ज्येष्ठ नागरिकलाई ५० प्रतिशत छुट दिन आनाकानी गर्नुहुन्न : पयर्टनमन्त्री 

236
  •  
  •  
  •  

भरतपुर । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले ज्येष्ठ नागरिकलाई ५० प्रतिशत छुट दिने सरकारको घोषणा कार्यान्वयन गर्न निजी विमान कम्पनीहरुले आनाकानी गर्न नहुने बताएका छन् ।

बिहीबार भरतपुरमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले पाप र धर्मको ख्याल राखेर भए पनि आन्तरिक हवाई उडानमा छुटको घोषणा कार्यान्वयन गर्नुपर्ने स्पष्ट पारे ।

विमान कम्पनीहरुले नै सामाजिक उत्तरदायित्वअन्तर्गत यस्तो घोषणा गर्ने अपेक्षा राखेको भन्दै मन्त्री भट्टराईले जेष्ठ नागरिकको सम्मान राज्य र निजी क्षेत्र दुबैले गर्नुपर्ने बताए ।

यसअघि गत सोमबार मन्त्री भट्टराईले आफ्ना वार्षिक योजना सार्वजनिक गर्दै सरकारले ७० वर्ष उमेर कटेका नागरिकलाई आन्तरिक हवाइ उडानमा ५० प्रतिशत छुट दिने घोषणा गरेका थिए ।
यस्तै मन्त्री भट्टराईले नेपाल भ्रमण वर्ष २०२० लाई सफल बनाउनका लागि विमानस्थल स्तरोन्नतीको कामलाई तिव्रता दिने बताए ।

आन्तरिक तर्फको भाडादर निक्कै महंगो भएको गुनासो आएकाले समायोजनको तयारी भैरहेको जानकारी पनि उनले बताए ।

मन्त्री भट्टराईले भरतपुर विमानस्थलको स्तरोन्नती गरिने बताए । काठमाडौं बाहिरको वैकल्पिक विमानस्थलको रुपमा भरतपुरमा पूर्वाधार तयार गरिने उनको भनाइ थियो ।

नेकपा अध्यक्ष प्रचण्डको उपस्थितिमा तत्कालै सर्वपक्षीय छलफल बस्ने तयारी भईरहेको जानकारी दिँदै विमानस्थललाई व्यवस्थित बनाउने सिलसिलामा विमानस्थल नजिकै रहेको नेपाली सेनालाई सम्मानजनक रुपमा सिफ्ट गर्ने विकल्प पनि रहेको उल्लेख गरे ।

भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले यसअघि भएका विभिन्न प्रयासका बारेमा व्रिफिङ गरेकी थिइन् । उनले लुक्लापछिको दोस्रो जोखिमपूर्ण विमानस्थलका रुपमा रहेको भन्दै यस्लाई चाँडैनै सुधारका लागि कदम चाल्नुपर्ने जोड दिइन् ।


  •  
  •  
  •