१८ वर्ष ‘अभिनेत्री’का रुपमा झरना

275
  •  
  •  
  •  

सम्झना गैरे
काठमाडौं, १० साउन (ओएनएस) :  उमेर १७ वर्ष, नृत्यको हुटहुटी, त्यहि हुटहुटीले पुर्यायो सूर्यबिनायकको जंगल । तर, अभिनयको ज्ञान भने ‘जिरो’ । निर्देशक दयाराम दाहाल नारी प्रधान चलचित्र ‘दाइजो’ को सुटिङमा व्यस्त थिए । उनलाई ‘को—आर्टिस्ट’ का रुपमा नयाँ अनुहार चाहिएको थियो । संयोगले फेला परिन् प्युठानकी कलिली झरना । ‘रहरैरहरले नसोचेको क्षेत्रमा पुर्यायो’ भन्दै १८ बर्षपछि राजधानीको एक कफीसपमा ओएनएससँग गफिदै उनले भनिन्, ‘संयोगले सानै उमेरमा बाटो पहिल्याएँ ।’

‘दाइजो’ सिनेमाबाट अभिनय यात्रा सुरु गरेकी झरनाले लगत्तै निर्माता सुनिल थापासँग विवाह गरिन् । अरु फिल्ममा काम गर्ने रहर उनमा के पलाउदै थियो, पेटमा आईन, छोरी सुहाना । परिवारको सहयोग र समझदारीले उनलाई छोरीको हुर्काइसँगै सिनेमामा फर्कायो । ‘श्रीमानको साथले मलाई अभिनयमा निरन्तरता दिन मद्दत मिल्यो । सासुआमा हाम्रो सामु हुनुहुन्न तर, उहाकै देनले मलाई नेपाली सिनेमाको इतिहाभित्र सुरक्षित बनाएको छ’, भन्ने झरनालाई आज पछाडि फर्केर हेर्दा केही गरेजस्तो अनुभुती हुन्छ ।

Jharana-Thapa-6

झन् छोरीको प्रेरणाको पात्र बन्न पाउनु उनका लागि ठुलो उपलब्धी बनेको छ । ‘सबैको मम्मी तपाई जस्तै भइदिउन्’, एकदिन छोरीले एक्कासी यसो भन्दा उनमा खुसीको सीमा रहेन र सोचिन्, ‘यति लामो अभिनय यात्रामा म माथि कहिल्यै गसिप बनेन, सिनेमाको व्यवसायमा सँधै सुरक्षित यात्रा गर्दै आएको फल आज आफ्नै सन्तानले दियो ।’

उनीसँग आज १०० सिनेमाको अभिनय इतिहास छ । हरेक भुमिकामा आफूलाई अब्बल सावित गर्न पछि परेकी छैनन् । उमेरले बेलाबेलामा झस्काउछ, तर जोस भने उस्तै छ । आफूभन्दा दोब्बर साना अभिनेतासँग उनको ‘केमेष्ट्री’ आज पनि जम्छ । कतिले त भन्छन्, ‘छोरी हिरोइन बन्नेबेला भयो अव तपाई बनेको सुहाउँदैन ।’ उनी तार्किक जवाफ फर्काउछिन्, ‘अभिनयको कुनै उमेर हुदैन, समयानुसार भूमिकामा परिवर्तन आउला तर, मेरो जीवन कलाकारिताविहिन हुनै सक्दैन ।’

प्रेरणाको स्रोत दिलिपको अभिनय

झरना अभिनेत्री बनिन्, निर्माता बनिन् र अब निर्देशक बन्ने तयारीमा छिन् । तर पहिलोपटक दिलिप रायमाझीले गरेको मनछुने अभिनयको दृश्य उनको मानसपटलमा आजपनि ताजै छ । पोखरामा शिव रेग्मीको निर्देशनमा ‘पाहुना’ फिल्मको सुटिङमा हुदै थियो । सटमा थिए दिलिप रायमाझी र करिश्मा मानन्धर । अस्पतालमा श्रीमती मर्दाको सिनमा दिलिपले गरेको ‘रियल’ अभिनयले उनलाई छोयो र बुझिन्, ‘चरित्रलाई जीवन्तता दिन सक्नुनै कलाकारको जीत हो ।’ र त्यो दिन अभिनय यात्राको टर्निङ प्वाइन्ट बन्यो । प्रण गरिन्, ‘अबदेखि सिरियस भएर काम गर्छु ।’ दिलिप नेपाली सिनेमाबाट छाँयामा पर्दै गए । झरनाको ‘मार्केटभ्यालु’ बढ्दै गयो । आज पनि भेटमा उनी दिलीपलाई त्यो क्षण सम्झाउँछिन् ।

परिवार र सिनेमा

सिनेमामा राम्रो अभिनय गर्नुभन्दा परिवार सम्हाल्नु झरनाका लागि ठुलो चुनौती थियो । तर समझदारी र संयमताका साथ उनले सबैको मन जितिन्, र बनिन् परिवारकै प्यारी सदस्य । श्रीमानकी ‘पियारी’ र सासु ससुराको प्रिय बुहारी बन्न समय लागेन । ‘सकारात्मक सोच राख्न सके सबै आफै मिल्दै जान्छ’ भन्ने उनलाई लाग्छ, ‘समझदार श्रीमान भयो भने जस्तोसुकै अवस्थामा परिवार एकजुट हुन्छ ।’ आजभोली घर सम्हाल्न उनलाई छोरीले पनि सघाउँछिन् । पढाइमा समय दिनुपर्ने छोरीले ‘मम्मी तपाई आफ्नो काम नबिगार्नुस्’ भनिदिँदा झरनालाई अझै हौसला मिल्न थालेको छ ।

सिनेमामा फड्को

झरना नेपाली सिनेमामा भित्रिँदा ‘रोनाधोना’ फिल्मले बजार तताएको थियो । उनलाई पनि नेपाली दर्शकले रोनाधोनामै रुचाए । सोझी गाउले चरित्रमा पीडित पात्रको भूमिका गर्दैगर्दा सफल अभिनेत्रीको दौडाइमा उनको स्थान सुरक्षित बन्न थाल्यो । तर समयसँगै सिनेको कथा बदलियो, चरित्रमा परिवर्तन आउन थाल्यो ।

समयसँगै बदलिएको नेपाली सिनेमाको टे«न्डमा झरना पनि यसरी बदलिइन् कि, हरेक भूमिका, अभिनय र गेटअपमा आफूलाई अब्बल सावित गरिन् । आज उनी गर्भका साथ यसो भन्न सक्ने भएकी छन्, ‘नेपाली सिनेमामा यती धेरै भूमिकामा अभिनय गर्ने नायिका सायद म नै हु ।’ उनलाई सिनेमामा आएको परिवर्तन चित्त बुझेको छ तर, कलाकारको ‘मार्केटभ्यालु’ घटेकोमा उनी चिन्तित छिन् । ‘जो पनि कलाकार, जसले पनि सिनेमा बनाउने, जस्तो पनि सिनेमा बन्दा कलाकारलाई हेर्ने नजरिया बदलिएको छ ।’ उनी दुःखका साथ भन्छिन्, ‘आज सबै सुविधा छ, तर कथा र अभिनयका हिसाबले पुराना नेपाली फिल्मनै दमदार छन् ।’

jharana thapa 1

सामान्यबाट विशेष बन्दा

प्युठानकी सामान्य झरना नेपाली सिनेमामा ‘विशेष’ बनिन् । तर सामान्यबाट विशेषको यात्रामा उनले गुमाउनुभन्दा धेरै पाएकी छन् । ‘परिवारलाई समय दिन नपाउँदा मन दुख्छ । आफ्नो आफन्तसँग सम्बन्ध टाढिएको छ । सबैको अगाडि स्वार्थी बन्नु परेको छ’, भन्ने उनलाई नेपाली सिनेमाको इतिहासमा आफ्नो स्थान सुरक्षित गर्न सकेको खुसिले सबैकुरा बिर्साएको छ । तर पनि उनलाई खुल्ला भएर उड्न मन लाग्छ, अनि झस्किन्छिन्, ‘म त सेलिब्रेटी पो त ।’ सामान्य जीवनशैलीमा एक्कासी आएको परिवर्तन सुरुमा त उनका लागि सहज थिएन । अब उनी अभ्यस्त हुन थालेकी छन् । गोर्खाली, मुग्लान, धर्मसंकट, तकदिर, म तिमीबिना मरिहाल्छु, ए मेरो हजुर, कहाँ छौ कहाँ जस्ता सिनेमामा जीवन्त अभिनय गरेकी झरनाले भागवत गितामा भगवान श्रीकृण्णले भनेजस्तै ‘कर्मयोद्धा’ बन्न सिकिसकिन् ।


  •  
  •  
  •