एजेन्सी । जर्मन बुन्डेसलिगामा बायर लिभरकसेनमाथि २–१ को जित हासिल गरी बायर्न म्युनिखले शीर्ष स्थानमा २ अंकको अग्रता बनाएको छ । लिभरकसेनले अग्रता जोगाउन नसक्दा पराजित हुनुपरेको हो । १४ औं मिनेटमा प्याट्रिक चिकले गोल गरी अग्रता दिलाए पनि ४३ औं मिनेटमा रोवर्ट लेवान्डोस्कीले बराबरी गोल फर्काए ।
उनैले खेलको इन्ज्यूरी समयमा गोल गरी टिमलाई महत्वपूर्ण ३ अंक दिलाएका हुन् । लेवान्डोस्कीले यसै साता क्रिष्टियानो रोनाल्डो र लियोनल मेस्सीलाई पराजित गरी फिफा उत्कृष्ट खेलाडीको अवार्ड जितेका थिए ।
जितपछि बायर्नको १३ खेलबाट ३० अंक भएको छ । दोस्रो स्थानमा रहेको लिभरकसेनको समान खेलबाट २८ अंक छ ।