खनाल, नेम्वाङ र गुरुङले गरे मतदान

  •  
  •  
  •  

इलाम, २१ मंसिर (ओएनएस) : पूर्वप्रधानमन्त्री एवं एमालेका वरिष्ठ नेता झलनाथ खनालले सूर्योदय नगरपालिका–९ रम्फोकस्थित राष्ट्रिय आधारभूत विद्यालय केन्द्रबाट मतदान गरेका छन् । खनाल इलाम क्षेत्र नं १ का प्रतिनिधि सभा उम्मेदवार हुन् ।

पूर्वसभामुख तथा इलाम क्षेत्र नं २ का उम्मेदवार सुवास नेम्वाङले सदरमुकामस्थित बालमन्दिर मतदान केन्द्रबाट मतदान गरेका छन् ।

नेपाली काँग्रेसका पूर्वमहामन्त्री कुलबहादुर गुरुङले पनि इलाम सदरमुकामस्थित बालमन्दिर मतदान केन्द्रबाट मतदान गरेका छन् ।

प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि जिल्लाका दुई लाख चार हजार ४६ जना मतदाता छन् । जिल्लामा १४४ मतदानस्थलमा २६६ मतदान केन्द्र तोकिएका छन् । मतदानस्थलमा सबै मतदाताका लागि सुरक्षित र भयरहित तवरले मतदान गर्ने व्यवस्था मिलाइएको मुख्य निर्वाचन अधिकृत कृष्णप्रसाद सुवेदीले बताए ।

मतदानपछि खनाल र नेम्वाङको प्रतिक्रिया
खनालले आजको निर्वाचन ऐतिहासिक निर्वाचन भएको बताए । मतदान गरेपछि संक्षिप्त कुरागर्दै उनले निर्वाचन संविधान कार्यान्वयनको महत्वपूर्ण उपलब्धि भएको बताए ।

प्रदेशसभा र प्रतिनिधिसभाको निर्वाचनपछि देश विकास निर्माण र आर्थिक समृद्धिको बाटोमा उन्मुख हुने उनको भनाइ छ । आफ्नो निर्वाचन क्षेत्रमा करिब १० हजार मतान्तरले आफूले विजयी हासिल गर्ने उनले दाबी गरे ।

त्यस्तैगरी पूर्वसभामुख नेम्वाङले मतदाताले इलाम क्षेत्र नं २ बाट आफूलाई विजयी गराउने बताए । नेम्वाङले संविधानको सफल कार्यान्वयनको यो निर्वाचन निक्कै महत्वपूर्ण र ऐतिहासिक उपलब्धिमा रहेको प्रतिक्रिया दिए ।


  •  
  •  
  •