स्थानीय तह निर्वाचनः देशका विभिन्न ठाउँमा झडप

68
  •  
  •  
  •  

काठमाडौं । मतदानका क्रममा बाराको देवताल गाउँपालिका वडा ७ मा झडप भएको छ । दुई पक्षबीच विवाद हुँदा झडप भएको हो ।

झडपका क्रममा १ जनाको टाउको फुटेको बताइएको छ । झडपलाई नियन्त्रणमा लिन प्रहरीले अश्रुग्यास प्रहार गरेको छ । झडपपछि मतदान रोकिएको छ ।

दोलखाको वैतेश्वर गाउँपालिकाका वडा नम्बर १, २ र ३ को स्थिति तनावपूर्ण बनेको छ । बुथ कब्जा गर्ने प्रयास भएपछि ढुङ्गामुढा र झडपको अवस्था भएको हो ।

अवस्था तनावपूर्ण बनेपछि तीनवटै वडामा मतदान हुन नसकेको वैतेश्वर गाउँपालिकाका निर्वाचन अधिकृत वशिष्टकुमार घिमिरेले जानकारी दिए ।

अवस्था नियन्त्रणमा लिनका लागि सुरक्षाकर्मी परिचालन गरिएको र थप सुरक्षाकर्मी गइरहेका उनले बताए ।

स्थिति नियन्त्रणमा लिन केही राउन्ड हवाई फायरसमेत भएको निर्वाचन अधिकृत घिमिरेले जानकारी दिए ।

हुम्लाको चङ्खेली गाउँपालिका वडा नम्बर २ मा रहेको मतदान केन्द्रमा झडप भएपछि मतदान रोकिएको छ । गठबन्धन र स्वतन्त्र पक्षबीच झडप भएपछि मतदान रोकिएको हो ।

झडपमा मतदान अधिकृत कृष्णप्रसाद आचार्यसहित दुई जना घाइते भएका हुम्लाका जिल्ला निर्वाचन अधिकारी मुक्तिनन्द रावलले जानकारी दिए । प्रहरीले अश्रुग्यास प्रहार गरेको छ ।

सोलुखुम्बुको सोलु दूधकुण्ड नगरपालिका वडा नम्बर १ को हेवामा रहेको दूधकुण्ड आधारभूत विद्यालयको मतदान स्थलमा मतपेटिका चर्किएका कारण मतदान सुरु हुन सकेको छैन ।

मतपेटिका चर्किएको भेटिएपछि मतदान सुरु नभएको र त्यहाँ अर्को मत पेटिकाको व्यवस्था गर्ने प्रयास भइरहेको सोलुखुम्बुका प्रमुख जिल्ला अधिकारी अनिल खनालले जानकारी दिए ।


  •  
  •  
  •  

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here