जीवनकोे मूल्य कति ?

567
  •  
  •  
  •  

बिहानको नित्यकर्म सकेर चियाको चुस्की लिंदै थिएँ । मोबाइलमा नोटिफिकेसन अर्लटको घण्टी बज्यो ।  खोलेर हेर्दा आङ्ग नै जिरिङ्ग भयो ।

मेरो स्कूल पढ्दाको साथीले आत्महत्या गरेछ । एक जना साथीले उसको फोटोमा समवेदना सन्देश लेखेर मलाई पनि ट्याग गरिदिएको रहेछ ।

लक्ष्मी रेग्मी

हिजै मात्र गफ भएको थियो ऊसँग मेरो । पूराना कुरा कोट्याउँदै थियो । मैले उसका कुरालाई त्यति ध्यान दिइन । सायद ऊ मलाई केही भन्न चाहिरहेको थियो ।

“ह्या, कत्ति निराशावादी कुरा मात्र गर्छस् । भोलि कुरा गरौंला । अहिले सुत ।” यतिभनेर मैले फोन काटेको थिएँ । त्यसपछि ऊ कहिल्यै नउठ्ने गरी सुतेछ । अहिले मलाई त्यही कुराले आत्मग्लानी भइरहेछ ।

सायद मैले उसका कुरा सुनिदिएर उसलाई सकारात्मक सल्लाह दिएको भए उसले आत्महत्या गर्नुअघि एकपटक अवस्य सोच्थ्यो होला । कुरा बुझ्दै जाँदा थाहा भयो ऊ डिप्रेसनको शिकार भएको रहेछ ।

बाह्य रुपमा हेर्दा उसलाई डिप्रेसन छ भनेर कसैले अड्कल काट्न सक्दैनथ्यो । सधैं हँसिलो मुद्रामा देखिन्थ्यो । देख्नेलाई उसको जिन्दगी सब ठिकठाक चलिरहेको जस्तो लाग्थ्यो । तर उसको मनभित्र डढेलो लागेको कसैले देखेन । आन्टीलाई छोराको चिना बोकेर पटक पटक ज्योतिषकोमा धाएको देखेको थिएँ ।

त्यता धाउनुको साटो आफ्नो छोरालाई केही समय दिएर वास्तवमा उसले के भन्न खोजिरहेको छ, उसको वास्तविक चाहाना के हो त्यस कुरामा चासो राखेर उसका जायज कुरालाई समर्थन गर्दै नाजायज कुरालाई सकारात्मक तरिकाले सम्झाइ बुझाइ गर्न सक्नुभएको भए यो घटना नघट्न पनि सक्थ्यो किरु यस घटनाले मलाई एउटा महत्वपूर्ण पाठ सिकाएको छ ।

वास्तवमा डिप्रेसन एउटा काठे किरा जस्तो हो जसले मान्छेलाई भित्र भित्रै खाएर खोक्रो बनाइसकेको हुन्छ । हामीलाई त्यस कुराको पत्तै हुँदैन । यो एउटा त्यस्तो अवस्था हो जसले केटाकेटी, वयस्क वृद्धवृद्धा कसैलाई अछुतो राख्दैन । डिप्रेसन हुनुमा मुलतः दुई कारण हुन्छन्ः आन्तरिक र बाह्य ।

अपेक्षित नतिजा नआएर, वैवाहिक सम्बन्धमा खटपट, प्रेम सम्बन्ध, व्यापार घाटा, ऋण तिर्न नसकेर, बेरोजगारी समस्या आदि बाह्य कारणहरु हुन् । यस्तै खालका परिस्थितिका कारण तनाब सिर्जना भई आत्महत्या गरेको होला भनेर अनुमान लगाइन्छ ।

यसैगरी आन्तरिक कारण अन्तर्गत मानसिक परिस्थिति-अवस्था पर्दछ जसमा क्रोध एउटा मूख्य कारक तत्व हो । क्रोध पनि दुई प्रकारका हुन्छन्ः इम्प्लोसिभ र एक्सप्लोसिभ ।

जब कुनै व्यक्तिलाई रिस उठ्छ, ऊ त्यसलाई सहन गर्न नसकेर कसैमाथि एक्सप्लोड (बिस्फोट) हुन्छ । उसको क्रोध एक्सप्लोसिभ हुन्छ र केही क्षण पश्चात त्यो व्यक्ति शान्त हुन्छ । तर समाजमा कतिपय यस्ता व्यक्ति पनि हुन्छन् ।

जसको अन्तरमुखी स्वभाव हुन्छ जो आफ्नो क्रोध, असन्तुष्टी वा फ्रस्ट्रेसन्सलाई आफैँभित्र दबाएर राख्छन् र त्यही क्रोध पछि गएर निराशामा बदलिन्छ ।

मलाई किन यस्तो भयो रु मेरो के गल्ती थियो र रु आदि जुन क्रोधले आफैंलाई भित्रभित्रै खाइरहेको हुन्छ । जुन अभिव्यक्त हुँदैन र अन्ततः व्यक्ति आत्महत्या जस्तो गलत कदम उठाउन पुग्दछ ।

वास्तवमा कुनै समस्याबाट भाग्नको निम्ति आत्महत्या गर्नु भनेको घटिया विकल्प मात्र नभएर कायरताको एउटा पराकास्ठा पनि हो । क्रोध भनेको अन्य व्यक्तिको गल्तीका कारण आफैंलाई सजाय दिनु हो भनेर बुद्धधर्मले ब्याख्या गरेको छ । समस्या कसलाई पर्दैन र ? दुःख छ र त सुखको अनुभुति गर्न पाइन्छ ।

सबै निरोगी भए डाक्टरको के काम रु संसारमा अज्ञानता छ र त ज्ञानको आनन्द लिन पाइन्छ । जगतलाई सन्तुलन कायम राख्नको लागि प्रकृति पनि आफ्नो अनुशासनमा बसेको छ । दिनको उज्यालो पाउनको लागि निस्पट्ट अन्धकारलाई चिर्नैपर्छ ।

हरेक नयाँ दिन एउटा अवसर हो, ईश्वरले हामीलाई दिएको उपहार हो । त्यही जीवनकै लागि त हो नि एउटा क्यान्सरको बिरामी अस्पतालको शैयामा मृत्युसँग लडिरहेको । जीवनको महत्व के हो ती बिरामीलाई थाहा हुन्छ । हामी आफूसँग जे छैन त्यसकै पछि भागिरहन्छौं । रेसको घोडा जस्तो निरन्तर दौडिरहन्छौं ।

हामी यो बिर्सिन्छौं कि दुनियाँमा कति मानिसहरु छन् जो हाम्रो स्थितिमा पुग्ने सपना देख्ने गर्दछन् । त्यसकारण अवास्तविक चाहानाहरु राखेर अरुसँग अस्वस्थकर तुलना गर्नुभन्दा आफैलाई नियाली म के गर्न सक्छु भन्ने विकल्पहरु खोज्दै सकारात्मक बिचारका बिऊ रोप्नु उचित हुन्छ । जसबाट आत्मसन्तुष्टी मिल्छ ।

कसलाई कति अन्याय भयो र कसको कति अपमान भयो भन्ने कुराले खासै अर्थ राख्दैन । किनकी जीवनमा सबैले कुनै न कुनै रुपमा यो भोग्नुपर्छ । तर त्यो चुनौतिलाई हामी आफ्नो कर्मज्ञानले कसरी सामना गर्छौं त्यो कुराले अर्थ राख्छ ।

भोलिको चिन्ताले भयभित भएर आजलाई खेर नफालौं । खुशी रहने अनेक बाहानाहरु छन् तिनको खोजी गरी जीवनलाई सकारात्मक दिशातर्फ उन्मुख गराऔं ।


  •  
  •  
  •