यसकारण मैले एसिड हानेँ : जीवन विक 

337
  •  
  •  
  •  

एसिड काण्डका बन्दी जीवनसँग अन्तर्वार्ता लिन हामी हनुमानढोका पुग्यौँ । प्रहरी सहयोगमा हामीले जीवनसँग डेढ घन्टा संवाद गर्‍यौं । डेढ घन्टासम्म उनी धाराप्रवाह बोले । उनले तीन जना प्रहरीको घेराभित्र हामीलाई अन्तर्वार्ता दिएका हुन् । कुराकानीका क्रममा उनी बेलाबेला भावुक बने ।

अचम्मलाग्दो कुरा त, डिप्रेसनका बेला प्रयोग गरेका औषधि, एकपटक भेटेका प्रहरी कर्मचारीका नाम उनले फरर्र सुनाउँथे । उनी बोल्दै जाँदा बीचबीचमा हामीले ‘त्यसपछि’ भन्नेबाहेक अरु प्रश्न सोध्नुपरेन । प्रस्तुत छ, जीवन विकसँग खबरडबलीका लागि सुदीप विश्वकर्मा र सरिता कार्कीले गरेको कुराकानीको सम्पादित अंश :

०००

हाम्रो परिवार ०६९ मा न्युरोडबाट वसन्तपुर डेरा सरेको हो । हामी सरेको घरमा पहिलेदेखि नै संगीताको परिवार भाडामा बस्थ्यो । उनीहरू पहिलो तला र हामी तेस्रो तलामा बस्थ्यौँ । संगीताका आमाबुबा क्याटरिङमा काम गर्छन् । हाम्रो न्युरोडमा चिया पसल छ । बाआमाले चलाउनुहुनछ । मैले बाआमालाई सघाउँथेँ ।

संगीतालाई उनकी आमाकै आग्रहमा मैले म्याथ, साइन्स, इंग्लिस पढाउँथेँ ।

मेरो पढाइ राम्रै थियो । आफ्नै संघर्षमा पढेको हुँ । कोपुन्डोलमा रहेको प्रगति शिक्षा सदन उच्च माध्यमिक विद्यालयबाट एसएलसी र प्लस टु गरेँ । एसएलसीमा ७०.७५ र प्लस टुमा ५८ प्रतिशत ल्याएको छु । मैले कोपुन्डोलमा अञ्जली केसीको घरमा दुई वर्ष भाँडा माझेँ । अञ्जली दिदी डीआईजी नवराज सिलवालका भाइ कर्नेल सुदर्शन सिलवालकी आफन्त भन्ने सुन्थेँ ।

सुरुमा संगीतालाई भेट्दा उनको केही बानी मलाई मन परेको थिएन । उनी सधैँजसो बेलुकातिर घरबाहिर निस्कन्थिन् । कहिलेकाहीँ एक जना दिदीसँग छ्याङ पनि खान्थिन् । उनलाई डेढ महिना निःशुल्क पढाएँ । ट्युसन पढाउने क्रममा नै हाम्रो प्रेम बस्यो । स्कुलबाट फर्केपछि उनी मेरो कोठामा आउँथिन् । हामीले बिहानको बाँकी खाना भुटेर खान्थ्यौँ ।

हामी नजिकिएको संगीताको १५ वर्षीय भाइ सन्तोष मगरलाई थाहा भयो । सन्तोष पनि राम्रो बाटोमा थिएन । चुरोट, गाँजा, ड्रग्स सबै प्रयोग गर्थ्यो। उसले मसँग पैसा माग्थ्यो । नदिए मेरो र संगीताको सम्बन्ध आमाबुबालाई भन्दिन्छु भन्थ्यो ।

दिउँसोको ३ बजेको हुँदो हो । एक दिन सधैँ झैँ उनी मेरो कोठामा आइन्, हात समाइन्, नजिकै बसिन् । उनको नजर टेबलमा रहेको नागरिकतामा पर्‍यो, जसमा लेखिएको थियो- जीवन विक । ‘विक भनेको के जात हो’ भनेर सोधिन् । मलाई मेरो मायामा विश्वास थियो– निर्धक्क भनिदिएँ, विश्वकर्मा अर्थात् कामी । एकाएक उनको अनुहारमा परिवर्तन आयो ।

संगीताको परिवारलाई मैले आफ्नो जात ढाँटेको थिएँ, जीवन खड्का भनेर । जात ढाँटेर सामाजिक प्रतिष्ठा पाउँछु भने किन नढाँटुँ ?

हाम्रो चिया पसल भएकाले पनि हामी माथिल्लै जात हुनुपर्ने संगीताको विश्वास रै’छ ।

दिउँसोको ३ बजेको हुँदो हो । एक दिन सधैँ झैँ उनी मेरो कोठामा आइन् । हात समाइन्, नजिकै बसिन् । उनको नजर टेबलमा रहेको नागरिकतामा पर्यो, जसमा लेखिएको थियो— जीवन विक । सुरुमा उनले विक भनेको के जात हो भनेर सोधिन् । मलाई मेरो मायामा विश्वास थियो । निर्धक्क भनिदिएँ, विश्वकर्मा अर्थात् कामी । एकाएक उनको अनुहारमा परिवर्तन आयो । मलाई यो बुझ्न गाह्रो भएन, उनलाई मेरो जात मन परेन । लगत्तै हामीबीच जातबारे कुरा पनि भयो । मैले भनेँ, ‘जातको के कुरा भो र ? म जे जात भए पनि तिमीलाई माया गर्छु ।’

तर, उनले मेरो कुरा खाइनन् । मलाई जीवन खड्का ठानेर मात्रै प्रेम गरेको जस्तो गरिन् । जीवन विक भनेर थाहा पाएको भए नगर्ने जस्तो उनको कुरा थियो ।

संगीताले हाम्रो परिवार तल्लो जात भएको आफ्नी आमालाई सुनाइछन् । साँझपख संगीताकी आमा चमेली मगर हाम्रो कोठामा आइन् । र, अरु केही कुरा नगरी तथानाम गाली गर्न थालिन्, ‘तँ कामी–दमाई भएर कामी दमाईकै ठाउँमा बस् । मेरो छोरीसँग धेरै हेलमेल नगर् ।’ उनले जात छोएर मात्रै गाली गरिन् ।

मैले उनकै आग्रहमा संगीतालाई पढाउन थालेको थिएँ । म जीवन खड्का हुँदासम्म कुनै समस्या थिएन । जब म जीवन विक भएको थाह भयो, अनि समस्या सुरु भयो ।

उनले जात छोएर गाली गरेको मलाई मन परेन । यस्तै समस्या हुन्छ भनेरै मैले जात ढाँटेको थिएँ । तर, यति साह्रै होला भन्ने मैले सोचेको थिइनँ । त्यस रात संगीताकी आमाको गालीले म रोएँ ।

मैले संगीताको आमाकै आग्रहमा संगीतालाई पढाउन थालेको थिएँ । म जीवन खड्का हुँदासम्म कुनै समस्या थिएन । जब म जीवन विक भएको थाह भयो, अनि समस्या सुरु भयो । उनले जात छोएर गाली गरेको मलाई मन परेन । यस्तै समस्या हुन्छ भनेरै मैले जात ढाँटेको थिएँ । तर, यति साह्रै होला भन्ने मैले सोचेको थिइनँ ।

एक दिन पसलमा बाआमालाई सघाएर म साँझ ७ बजेतिर कोठामा आइपुगेँ । घरभित्र छिर्नेबित्तिकै बेस्सरी गाँजा गन्हायो । उकुसमुकुस नै बनायो ।  म कराएँ, ‘कसले गाँजा खायो यहाँ ? खानै परे बाहिर गएर खाए हुन्थ्यो ।’
यति भनेर म ट्वाइलेट गएँ । ट्वाइलेटको ढोकामा कसैले जोडले हान्यो, ढोकै फुट्लाजस्तो गरी । ढोका खोलेँ । ढोका हान्ने संगीताको भाइ सन्तोष रैछ । उसले मेरो कठालोमा समात्यो । ‘बढी हिरो बन्छस् ? मैले खाको हो गाँजा । तेरो बाउको सम्पत्ति खाको हैन ।’ भन्दै कुट्न थाल्यो ।

यत्तिकैमा अर्को मान्छे आयो, त्यही घरमा बस्ने सुदन देवकोटा । दुईजना मिलेर मलाई कुटे । मैले सक्नेजति प्रतिकार गर्दै थिएँ । त्यसपछि संगीता, उनका आमाबुबा पनि थपिए । मलाई कुट्दै बाहिर चोकसम्म ल्याए । मैले प्रतिकार गर्न सकिनँ । उनीहरुले मलाई कुट्न छाडेनन् । चोकमा मानिसको भीड थियो । उनीहरुले मलाई नांगेझार बनाएर कुटे । मेरो ज्याकेट, टिसर्ट च्यातियो ।

झगडा थाहा पाएर मेरो बुवा आउनुभयो । छोरो बेसरी कुटिएको देखेपछि कराउन थाल्नु भो, ‘किन कुटेको मेरो छोरालाई ?’ त्यही बेला संगीताले मेरो बुवालाई दुई पन्च नाकमा हानी । संगीताले त्यतिबेला कराते सिक्दै थिई । उसको पन्चले बुवाको नाकबाट रगतको धारा बग्न थाल्यो ।

फेरि पनि घटनालाई सामान्य बनाउन संगीताकी आमा अघि सरिन् । उनले ‘छोरै सम्झेर दुई–चार झापड हानेँ, अब मिल्नुपर्छ’ भनिन् । तर, चोकमा नांगेझार बनाएर पिटेको मैले सहन सकिनँ ।

पुलिसलाई फोन गरेँ । पुलिस तत्कालै आएन । त्यसपछि म त्यहाँबाट भागेँ । नत्र थप कुटिन सक्थेँ । वसन्तपुर पुगेपछि तीनजना पुलिस देखेँ ।

उनीहरू मैले नै फोन गरेर आएका रैछन् । त्यसपछि म पुलिससँगै फर्कें । पुलिसले सन्तोष र मलाई लिएर गयो । अनि, मलाई एकरात पुलिस थानामा थुनियो । जीवनमा पहिलोपटक म पुलिस खोरमा परेँ । मैले सोचेको थिएँ— म पीडित हुँ, मलाई सोधपुछ गरेपछि छाडिन्छ । तर, मलाई पनि थुनियो । यसले मलाई दुःखी र आक्रोशित बनायो । यति बेलै मैले प्रतिशोधको भावना लिएको थिएँ ।

संगीताको आमा काम गर्ने क्याटरिङको साहु धेरैजसो संगीताको कोठामा आउने गर्थे, नीलो पल्सर लिएर । उनैले हामीलाई मिल्न भने । मैले संगीतालाई सम्झिएँ । आफूले माया गरेको मान्छेको परिवारलाई दुःख दिन चाहिनँ । एकपटकलाई माफी दिएर मिल्ने कुरा गरेँ । पुलिस थानाबाट त छुट्यौँ । तर, त्यसपछि संगीताको परिवारले हाम्रो परिवारलाई जातीय छुवाछुत गर्न थाल्यो ।

संगीता मसँग बोल्न छाडिन् । हामी कोठाबाट बाहिर निस्कन लाग्दा ‘कामी–दमाईको अनुहार देखियो । साइत परेन’ भन्दै उनीहरुले ढोका लगाउँथे । यसले मलाई धेरै टेन्सन हुन्थ्यो ।

एकपटक संगीतालाई घरको भर्याङमा भेटेँ । हात समातेर किन मलाई यस्तो व्यवहार गरेको भनेर सोधेँ । उनले घृणा गर्दै भनिन, ‘अबदेखि मेरो हात समाउने हैन, मसँग बोल्ने हैन, नत्र आमालाई भन्दिन्छु ।’

संगीताको यस्तो व्यवहारले म धेरै दुःखी भएँ । हामीले प्रयोग गर्ने ट्वाइलेट एउटै थियो । ओहोरदोहोर गर्ने भर्याङ एउटै । उनीहरूको मुखै हेर्दिनँ भन्दा पनि हेर्नुपथ्र्यो । भर्याङमा कहिलेकाहीँ सन्तोषले चुरोट, गाँजा खाएर मेरो मुखमा धुवाँ उडाउँथ्यो । त्यतिबेला सन्तोषमाथि जाइलाग्न मन लाग्थ्यो । तैपनि संगीतासँग एकपटक कुरा गर्ने मन थियो । फेरि राम्रो सम्बन्ध बनाउने मन थियो । तर, संगीता मसँग बोल्नै चाहिनन् ।

त्यसपछि चमेली आन्टीले धेरैजसो एउटै वाक्य दोहोराउन थालिन्, ‘मेरी छोरी पुतलीजस्ती छे । तँ काले कामी भएर मेरी छोरीको खुट्टामा बाँध्न पनि सुहाउँदैन ।’

मलाई प्रत्येक दिन हेप्न थालियो । मान्छेको रुपमा हेर्नै छाडियो । कुनै बेला म उनीहरूले मलाई निकै प्रशंसा गर्थे— बुद्धिमान, पढ्ने, सोझो, इमानदार भनेर ।

तर, कामी भन्ने थाहा पाएपछि हिजोको कुरा सबै झुट भयो । ती सबै एकाएक परिवर्तन भएँ । म एउटै धारामा पानी थाप्न दिएनन् । यतिसम्म कि ट्वाइलेट जान पनि दिएनन् ।

उनीहरुको मप्रतिको घृणाको व्यवहारले सीमा नाघ्न थाल्यो । मेरो सहनशीलताले पनि सीमा नाघ्दै थियो। यसरी नै डेढ महिना बित्यो । ममा प्रतिशोधको भावना झन्झन् बढ्न थाल्यो । मैले संगीता र सन्तोषको हातखुट्टा भाँच्ने सोच बनाएँ । त्यसका लागि बाँसको लामो लाठी पनि लुकाएर राखेको थिएँ । कामका लागि संगीताको आमाबुवा बिहान ६ बजे नै निस्कने गर्दथे । दिदीभाइ एक्लै कोठामा सुतिरहेका हुन्थे । त्यही बेला हान्छु भनेर पनि सोचेँ । तर, संगीताको अनुहार देख्दा माया लागेर आउँथ्यो । हान्न सक्दिनथेँ । हान्नै खोज्थेँ, हात काम्थ्यो, मुख सुक्थ्यो । त्यसपछि मेरो दाइको बिहे गर्ने कुरा भयो । दाइको विवाहको तयारीमा लागेपछि मैले बदला लिन पाइनँ, दाइको बिहे २२ मंसिर ०७० मा भयो ।

संगीताको परिवारको जातीय भेदभावको व्यवहारले मलाई पसलमा काम गर्न पनि मन लाग्न छाडेको थियो । पसलमा दैनिक तीन हजारदेखि ३५ सय व्यापार हुन्थ्यो । मलाई एकपटक पढेको कुरा याद हुन्थ्यो । तर, त्यसपछि मैले पढ्न पनि सकिनँ ।

acid attack jeevan bk9चैतताका हाम्रो पसलमा एकजना राजेश प्रधान भन्ने मान्छे आउँथे । उसले भारतीय आर्मी हुँ भन्थे । हामी व्यापारी भएकाले सबै ग्राहकसँग कुरा गथ्र्यौं । राजेशदाइ दिनदिनै आउन थालेपछि हाम्रो निकटता बढ्यो । मेरो शरीर देखेर उनले मलाई भारतीय आर्मीमा पठाउने कुरा गरे । म स्कुलमा हुने दौड प्रतियोगितामा भाग लिइरहन्थेँ । दौडमा भाग लिएका मेरा २५ वटा सर्टिफिकेट छन् । कथा, कविता र अन्य अतिरिक्त क्रियाकलापका पाँचवटा सर्टिफिकेट छन् । राजेशदाइले मेरा सर्टिफिकेट हेर्नुभयो । मेरो सानैदेखिको सोच आर्मी वा पुलिस बन्नु अथवा सरकारी सेवा गर्ने थियो । राजेशदाइले मेरो मनकै कुरा गरेका थिए । संगीतादेखि टाढिन पनि म भारतीय सेनामा जाने विचार गरेँ ।

राजेशदाइले मलाई भारत जान तयार हुन भने । त्यसका लागि मलाई ५० हजार भारु व्यवस्था गर्न भने । चिया पसलबाट अलिअलि बचत भएको थियो । म वैशाख ०७० मा भारतीय सेना बन्न राजेशदाइसँगै भारत गएँ । हामी काँकडभित्ता हुँदै सिक्किम गयौँ । त्यहाँको होमस्टेमा बस्यौँ । करिब सात दिन बसिसकेपछि एक दिन अचानक राजेशदाइ गायब भए, मेरो ५० हजार आइसी लिएर । उनी आउने आशामा मैले एक हप्ता त्यहीँ बिताएँ । मैले ६० हजार आइसी लिएर गएको थिएँ । त्यो एक हप्तामा मैले होमस्टेमा काम गर्न सुरु गरिसकेको थिएँ । काम गरेबापत मलाई निःशुल्क खान दिइन्थ्यो । धेरै दिन राजेशदाइ नआएपछि म काठमाडौं आएँ । काठमाडौंको बसपार्क आएपुगेपछि मलाई आफ्नो कोठामा जान मन भएन ।  आमाबुवाले चिया बेचेर एक–दुई रुपैयाँ गरी बचाएको पैसा कसैले ठगेर हिँडेको थियो । त्यो कुरा घरमा भन्न मलाई आँट आएन । म गेस्ट हाउसमा बस्न थालेँ । उता, संगीता टाढिएको र जातीय भेदभाव गर्ने भएकाले पनि मलाई घरमा जान मन भएन । बेलाबेला संगीतालाई सम्झिँदा मलाई निकै रिस उठ्थ्यो ।

मेरो नाममा पनि बैंकमा पैसा थियो । मैले मेरो अकाउन्टबाट पाँच हजार रुपैयाँ निकालेँ र प्रकाश ब्याट्री पसलबाट एक सय २५ रुपैयाँको एसिड किनेँ । त्यतिबेला विश्वकप चलिरहेको थियो । मैले त्यतिबेला नै संगीतालाई एसिड छ्याप्छु भन्ने सोचेको थिएँ । तर, सकिनँ । एक हप्ताभन्दा बढी गेस्टहाउसमा बस्न पैसाले पुगेन । मैले साहिँलो काकालाई सम्झिएँ । ‘हरि खड्का’ को नामले चिनिने मेरो साहिँलो काका टोखामा बस्ने गर्छन् । उनको कोठामा २२ दिन बसेँ । सधैँ काकाको कोठामा बस्ने कुरा नभएकाले मैले उनलाई मेरा लागि अर्को कोठा खोजिदिन आग्रह गरेँ । १६ सयको कोठा खोजियो र एक्लै बसेँ । चार हजार पर्ने ग्यास पनि किनेँ । त्यतिबेला जताततै ग्यासको हाहाकार थियो । बिहान खाए बेलुका नखाने र बेलुका खाँदा बिहान नखाने गर्न थालेँ । खाना पनि चामलमा नुन हालेर पकाउँथे ।

त्यहाँ बस्दा पनि संगीताको मात्र याद आउन थाल्यो । उनको परिवारले मेरो परिवारप्रति गरेको दुव्र्यवहारले मन पोल्थ्यो । रिस मरेको थिएन । संगीताको घमण्ड तोड्ने रिस बढ्दै थियो ।

बसपार्कमा किनेको एसिड नयाँ कोठामा लगेँ । त्यसलाई प्लास्टिकको बोतलमा हालेको कच्याककुचुक भयो ।
त्यही बेला असईको कोर्स लिन थालेँ । साढे दुई महिना त्यहाँ सेवा, संविधान, आइक्यु, जिके, नेपाली, अंग्रेजी आदि पढेँ । तर, तनावले सम्झन सकिनँ ।

एसिडखेर गएको तीन हप्तापछि घरमा फोन गरेँ, ९७२१४३१०२१ नम्बरबाट । यो नम्बर सिक्किममा पनि चल्ने भएकाले परिवारलाई सिक्किमै भएको विश्वास दिलाउन लिएको थिएँ । कहिलेकाहीँ फोन गर्थें । इन्डियन आर्मी भइसकेँ भनेर घरमा ढाँटेको थिएँ । पैसा गुमेपछि मैले घरमा ढाँट्नैपर्ने पनि थियो । नत्र त्यति दुःख गरेर जम्मा गरेको पैसा कसैले खायो भन्दा बाआमालाइै ठूलो झट्का हुन सक्थ्यो ।

असईको परीक्षाका लागि मेरो टंगालमा सेन्टर पर्यो । परीक्षा दिएँ । राम्रो भएको थियो । नाम निस्कन्छ भन्नेमा ढुक्क थिएँ । त्यसको केही समयपछि सशस्त्रको पनि परीक्षा दिएँ ।

एक दिन रेडियोमा डा. विकासानन्दको प्रवचन सुनेँ । उनको प्रवचन डिप्रेसनबारे थियो । मलाई अचम्म लाग्यो, उनले बताएको डिप्रेसनको लक्षण मेरो अवस्थासँग ठ्याक्कै मिल्यो । म त डिप्रेसनमा परिसकेको रहेछु ।

सधैँजसो मेरो दिमागमा संगीता नै आइरहन्थिन् । केही समस्या पर्दा, परिवारसँग झगडा पर्दा, सानो–सानो कुरामा पनि संगीताले मलाई साथ दिन्थिन् । तर, उनी पूरै बदलिएकी थिइन् । उनी बदलिएपछि र उनको परिवारले गरेको दुव्र्यवहारले मलाई तनाव भइरहन्थ्यो ।

यसैले मलाई डिप्रेसन भएछ । शिक्षण अस्पतालमा उपचार हुन्छ भन्ने थाहा पाएँ । ३५ रुपैयाँको टिकट काटेर एकजना महिला डाक्टरलाई भेटेँ । मैले आफ्नो समस्या सुनाएँ, ‘मलाई मानिसहरू मार्न मन लाग्छ, आफू पनि मर्न मन लाग्छ, निन्द्रा लाग्दैन, सधैँ एउटै कुरा दिमागमा आइरहन्छ ।’

डाक्टरले मेरो सबै कुरा सुनिसकेपछि सम्झाउनुभयो । र, १० एमजीको इन्डेरल, १०० एमजीको सर्टिमा र ०.२५ एमजीको जोडियाक (निन्द्राको औषधि) दिनुभयो । दुई हप्तापछि फेरि बोलाइएको थियो ।

औषधिले मलाई सुरुमा टाउको दुख्यो । टाउको पछाडिको भागमा निकै तातो हुन्थ्यो । खुट्टा, मुख सबै सुन्निएको जस्तो महसुस हुन्थ्यो । तैपनि निको हुने आशामा औषधि खान छोडिनँ ।

दुई हप्तापछि निकै राम्रा कुरा दिमागमा आउन पनि थाले । आमाबुवाको दुःख सम्झिएँ, दिदीबहिनी सम्झिएँ । उनीहरूका लागि केही गर्नुपर्छ भन्ने भावना पनि आउन थाल्यो ।

२१ माघमा असईको रिजल्ट आउने भनिएको थियो । तर आएन । फेरि तनाव हुन थाल्यो । त्यसपछि भने औषधि खान छाडेँ । किनभने, महँगो थियो । औषधि खान छाडेदेखि फेरि जिउ काम्न थाल्यो, सपना नराम्रो देख्न थालेँ ।

त्यसपछि मलाई आफ्नो चिन्ता हुन छाड्यो । दिमागमा खराब कुरा आउन थालेँ । अनि, संगीतालाई एसिड हान्ने निर्णयमा पुगेँ । फागुन ६ मा हर्लिक्सको सीसी किनेँ, २० रुपैयाँमा । संगीतालाई एसिड हान्नेबारे सोचेँ । त्यसमै एसिड हालेँ । फागुन ९ गते राति सुत्नुभन्दा अगाडि ५ बजेको अलार्म हालेँ– मेरो कलर्स मोबाइलमा । १० गते बिहान पाँच बजे उठेँ । हातमुख धोएँ । बोर्डरमा सुन्तला रङ भएको निलो रङको हुक, कालो रङको मास्क लगाएँ । ब्यागमा एसिड हालेँ । टोखाबाट गाडी चढेँ र जमल ओर्लिएँ । जमलबाट हिँड्दै वसन्तपुर आएँ । संगीतालाई जताततै खोजेँ । कतै पाइनँ । कता खोज्ने होला भन्ने सोचिरहेको थिएँ । जताततै अँध्यारो थियो । तर, एउटा घरको एउटा कोठामा बत्ती बलिरहेको देखेँ । त्यहाँ लेखिएको थियो, ए वान ट्युसन सेन्टर । संगीता पक्कै त्यहीँ हुनुपर्छ भन्ने लाग्यो । त्यतै गएँ । यताउती खोजेँ । एउटा कोठाको ढोका खोलिएको थियो । त्यहाँ मैले संगीतालाई देखेँ । म बाहिर बसेको थिएँ । त्यहाँ एकजनाले जारको पानी मिलाउँदै थिए । मैले एसिड हान्ने मौका पर्खिरहेको थिएँ । भित्रबाट संगीताले देखिन् । मैले उनले साबुन लगाइदिएको सुन्तला रंगको हुक लगाएको थिएँ, माक्र्स लगाएको थिएँ । उनले मलाई देख्नेबित्तिकै चिनेचिने जस्तो गरी हेरिन् । झोलाबाट एसिड झिकेर सरासर भित्र गएँ । र, संगीतालाई एसिड छ्यापेँ । निकै खुसी भएर त्यहाँबाट हिँडेँ । माइक्रो चढेर टोखा पुगेँ । सीमा बस्नेत र हेमु मुखर्जीलाई पनि एसिड लागेको कुरा मैले भोलिपल्टको पत्रिका हेरेर मात्र थाहा पाएको हुँ ।

मैले उनले साबुन लगाइदिएको सुन्तला रंगको हुक लगाएको थिएँ, माक्र्स लगाएको थिएँ । उनले मलाई देख्नेबित्तिकै चिनेचिने जस्तो गरी हेरिन् । झोलाबाट एसिड झिकेर सरासर भित्र गएँ । र, संगीतालाई एसिड छ्यापेँ । निकै खुसी भएर त्यहाँबाट हिँडेँ । माइक्रो चढेर टोखा पुगेँ । सीमा बस्नेत र हेमु मुखर्जीलाई पनि एसिड लागेको कुरा मैले भोलिपल्टको पत्रिका हेरेर मात्र थाहा पाएको हुँ ।

परिणाम यस्तो होला भन्ने मैले कहिले पनि सोचेको थिइनँ । एसिडले संगीताको मुखमा घाउ बनायो तर यसले मेरो मुटुमा घाउ बनायो, मेरो मस्तिष्कमा घाउ बनायो ।

संगीतालाई एसिड हानेपछि अब आफू पनि नबाँच्ने भन्दै आत्महत्या गर्ने सोचेँ । त्यही दिन टोखाको कोठामा झुन्डिएर मर्ने विचार गरेँ । कोठामा फ्यान नभएका कारण कोठाभित्रै झुन्डिने ठाउँ देखिनँ । भर्याङको समात्ने ठाउँमा झुन्डिएँ, तन्नाले बाँधेर । भर्याङमा भुन्डिँदा पनि खुट्टाले भुइँमा छोयो । मेरो कोसिस सफल भएन । भोलिपल्ट टोखाको जंगलमा गएर हाम फालेँ । अलिअलि चोट लाग्यो । फेरि कोठामा फर्किएर ग्यास पूरै खोलिदिएँ । आगो बालेँ, ठूलो आगो लाग्यो । तर, निभाएँ ।

फेरि अर्को सोच बनाएँ । अझै पाँचजनालाई मारेर आफू पनि मर्ने । संगीतालाई मैले घाइते बनाइसकेको थिएँ । मेरो सूचीको अर्को व्यक्ति थियो, राजेश प्रधान । म फागुन २० गते फेरि सिक्किम हानिएँ । पैसा दिए केही नगर्ने र नदिए सीधै मारिदिने सोचमा थिएँ । म त्यहाँ रानीगाउँको ढकाल गाउँमा बसेँ । त्यहाँ मैले राजेशलाई निकै खोजेँ  । प्रधान थरका त त्यहाँ धेरै रहेछन् । तर, राजेश प्रधान नामका ती व्यक्तिलाई मैले सिक्किममा पाउनै सकिनँ । उनलाई मैले भेट्ने आशा मारिसकेको थिएँ । त्यसपछि सिक्किममै बसेर केही कमाइ हुने काम गर्ने सोच पनि बनाएँ । त्यहाँको एउटा रेस्टुरेन्टमा काम मिलाइसकेको थिएँ । घरका मान्छेलाई म भारतीय सेना भइसकेको भन्ने थियो । त्यसपछि मलाई काठमाडौंबाट लक्ष्मण शर्माको फोन आयो । उनले भने, ‘त्यता काम के गरिरहेका छौ, तिमीलाई त नेपालको पुलिसले शंका गरिरहेको छ एसिड हानेको भन्दै, तिमीलाई  भारतीय सेनाले समात्यो भने बेइज्जत हुन्छ, त्यसकारण यता नै फर्क ।’

उनले भनेको मानेर म काठमाडौं फर्किएँ । टोखामा बस्न थालेँ । संगीताको याद आउँथ्यो । उनलाई मोडल हस्पिटलमा राखेको कुरा थाहा थियो र भेट्न जान पनि मन लागेको थियो । तर, पुलिसले समात्ने डरले त्यहाँ गइनँ । डरभन्दा पनि पाँच जनालाई नमारी पुलिसले मलाई समात्नुहुन्न भन्ने मेरो चाहना थियो ।

५ चैत साँझ ८ बजेतिर म सुतिसकेको थिएँ । राति सुत्दा कहिले पनि ढोकामा चुकुल लगाउँदिनँ । सुतिरहेका बेला त्यही घरको एकजना दाइसँगै पुलिस आयो । ढाका टोपी लगाएका दाइले ‘एसिड अट्याकमा तिम्रो के संलग्नता छ’ भनेर सोधे । मलाई मेरो जीवनको केही मतलब थिएन, त्यसैले सबैकुरा भनिदिएँ । मलाई एक थप्पड पनि हानिएन । त्यहाँबाट भ्यानमा हालेर हनुमान ढोका ल्याइयो । एसपी मीरा चौधरीसँग भेटाइयो । उहाँले सबै कुरा विस्तृत रुपमा भन्न आग्रह गर्नुभयो । चारवटा बिस्कुट र चिया खाँदै मैले सबै वृत्तान्त उहाँलाई सुनाएँ । मीरा म्यामले भन्नुभयो, ‘तिम्रो उद्धार भयो, अरुले भेटेको भए तिमिलाई मारेर फ्याकिँदिन्थे ।’ भोलिपल्ट ११ बजे रानीपोखरीमा प्रहरी अतिरिक्त महानिरीक्षक विज्ञानराज शर्मासँग भेट भयो । उनलाई सबैकुरा बताएँ । उनले एसिड हान्ने विचार कहाँबाट आयो भनेर सोध्दा मैले ‘तपाईंलाई डिजिटल नम्बर प्लेट हटाउने सोच कहाँबाट आयो ?’ भनेर सोधेँ । शर्मासँग मैले भारतीय टेलिशृंखला ‘सावधान इन्डिया’ र ‘क्राइम पेट्रोल’ हेरेर प्रभावित भएको बताएँ ।

हो, एसिड हान्नु मेरो गल्ती हो । यसका लागि म दुई वर्ष होइन, पाँच वर्ष जेल बस्न तयार छु । जेलबाट निस्किएपछि राम्रो तरिकाले जीवनयापन गर्न चाहन्छु । जेल भनेको मेरा लागि स्कुल हो । जसरी मैले स्कुलमा हुँदा धेरै कुरा सिकेँ र कहिल्यै त्यहाँ फर्केर गइनँ, त्यसरी नै जेलमा हुँदा पनि म धेरै कुरा सिक्छु र फेरि फर्केर आउनेछैन ।

परिवारलाई सन्देश :
मेरो परिवारलाई मेरोबारे केही पनि चिन्ता नलिन आग्रह गर्दछु । म राम्रो हुँदाहुँदै पनि समाजको मूल्य–मान्यताले राम्रो हुन दिएन । मलाई यहाँ सबैले माया गर्नुहुन्छ । जेलबाट निस्केपछि म तपाईंहरुको नै राम्रो छोरा बन्नेछु ।

संगीतालाई सन्देश :
संगीता म तिमीलाई हिजो पनि माया गर्थें, आज पनि गर्छु र भोलि पनि गरिरहनेछु । तिमीले मसँग विवाह गर्छु भन्यौँ भने म अहिले पनि तिमीलाई स्विकार्छु । म एक्लो भएसम्म तिमीलाई सधैँ स्विकार्नेछु ।

चमेली आन्टीलाई सन्देश :
चमेली आन्टी, तपाईंले मलाई बुझ्न सक्नुभएन । म तपाईंहरुको सधैँ भलो चाहन्थेँ । सायद छुवाछुतको भावना तपाईंहरुमा नभइदिएको भए, आज म यहाँ कदापि हुने थिइनँ र संगीता पनि हस्पिटलमा हुने थिइनन् ।

 साभार : – www.khabardabali.com


  •  
  •  
  •