पत्रकार हत्याको विषयमा छानविन समिति गठनको माग

272
  •  
  •  
  •  

उदयपुर २४ चैत (ओएनएस)  : उदयपुरका पत्रकार रामप्रसाद भट्टराई (सचिन) हत्याको छानविनका लागि छानविन टोली गठन र पीडित परिवारलाइ क्षेतीपुर्तीको माग गर्दै प्रेस चौतारी नेपाल उदयपुरले मंगलबार गृहमन्त्रीको ध्यानाकर्षण गराएको छ ।

सदरमुकाम गाईघाटको लोकतान्त्रिक चौकबाट नारा जुलुससहित निस्किएका सञ्चारकर्मीले प्रमुख जिल्ला अधिकारीमार्फत उपप्रधान तथा गृहमन्त्री बामदेव गौतमलाई ज्ञापनपत्र बुझाउँदै ध्यानाकर्षण गराएका हुन ।

घटना घटेको १४ दिन बितिसक्दा समेत यथार्थ सार्वजानिक गर्न नसक्नु प्रहरी शासनको कमजोरी भएको चौतारीले ठहर गर्दै निष्पक्ष छानविन र पीडितलाई क्षत्रीपुर्ती उपलब्ध गराउन माग गरेको छ ।

चैत्र ११ गते राती ११ः३० बजेको समयमा सुनसरीको इटहरी नगरपालिका–२६ आँपगाछी चौकमा वेवारिसे अवस्थामा फेला परेको भट्टराईको शव हत्या भएको हुनसक्ने प्रारम्भिक अनुमान गरिएकोले यथार्थ सार्वजानिक गर्न माग गरिएको छ ।

बास बसेको ठाउँबाट झण्डै तीन किलोमिटर पर शव भेटिनु, एक किलोमिटर तल मोवाईल भेटिनु, लाहप्रति शंकाहरु उत्पन्न हुनु र प्रहरी प्रशासनको गहन अनुसन्धानको रिर्पोट नआउनुले पनि घटना रहस्यमय भएको चौतारीले ठहर गरेको छ ।

ज्ञापनपत्रमा भनिएको छ, ‘एक जना श्रमजीवी पत्रकारको यो अवस्था हुनु र शान्ति सुरक्षाको जिम्मा लिएको प्रहरी प्रशासनले दोषी पत्ता लगाउन नसक्नुले हामीलाई मर्माहत मात्र तुल्याएको छैन्, सिङ्गो प्रहरी प्रशासनको शान्ति सुरक्षाको सवाललाई प्रश्नचिन्ह खडा गरेको छ ।’

ज्ञापनपत्रमा ८१ बर्षीय पिता तथा दुबै आँखा नदेख्ने आमा भट्टराई आश्रित रहनु भएकाले आश्रित परिवारलाई मानविय सहयोग गरिदिन नेपाल सरकारसँग माग गरिएको छ । मृतक भट्टराईको १३ औं दिनको काजकृया समेत सकिसकेको अवस्थामा उनको मृत्युको कारण खुल्न नसक्नुले सम्पुर्ण श्रमजीवी पत्रकारलाई आघात पुग्न सक्छ ज्ञापनपत्रमा भनिएको छ, ‘ तसर्थ तत्काल छानविन समिति गठन गरी दोषिलाई पत्ता लगाएर कारवाहीका लागि आग्रह गर्दछौ । ’

ज्ञापनपत्र बुझ्दै प्रजिअ कृष्णचन्द्र घिमिरले पत्रकार हत्याले आफुलाई निकै मर्माहत बनाएको बताए । उनले घटनाको यर्थाथ सार्वजानिक गर्न आफ्नो क्षेत्रबाट सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाउँदै ज्ञापनपत्र तत्काल गृहमन्त्रीलाई पठाउने वचन व्यक्त गरे ।

प्रेस चौतारी नेपालले घटनाको यथार्थ वाहिर ल्याउन र अनुसन्धान प्रकृयालाई सहज बनाउन केन्द्रीय सदस्य तथा कोसी अञ्चल इन्र्चाज लिलाराज भट्टराईको संयोजकत्वमा पाँच सदस्य दवाव समिति गठन गरेको छ । समितिको सदस्यमा केन्द्रीय सदस्य बिक्रम लुईटेल, उदयपुर अध्यक्ष भरत खड्का, सुनसरी अध्यक्ष देवेन्द्र कार्की र सचिब शेखर ढकाल रहेका छन् । जिल्लाका पत्रकारहरु विगत आठदिनदेखि जिल्ला सदरमुकाममा विबिध कार्यक्रमको आयोजना गरी बिरोध प्रर्दशनलाई जारी राखेका छन् ।


  •  
  •  
  •