संविधानबारे चीन तटस्थ बसेकोमा खनाल खुसी

149
  •  
  •  
  •  

jn
jn

काठमाडौं १७ माघ । संविधान निर्माणमा छिमेकी मुलुक चीन तटस्थ बसेकोमा एमाले बरिष्ठ नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनाल खुसी भएका छन् ।भारतसहित पश्चिमा मुलुकहरुले एमाओवादी नेतृत्वको विपक्षी मोर्चालाई आड दिइरहेको संकेत गर्दै खनालले चिनियाँ नीतिको प्रशंसा गरे । ‘अहिले (संविधान निर्माणमा) कतिपय छिमेकीहरुले उपदेश दिइरहेका छन्,’ काठमाडौंमा शुक्रबार भएको कार्यक्रममा खनालले भने, ‘तर, छिमेकी मुलुक चीनले प्रभुत्व देखाएको छैन । यसकारण म चीनलाई विशेष धन्यवाद दिन चाहन्छु ।’

खनालले नेपालको आन्तरिक मामिलामा हस्तक्षेप नगर्न विदेशी समूदायलाई आग्रह गरे । पुस दोस्रो साताको सुरुवातमा काठमाडौंमा आएका चिनियाँ विदेशमन्त्री वाङ लीले पनि स्पष्ट शब्दमा नेपालमा हस्तक्षेप नगर्ने प्रतिबद्धता जनाएको उनले बताए । ‘उहाँले नेपालको संविधान कस्तो बनाउने, राज्य व्यवस्था कस्तो बनाउने निर्णय नेपाली जनताले गर्छन् भन्नुभयो,’ खनालले चिनियाँ विदेशमन्त्रीको भनाइ सम्झँदै भने ।

खनालले सर्वसहमतिबाट संविधान बनाउने उद्देश्य पूरा हुन नसक्ने उल्लेख गर्दै अधिकतम सहमतिका लागि दलहरु तयार हुनुपर्ने बताए । ‘सकेसम्म हामी सर्वसहमतिका साथ संविधान बनाउन चाहन्छौं, त्यो भएन भने अधिकतम सहमति जुटाउन प्रयास गर्छौं,’ उनले भने, ‘त्यो पनि भएन भने यथेस्ट सहमति बनाउन चाहन्छौं, त्यो भनेको दुई तिहाई हो ।’

खनालले कांग्रेस-एमालेसँग संविधानसभामा ७५ प्रतिशत बहुमत रहेको दाबी गरे । मतभिन्नता रहे पनि दलहरुबीच साझा सहमतिको विन्दु खोजेर अघि बढ्नुको विकल्प नभएको खनालको भनाइ थियो ।

कार्यक्रममा कांग्रेस नेता रमेश लेखकले सत्तारुढ दलले विगतमा भएको सहमति, सम्झौता र परिवर्तनविरोधी संविधान बनाउने कुनै चाहना नराखेको स्पष्ट पारे । ‘कुनै अमुक गाउँ, अमुक ठाउँलाई लिएर सहमतिबाट कोही पनि पछाडि फर्कन मिल्दैन,’ उनले भने ।

मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका महासचिव जितेन्द्रनारायण देवले मुलुकको वस्तुगत अवस्था नबुझ्ने पार्टी र नेता कहिल्यै सफल नहुने बताए । उनले आफ्नो पार्टी नेतृत्वको संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा एक चीन नीतिको पक्षमा रहेको दोहोर्‍याए ।

चिनियाँ राजदूत वु चुन्ताईले आफ्नो मुलुकले नेपालमा शान्ति र स्थिरता चाहेको उल्लेख गर्दै जलस्रोत र पर्यटन विकासलाई प्राथमिकतामा राख्ने बताए ।
कान्तिपुरबाट


  •  
  •  
  •