क्रिकेटमा राजनैतिक हस्तक्षेप गरेकाे भन्दै जिम्बावे निलम्बनमा

166
  •  
  •  
  •  

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् ‘आईसीसी’ले जिम्बावे क्रिकेटलाई निलम्बन गरेको छ ।
लण्डनमा भएको आईसीसी बोर्डको बैठकले क्रिकेटमा राजनैतिक हस्तक्षेप भएको भन्दै निलम्बनको निर्णय गरेको हो ।

आईसीसीले जिम्बावे क्रिकेटलाई दिँदै आएको अनुदान समेत रोकेको छ । साथै अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागिता जनाउन पनि रोक लगाएको छ ।

आईसीसीले तीन महिनाभित्र क्रिकेट सम्वन्धी विवादमा सहमति खोज्न निर्देशन समेत दिएको छ । जिम्बावेको खेलकुद तथा मनोरञ्जन आयोगले त्यहाँको बोर्ड निलम्बन गर्दै तदर्थ समिति बनाएपछि जिम्बाबे क्रिकेटमा विवाद देखिएको थियो ।

यस्तै आईसीसीले क्रोएसिया र जाम्बियाको क्रिकेट बोर्डलाई पनि निलम्बन गरेको छ । मापदण्ड नपुगेको भन्दै मोरक्कोको क्रिकेट बोर्डलाई भने निष्कासन गरिएको छ ।

बैठकले नेपाल क्रिकेट संघ ‘क्यान’को निलम्बन फुकुवाका बिषयमा भने छलफल नगरेको जनाइएको छ ।
२०७३ वैशाखदेखि क्यानमा सरकारी हस्तक्षेप लगायतका कारण देखाउँदै आईसीसीले निलम्बन गरेको थियो ।


  •  
  •  
  •