जर्मन चान्सलर एंगेला मर्कल क्वारन्टीनमा

125
  •  
  •  
  •  

एजेन्सी । कोरोनाभाइरस(कोभिड–१९) को महामारी फैलिन नदिन जर्मनीमा घर तथा कार्यालयबाहेक अन्यत्र दुई जनाभन्दा धेरै जम्मा हुन नपाइने नियम लागु भएको छ ।

चान्सलर एंगेला मर्कलको सम्पर्कमा आएका एक चिकित्सकलाई कोरोनाभाइरस संक्रमण भएको पाइएपछि उनी पनि क्वारान्टीन अर्थात् एकान्तवासमा गएको उनका प्रवक्ताले बताएका छन् ।

जर्मनीले कोरोनाभाइरस प्रकोप नियन्त्रणका निम्ति सामाजिक अन्तक्र्रियाहरूमा थप रोक लगाउँदै दुई जनाभन्दा धेरैको सार्वजनिक जमघटमा प्रतिबन्ध लगाएको बीबीसीले जनाएको छ ।

टेलिभिजनमा प्रसारित सम्बोधनमा चान्सलर मर्कलले संक्रमणको दर घटाउन आफ्नै व्यवहार सबभन्दा प्रभावकारी माध्यम भएको बताइन् ।

उनले घोषणा गरेका नियमहरूअनुसार केशशृंगार गृह एवम् ब्यूटी तथा मसाज पार्लर पनि बन्द हुनेछन् । अन्य अनावश्यक पसलहरू यसअघि नै बन्द गराइएका थिए ।

एंगेला मर्कलले सम्बोधन गरेको केही समयपछि उनको कार्यालयले उनी स्वयम् क्वारन्टीनमा बस्ने बताएको छ ।शुक्रबार उनलाई न्युमोनियाको खोप दिएका एक चिकित्सकमा कोरानाभाइरस संक्रमण पाइएपछि उनी क्वारन्टीनमा बस्नुपरेको हो ।

उनको नियमित जाँच गरिने र उनले घरबाटै काम गर्ने मर्कलका प्रवक्ताले बताए । उनी ६५ वर्षकी छन् । युरोपको सबभन्दा ठूलो अर्थतन्त्र जर्मनीमा हालसम्म कोरोनाभाइरस संक्रमणका १८,६१० घटना पाइएका छन् ।उक्त भाइरसको संक्रमणबाट लाग्ने रोग कोभिड–१९ ले त्यहाँ ५५ जनाको ज्यान गइसकेको छ ।


  •  
  •  
  •