निर्देशक बन्दै झरना थापा

406
  •  
  •  
  •  

सम्झना गैरे
काठमाडौं, असार २ (ओएनएस) । अभिनेत्री झरना थापाले फिल्म निर्देशन गर्ने भएकीछन् । कलाकारबाट निर्माता हुदै उनले निर्देशकको पगरी गुथ्न थालेकी हुन् । अभिनेत्री रेखा थापाले ‘हिम्मतवाली’ मा निर्देशकको भूमिका निर्वाह गरेको चर्चा चलिरहँदा आफूले पनि फिल्म निर्देशनको जिम्मेवारी निर्वाह गर्ने लागेको झरनाले ओएनएसन्युजलाई जानकारी गराइन् ।

२०५८ सालमा आफ्नै व्यानरमा रिलिज भएको ‘ए मेरो हजुर’ को सिक्वेन्सका रुपमा निर्माण गर्ने तयारी गरिएको ‘ए मेरो हजुर २’ लाई झरनाले निर्देशन गर्ने पक्कापक्की भएको हो । ‘राम्रो कलाकारले फिल्मको सम्पूर्ण जिम्मेवारी निभाउन जानेको हुन्छ,’ फिल्म अभिनयमा ‘दशक’ मनाइसकेकी यी अभिनेत्री भन्छिन्, ‘१८ वर्ष लगातार अभिनय गर्दा धेरै अनुभव संगाले अब यसलाई व्यवहारमा प्रयोग गर्ने बेला आएको छ ।’

झरना फिलिम्स्को व्यानरबाट गोर्खाली, धर्मसंकट, तकदिर, ए मेरो हजुर र फेसबुक जस्ता चलचित्र निर्माण गरिसकेकी झरना पहिलो पटक ‘निर्मातानिर्दशक’को दोहोरो भूमिकामा जम्ने तयारीका लागि गृहकार्य गरिरहेकी छन् । समयानुसार कथा र भूमिकामा परिवर्तन ल्याउन लागिपरेकी उनी ‘ए मेरो हजुर २’ मा सहायक भूमिकमा मात्र देखिने छिन् । ‘राम्रो अभिनय गर्न ठूलो स्पेस चाहिँदैन, म छोटो मिठो भूमिकामा प्रस्तुत हुने तयारीमा छु,’ भन्ने यी अभिनेत्रीले यसपटक भने नयाँ कलाकारलाई ‘प्रमोट’ गर्ने तयारी गरिरहेकी छिन् ।

लभ स्टोरी जेनरमा निर्माण गर्ने लागिएको यस चलचित्रमा अनमोल केसी लगायत केही नयाँ कलाकारले अभिनय गर्ने भएकाछन् । शिवम् अधिकारीको स्क्रिप्ट, बसन्त सापकोटाको संगित रहने फिल्म भदौको अन्तिम साताबाट सुटिङमा जाने भएको छ ।


  •  
  •  
  •