झरी थामिइ सकेपछि…

107
  •  
  •  
  •  

झरेको सालको पात
माकुराको जालमा अल्झिएर
बतासको झोक्काले
बिस्तारै–बिस्तारै बजेजस्तो….

झरी थामिइ सकेपछि
बलेंसीबाट अन्तिम बूँद बर्खा
तप्किएजस्तो….

निर्जन खयरको जंगलमा
कुन्नी कता
बिरानो पन्छीले
कसैलाई बोलाएजस्तो….

हृदयको गुफा भित्र–भित्रै
बिर्सिएर बाटो
जताततै ठोक्किदै बगीरहेको
पहाडी नदीको
सुस्केराजस्तो….

अचानक हत्केलामा खसेको कमीलाझैँ
सुस्तसुस्त हिडिरहेको
आफ्नै आत्माको
पातलो
र मसिनो
पद्चापजस्तो…

तिम्रो आवाज।


  •  
  •  
  •