निजी घरमा पनि राष्ट्रिय झण्डा राख्न पाइने

308
  •  
  •  
  •  

काठमाडौं । अबदेखि निजी घरमा पनि राष्ट्रिय झण्डा राख्न पाइने भएको छ ।  सरकारले ‘राष्ट्रिय झण्डा र राष्ट्रिय गानको प्रयोग सम्बन्धी कार्यविधि २०६९’ परिवर्तन गरेर यस्तो व्यवस्था गरेको हो ।
परिवर्तित कार्यविधिअनुसार, अब निजी घरमा पनि राष्ट्रिय झण्डा राख्न पाइनेछ ।

संविधान दिवस मूल समारोह समिति अन्तर्गत गठित प्रचारप्रसार उपसमितिको बुधबार बसेको बैठकमा कार्यविधि परिवर्तनबारे जानकारी गराइएको हो ।

संविधान दिवस तथा राष्ट्रिय दिवसमा हातहात र घरघरमा राष्ट्रिय झण्डा फहराइन कार्यविधि नै परिवर्तन गरिएको हो । तर, प्लाष्टिकको झण्डा बनाउन भने नपाइने भएको छ । झण्डा कपडा वा कागजको हुनुपर्ने निर्देशिकामा उल्लेख गरिएको छ । झण्डालाई सम्मानपूर्वक प्रयोग गरी टिसर्टका रुपमा पनि लगाउन पाइने प्रबन्ध गरिएको छ ।

सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाको अध्यक्षतामा गठित उपसमितिले संविधानबारे विशेष सामग्री प्रकाशन, प्रसारण गर्न सबै सञ्चारमाध्यमलाई आग्रह पनि गरेकोे छ ।

संविधान दिवसमा घरघरमा राष्ट्रिय झण्डा

यस वर्ष संविधान दिवसमा घरघरमा राष्ट्रिय झण्डा फहराइने भएको छ । राष्ट्र, राष्ट्रियता, लोकतान्त्रिक आन्दोलन र संविधानप्रति नयाँ पुस्तामा समेत जागरण पैदा गर्ने उद्धेश्यले घरघरमा राष्ट्रिय झण्डा फहराइने भएको हो ।

दिवसको मूल समारोह समितिअन्तर्गत गठित प्रचारप्रसार उपसमितिको बैठकमा राष्ट्रिय झण्डा र राष्ट्रियतालाई केन्द्रमा राखी संविधानको महत्व झल्काइने जनाइएको छ ।

२०७२ असोज ३ गते संविधान जारी भएको दिनलाई राष्ट्रिय दिवसका रुपमा मनाइन्छ ।
बैठकमा मन्त्री गोकुल बाँस्कोटाले संविधान दिवस भव्यताका साथ मनाउनका लागि आ–आफ्नो ठाउँबाट योगदान दिन सबैलाई आग्रह गरे ।

उनले सरकारले संविधान दिवस भव्यताका साथ मनाउनका लागि सार्वजनिक बिदा दिएको भन्दै सबैको अर्थपूर्ण सहभागिताको अपेक्षा आफूले गरेको बताए ।

संविधान दिवस अन्र्तगत गरिने कार्यक्रमहरुमा राष्ट्रसेवक कर्मचारी, सरकारी संघ–संस्था, निजी क्षेत्रका संघ–संस्थालगायत सबै वर्ग र क्षेत्रको अर्थपूर्ण सहभागिता हुने उनले आग्रह गरे ।

उनले भने, ‘त्यो दिन तास खेल्नका निम्ति, पिकनिक खानका निम्ति, बियर खानका निम्ति, गलफ्रेण्ड लिएर हिँड्नका निम्ति, ब्वाईफ्रेण्डलाई भेट्न जानका निम्ति दिएको होइन । फाइनल कुरा यही हो । सिधा सिधा । राष्ट्रिय दिवस नै मनाउन दिएको हो ।’

मन्त्री बाँस्कोटाले संविधान दिवसलाई कर्मकाण्डीभन्दा भिन्न रुपमा सबै वर्ग विशेषको सहभागिता हुनेगरी हर्षाेल्लासपूर्ण रुपमा मनाउनका लागि सिर्जनात्मक कार्यक्रमहरुको नमुना सुझाउन पनि सरोकारवालाहरुलाई आग्रह गरे ।


  •  
  •  
  •