झलनाथले किन हटाए स्वकीयबाट रामबाबुलाई ?

276
  •  
  •  
  •  

मदन कोइराला
काठमाडौं, २० साउन (ओएनएस) : लामोसमय देखि स्वकीयका रुपमा काम गर्दै आएका रामबाबु अधिकारीलाई एमालेका वरिष्ठ नेता झलनाथ खनालले आफ्ना सचिवालयबाट हटाएका छन् ।

अध्यक्ष हुँदा आफूलाई सहयोग नगरेको र आफ्ना व्यक्तिगत सुचना बाहिर चुहाएको अभियोगमा अधिकारीलाई हटाइएको बताइएको छ ।
कतिपय गोप्य दस्तावेज भारतीय दुतावास पुर्याएको, असहयोग गरेकोजस्ता अभियोग लगाएर अधिकारीलाई खनालले आफ्नो सचिवालयबाट हटाएको स्रोतको दाबी छ ।

खनाल अध्यक्ष हुँदा कार्यकर्तालाई खनालसम्मको पहँच बनाउन असहयोग गरेको, अध्यक्षका कतिपय दस्तावेज गायव बनाएको तथा महत्वपुर्ण दस्तावेज दुतावासमा पुर्याएको आरोपमा अधिकारीलाई कारवाही स्वरुप स्वकीयबाट निष्काशन गरेको स्रोतको दाबी छ ।

एमालेको नवौं महाधिवेशनमा लिखित दस्तावेज अधिकारीले बेपत्ता बनाएको आरोप लगाइएको छ । नवौं महाधिवेशन अगाडि युवा तथा खेलकुद मन्त्री पुरुषोत्तम पौडेलसँग अध्यक्षको अनुमति विना चीन गएको र चीन जाँदा खनालले नवौं महाधिवेशनकालागि लेखेका दस्तावेज गायव बनाएको आरोपसमेत अधिकारीमाथि लागेको छ ।

‘अध्यक्षका गोप्य दस्तावेजसमेत गायव भएपछि बाध्य भएर हटाइएको हो , स्रोतले भन्यो, ‘उनको (अधिकारी) चरित्रमाथि पनि प्रश्न उठेको छ ।’
अधिकारीले भने आफूमाथि लागेको आरोप निराधार भएको बताए । ‘म उहाँ (खनाल) अध्यक्ष भएको बेलाको स्वकीय सचिव हुँ, अधिकारीले ओएनएससँग भने,‘अहिले उहाँ अध्यक्ष नभएर दोस्रो वरियताको वरिष्ठ नेतामा हुनुहुन्छ । उहाँको जिम्मेवारीमा हेरफेर भएसँगै मेरो पनि हेरफेर भएको हो ।’ अधिकारीले खनाल अध्यक्षबाट वरिष्ठ नेता भएका कारण आफ्नो जिम्मेवारी हेरफेर भएको बताए ।

खनालका नयाँ स्वकीय सचिव कृष्ण भट्टराईले भने अधिकारीलाई ससम्मानकासाथ सचिवालयबाट विदाई गरिएको बताए । उनीमाथि लागेको आरोपका विषयमा भने आफूलाई जानकारी नभएको बताए । तर, भट्टराईले स्वकीय हुँदा कार्यकर्ताको अधिक गुनासो आउने गरेको बताए ।

खनाल निकट स्रोतका अनुसार अधिकारीले कतिपय गोप्य दस्तावेज भारतीय दुतावासमा पुर्याउने गरेपछि खनाल क्रुद्ध बनेका थिए । आपूm प्रधानमन्त्री हुँदा भारतले सहयोग नगरेको भन्दै खनाल भारतप्रति असन्तुष्ट रहँदै आएका थिए ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेपाल भ्रमणमा आएका बेला एमालेमा खनाल र माधव नेपालले संसदलाई सम्बोधन गरेपछि बाहेक मोदीसँग भेट गरेनन् । खनालले आफ्ना निकटवर्ती मोदीलाई किन भेट्ने ? भन्दै प्रश्न गर्ने गरेका थिए ।


  •  
  •  
  •