विपक्षीको आन्दोलन अघि बढ्न सक्दैन : नेता खनाल

217
  •  
  •  
  •  

jn

काठमाडौ, १४ माघ (ओएनएस) : नेकपा एमालेका बरिष्ठ नेता झलनाथ खनालले एमाओवादी नेतृत्वको विपक्षी दलहरुले घोषणा गरेको आन्दोलन अघि बढ्ने नसक्ने ठोकुवा गर्दै आन्दोलनलाई जनताले साथ दिएको भए प्रश्नावली समिति गठन भएकै दिनबाट आन्दोलन सुरु हुनुपर्ने दाबी गरेका छन ।

रिपोर्टर्स क्लब नेपालको विशेष साक्षात्कारमा उनले आन्दोलनको विषयलाई लिएर विपक्षी दलहरु स्पष्ट नभएको दाबी गर्दै विपक्षीले आन्दोलन सुरु गरे जनताले प्रक्रियाको स्वागत गर्दै जुलुस निकाल्ने बताए ।

उनले विपक्षीदलहरु प्रक्रियामा नआए उनीहरुको राजनीतिक अस्तित्वनै समाप्त हुने चेतावनीदिदै आफूहरु अब प्रक्रियाबाट कुनै पनि हालतमा ब्याक नहुने स्पष्ट पारे ।

खनालले भने–‘काग्रेस र एमाले प्रक्रियाबाट पछि हट्दैनन । बाबुराम भट्टराईले सहमति गर्न सकिने भने पछि नियम संगत रुपमा प्रक्रिया सुरु गरिएको हो । यसमा ७५ प्रतिसतको समर्थन छ । अब जस्तो सुकै बाधा आएपनि संविधान बन्छ । प्रक्रियाबाट फर्कनु भनेको विधि र प्रक्रियाको अपमान गर्नु हो ।’

उनले संविधान निर्माणको लागि राष्ट्रिय सरकार समेत बनाउन आफूहरु तयार रहेको स्पष्ट पार्दै मधेसवादी दलहरुलाई सरकारमा ल्याउने तयारी भईरहेको र एमाओवादीले चाहे उसलाई पनि सरकारमा समावेश गरेर राष्ट्रिय सरकार बनाउने बताए ।

यद्यपि खनालले संविधान जारी नहुन्जेलसम्म सुशील कोइरालाको विकल्प नभएको र एमालेको पनि सरकार परिवर्तनको सोच नभएको स्पष्ट पारे ।

न्यायप्रणाली र निर्वाचन प्रणालीमा आफूहरु लचिलो भएको शासकीय स्वरुपमा प्रचण्डले असहमति दर्ज गराएर जान्छौ भनेको अवस्थामा बाँकी रहेको संघीयताको विषयमा छलफल गरेर सहमति निकाल्न सकिने बताए ।

साथै सहमतिको लागि विजयकुमार गच्छदारले ल्याएको प्रस्तावलाई समेत समर्थन गरेको उदाहरण प्रस्तुत गरे । जातीय आधारमा कुनै एक जातीको हुने गरी राज्य विभाजन गर्न नसकिने स्पष्ट पार्दै तराई, पहाड र हिमाल नछुट्टीने गरी संघीयता बनाउने बताए । उनले भने–तराईका जनता पनि अलग्गै राज्य बनाउने पक्षमा छैनन ।


  •  
  •  
  •