चिनियाँ सैनिकसँगको झडपमा तीन भारतीय सैनिकको मृत्यु

274
  •  
  •  
  •  

काठमाडौं । भारत–चीनको सीमा क्षेत्र लद्दाखमा दुई देशका सेनाबीच झडप हुँदा ३ भारतीय सैनिकको मृत्यु भएको छ ।
बीबीसी हिन्दीका अनुसार भारतीय सेनाले भारत–चीन सीमामा सोमबार राति भिडन्त हुँदा एक वरिष्ठ सैन्य अधिकारी र दुई सैनिकको मृत्यु भएको पुष्टि गरेको छ।

सेनाका अनुसार दुई देशका वरिष्ठ सैन्य अधिकारीहरू विवाद समाधान गर्न वार्ता गर्दैछन्। केही समययता लद्दाखको गलवान क्षेत्रमा चिनियाँ सेना प्रवेश गरेपछि विवाद बढेको भारतले जनाएको छ ।

भारत र चीनबीच सीमामा लामो समयदेखि तनाव हुँदै आएको छ। तर धेरैपछि सैनिकको मृत्यु हुनेगरी सङ्घर्ष भएको हो।चीनले भारतलाई तनाव बढ्ने गरी कुनै काम नगर्न आह्वान गरेको समाचारसंस्था रोएटर्सले जनाएको छ।

भारत र चीनबीच सन् १९६२ मा युद्ध भएको थियो। त्यसमा भारत नराम्ररी पराजित भएको थियो। चीनले आफ्नो ३८,००० वर्ग किलोमिटर क्षेत्र ओगटेको भारतको आरोप छ।

सीमाबारे दुई पक्षले तीन दशकमा पटकपटक वार्ता गरेका भए पनि कुनै समाधान फेला पारेका छैनन्।


  •  
  •  
  •