ज्योतिषीका आँखामा माघ ८: ‘संविधानको योग खराब’

208
  •  
  •  
  •  

काठमाडौं ३ पस ।
तिषीहरूले माघ ८ गते संविधान घोषणा नहुने भविष्यवाणी गरेका छन्। संविधान निर्माणमा विज्ञहरूको सहभागिता नभएको र नेताहरूलाई जनताले नपत्याएकाले सफल नहुने उनीहरूको भनाइ छ।

ज्योतिषी हेमसागर ढुंगेलले भने, ‘माघ ८ गते चन्द्रमा कमजोर भएकाले योग खराब छ। संविधानमा विज्ञहरूको सहभागिता र सल्लाह नभएको हुँदा जारी हुँदैन। संविधान बने पनि लागू हुँदैन। जबरजस्ती लागू गरिहाले पनि केही समयमै खारेज हुने देखिन्छ।’

उनका अनुसार देशविदेशका विज्ञहरूको टोलीले बनाएको मस्यौदामाथि पुन: संविधानसभामा छलफल र आवश्यक संशोधनपछि जारी गरे देशमा संविधान आउनेछ। ढुंगेलले २०७० मंसिर ४ मा संविधानसभा निर्वाचन हुन्छ भनेर गरेको भविष्यवाणी मिलेको थियो।

उनले भने, ‘जसले संविधान लेखिरहेका छन्, उनीहरूप्रति जनतालाई विश्वासै छैन भन्ने देखिन्छ। अब कि नेतृत्व गर्ने नेता हठ वा जिद्दी खालको भएमात्र जारी हुने देखिन्छ कि त छिमेकी देशले दबाब दिएमात्र सम्भव हुने देखिन्छ।’

अर्का ज्योतिषी डा. वासुदेवकृष्ण शास्त्रीका अनुसार माघ ८ गते चन्द्रमा मकर राशिमा हुनेछ। नेपालको राशि वृश्चिक हो। चन्द्रमाको दृष्टि तेस्रो स्थानमा पर्छ। उनले भने, ‘मंगल, चन्द्र र शुक्र ग्रह सँगै बसेको दिन पर्छ। सूर्य र बुध पनि मकर (शत्रु राशि) मा पर्ने भएकाले संविधान जारी हुने मिति सर्छ। कसैको हठले जारी गरे जेठ-असारमा रक्तपात हुने देखिन्छ।’

पूर्व दिशाको नेतृत्व केन्द्रमा पुगेपछिमात्र संविधान जारी हुनसक्ने भविष्यवाणी उनको छ।

यस वर्ष राजा र मन्त्री दुवै पदमा चन्द्रमा रहेकाले देशमा राम्रो कार्य गर्न सकिने तर्क छ ज्योतिषी रतिदेवी श्रेष्ठको। राष्ट्रिय महिला ज्योतिष संघ नेपालकी अध्यक्षसमेत रहेकी श्रेष्ठले भनिन्, ‘तोकिएकै दिन संविधान जारी हुने निश्चित छ। तर कुनै पनि काम बन्न भाग्य, कर्म र वस्तुस्थितिको तालमेल जरुरी हुन्छ।’

ज्योतिषी टेकराज शास्त्रीले पनि बुधको घरमा चन्द्रमा र मंगल सँगै बसेको हुँदा माघ ८ गते नयाँ संविधान जारी हुने सम्भावना अत्यन्तै कम रहेको बताए। उनले भने, ‘जगलग्न कुण्डलीमा लग्नेश मिथुन छ। यसमा बृहस्पति बसेको छ। बुध लग्नेश पनि दसौं स्थानमा बसेको छ। त्यसैले आफैंमा राम्रो योग छ तर बुधको घरमा चन्द्रमा र मंगल बसेकाले समस्या देखिन्छ।’ अन्नपूर्णपोष्टबाट


  •  
  •  
  •