्काचर्की हुने र त्यसले बाहिरी वातावरणलाई गर्माएको छ । प्रस्तुत घटना त्यसैका दृष्टान्त हुन् ।
मिडियामा यस्ता घटना खासै नयाँ भने होइन ।

केही वर्षअघि राजधानीमै सञ्चालित अर्को एक टेलिभिजनमा यस्तै घटना भएको थियो । त्यतिबेला पनि पत्रकारले सोधेको ठाडो लाग्ने प्रश्नले अतिथिले असहज रुपमा प्रश्न गर्ने भन्दै माइक्रोफोन आफै निकालेर टेबुलमा फ्याँकेर कार्यक्रमको बीचैमा स्टुडियो छाडेका थिए ।

आखिर मिडियामा पटकपटक यस्ता घटना किन दोहोरिन्छन् त ? यसमा दोष कसको हुन सक्छ ? कार्यक्रममा निम्त्याइएका अतिथिको या सम्बन्धित पत्रकारको ? यसबारे बहस जरुरी छ ।
बहस मुख्यतः दुई कोणबाट गरिनुुपर्छ ।

एक, पत्रकारहरुकै बीचमा देखिएको प्रतिस्पर्धा । प्रतिस्पर्धा पनि कस्तो भने कोसँग कुुन तहका कति नेता नजिक छन् ? कुन मन्त्रालयका सचिव–सहसचिव निकट छन् ? आफ्नो शक्ति र दम्भ प्रदर्शन गर्ने ? कसले कुन सवालमा कसरी कुरा उठान गर्यो र कति सत्यतथ्य र विश्लेषण प्रस्तुत गर्यो भन्ने पक्ष ओझेल परेको छ ।

अर्को, राजनीतिकर्मी तथा प्रशासकहरु पनि मिडियाबाट पाएको निम्तोमा कसले कुन सवालमा कसरी कुरा उठान गर्ला भनेर तयारी नगरी पुग्छन् । सवालको तथ्यगत जवाफ दिनुपर्छ भन्ने न्यूनतम चेतना छैन । आफूले बोलेका शब्दप्रतिको जवाफदेहिता कतै पाइँदैन ।

‘स्रोत व्यक्ति वा अतिथिको व्यवहार संयमबाहिर गयो वा अभद्र भयो भने पनि आफूले पेसागत धर्मबाट विचलित नभई प्रस्तुत हुनु वास्तविक पत्रकारिता हो ।’

जवाफका लागि आफू र आफूसँग सम्बन्धित छ कि छैन भन्ने थोरै पनि जानकारी नलिई निम्तो पायो कि पुगिहाल्नुपर्ने । कमसेकम म कुन मिडियामा किन जाँदैछु भन्ने हेक्का पनि नराखी अतिथिको रुपमा जानको लागि तयार हुने प्रवृत्तिको बारेमा बहस गरिनु आवश्यक छ ।

स्वाभाविक कुरा के हो भने मुलुकमा राजनीतिक विचलन आएका बेला, कुनै प्राकृतिक विपत्ति परेका बेला मिडियाले खेलेको भूमिका पक्कै पनि महत्वपूर्ण छ । तर, यसो भन्दैमा आफू नै सर्वेसर्वा ठान्ने सोच त्याग्न आवश्यक छ । आफ्नो जिम्मेवारी बोध हुन आवश्यक छ ।

एउटा पत्रकारले कम्तीमा यति सोच्न आवश्यक छ कि कस्ता कुरा आफू संलग्न मिडियामा प्रकाशन प्रसारण गर्दा राज्य र जनताको बीचमा सहज वातावरण सृजना गर्न सहयोग गर्छ ? जसले मुलुकको पक्षमा केही हदसम्म योगदान हुन सक्छ कि सक्दैन ?

सबै प्रकारका सञ्चारगृहहरुमा आफ्नो प्रस्तुति कसरी जिम्मेवार या गहन बनाउनेभन्दा पनि आफू कसरी सबैका सामु चर्चित बन्ने भन्ने होड छ । विशेष गरी श्रव्यदृश्यसँग सम्बन्धित सञ्चार माध्यममा यस्तो होड बढी नै छ ।
यस्ता भद्दा प्रस्तुतिले केही समय चर्चा त बटुलिएला तर प्रतिष्ठा पटक्कै दिँदैन । अन्ततः यसले समग्र पत्रकारितालाई नै अविश्वास गर्नेको सख्या बढाउदै लैजान्छ ।

पछिल्लो समय पत्रकारिताको धार भुत्ते हुँदै गएको छ । कोठे पत्रकारिताले पत्रकारलाई अल्छी बनाउँदै छ । भर्चुअल पत्रकारिताले जवाफदेहितलाई सिध्याउँदै छ ।

कतिपय स्थापित कार्यक्रमका प्रस्तोतामा पनि केही समय मै हुँ भन्ने अहंभावको विकास भएको पाइन्छ । तर, जति धेरै अहंको भारी बोक्यो, त्यति नै छिटो यो पेसाबाट पलायन भएका उदाहरण पनि प्रशस्तै पाइन्छ ।
त्यसैले एउटा सञ्चारकर्मीको जिम्मेवारी, भूमिका, स्थान कहाँ कस्तो हुनुपर्ने हो, एकपटक आफै मनन गरौँ । यो नै अहिलेको टड्कारो समस्याको समाधान हो ।

यो यस्तो पेसा हो, जहाँ आफ्नो आस्था, विचार र स्वार्थबाट निरपेक्ष पेसागत धर्म निर्वाह गर्न सक्नुपर्छ । आकण्ठ आग्रह बोकेर कार्यक्रममा प्रस्तुत हुँदा के हुन्छ ? नतिजा सामुन्ने छ । तथ्यसत्यमा आधारित, अनुसन्धानकेन्द्रित भएर प्रस्तुत हुँदा आफ्नै प्रस्तुति विश्वसनीय हुन्छ । नकि तिमीले यतिका गलत काम गरेका छौ, सो बापत् तिमीलाई मैले यतिसम्म गाली गलौज या भनौ आरोप लगाउन सक्छु भनेर विश्वास प्रतिष्ठा आर्जन गर्न सकिन्छ ।

स्रोत व्यक्ति वा अतिथिको व्यवहार संयमबाहिर गयो वा अभद्र भयो भने पनि आफूले पेसागत धर्मबाट विचलित नभई प्रस्तुत हुनु वास्तविक पत्रकारिता हो । पत्रकारिता भनेको इमान हो, जवाफदेहिता हो र अरुप्रति सम्मान गर्न सक्ने क्षमता पनि हो ।

पछिल्लो समय पत्रकारिताको धार भुत्ते हुँदै गएको छ । कोठे पत्रकारिताले पत्रकारलाई अल्छी बनाउँदै छ । भर्चुअल पत्रकारिताले जवाफदेहितलाई सिध्याउँदै छ ।

सम्झौतापरस्तताले पेसागत नैतिकता समाप्त पार्दै छ । आलोचनात्मक चेतको स्थान कुण्ठाले लिँदै छ । अध्ययन अनुसन्धानको ठाउँमा गालीयुुक्त कठोर र तीखा शब्दको खोजीमा समय बिताइँदै छ । कर्कश आवाज र रुखो प्रस्तुतिले चर्चित भइने भ्रम हावी भएको छ ।

यही दौडमा आँखा चिम्लेर सामेल हुने हो र आत्मसमीक्षा नगर्ने हो भने हाम्रो पेशागत यात्रा नै धरापमा नपर्ला भन्न सकिँदैन ।


  •  
  •  
  •