काठमाडौं, २३ असाेज (ओएनएस) : सोह्र वर्षअघि बनेकाे पुल जीर्ण बन्दै गएपछि बैतडी र दार्चुलाका जिल्लावासी चिन्तित देखिएका छन्। बैतडी–दार्चुला जोड्ने चमेलिया नदीमा रहेको उक्त पुल जीर्ण बन्दै गएपछि उनीहरु चिन्तित देखिएका हुन्।
उक्त पुल जीर्ण अवस्थामा पुगेपनि मर्मतको पहल नभएको स्थानीय व्यापारी सुरेश श्रेष्ठ बताउँछन् । उनका अनुसार उक्त पुल आर्थिक वर्ष २०५९।६० मा निर्माण भएकाे हाे । उक्त पुल निर्माणसँगै दार्चुला राज्यको सडक मार्गसँग जोडिएको थियाे।
यातायातका साधन यही पुल भएर भित्रिने गरेका छन् । क्षमताभन्दा बढी र ठूला यातायातका साधनका कारण पुल जीर्ण बन्दै गएको हो । वर्खामा पानी पुलमै जम्मा हुने गरेको स्थानीयवासी अमरराज जोशीले बताए । “पानी जम्मा भएका बेला पैदल हिँडडुल गर्नसमेत सकिन्न,” उनले भने ।
बैतडी–दार्चुला सडक आयोजनाले निर्माण गरेको उक्त पुलको अवधि ५÷६ वर्ष मात्रै भएको सडक डिभिजन कार्यालय पाटन, बैतडीका इञ्जिनीयर शङ्कर खनालले बताए । ‘कालोपत्र उप्कदैमा पुल जीर्ण हुँदैन,’ उनले भने सिङ्गल लेन भएको पुलमा एकै पटकमा धेरै गाडी ओहरदोहर गरेका कारण असर पुर्याएको उनको भनाइ छ ।