बिरामी बोकेको बोलेरो जीप दुर्घटना, चार जनाको मृत्यु, सात घाइते

435
  •  
  •  
  •  

काठमाडौं । हुम्लामा बिरामी बोकेको बोलेरो जीप दुर्घटनामा चार जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन्। सदरमुकाम सिमकोटबाट बिरामी लिन हेप्काखोला गएको लु २ च २१०२ नम्बरको बोलेरो दुर्घटना भएको हो ।

जिल्ला प्रहरी कार्यालय हुम्लाका अनुसार हेप्काखोलाबाट बिरामी लिएर सिमकोट फर्किने क्रममा सिमकोट गाउँपालिका ७ को डाँडाफयामा शुक्रबार राति ११ बजे जीप दुर्घटनामा परेको हो । जीप सडकबाट करिब पाँच सय मिटर तल पुगेको छ।

मृत्यु हुनेमा सिमकोट गाउँपालिका–७ का ३० वर्षीय पर्वत सुनार, वडा नम्बर २ का २९ वर्षीय पारस बोहरा, नाम्खा गाउँपालिका–१ हेप्का गाउँका ४५ वर्षीया दुःखी तामाङ र ४८ वर्षीय गुरु तामाङ रहेको जिल्ला प्रहरी कार्यालय हुम्लाले जनाएकाे छ ।

दुर्घटनामा एक बालकसहित सात जना घाइते भएका छन्।  घाइते हुनेमा सिमकोट–२ ठेहेका जिप चालक सिङ्गम भण्डारी, सिमकोट–६ बस्ने प्युठानका अजय बस्नेत, सिमकोट–८ खोल्सिका कल्पना सिंह, सिमकोट–८ खोल्सिका एक वर्षे बालक मिलन सिंह, सिमकोट–८ खोल्सिका सम्झना शाही, नाम्खा गाउँपालिका–१ का झुमझुम लामा र सिमकोट बजारमा बस्ने बाजुराका कवि सिंह रहेका छन् । घाइतेको हुम्ला जिल्ला अस्पतालमा उपचार भइरहेको छ । घाइतेमध्ये दुईजनाको अवस्था गम्भीर रहेको र एक वर्षका बच्चासहित पाँचको अवस्था सामान्य भएको जिल्ला अस्पतालले जानकारी दिएको छ । जिप दुर्घटना भएको खबर पाएलगत्तै घटनास्थल पुगेका नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र स्थानीयवासीले उद्धार गरेका थिए ।


  •  
  •  
  •