काठमाडौ, २ असोज(ओएनएस) : भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको विशेषदूतका रूपमा नेपाल आएका भारतीय विदेश मन्त्रालयका विदेश सचिव सुब्रमन्यम जयशंकरले नेपालका सबै राजनीतिक दलहरूलाई आवश्यक लचकता र परिपक्कता देखाएर दिगो संविधान जारी गर्न आग्रह गरेका छन् ।
मोदीका विशेष दूत एस जयशंकर स्वदेश फर्कनु अघि त्रिभूवन अन्तराष्ट्रिय विमानस्थलमा पत्रकारहरूसँग कुरा गर्दै नेपालको शान्ति र संविधान निर्माणमा भारतको सहयोग सधै रहँदै आएको र आगामी दिनमा पनि रहिरहने बताएका थिए ।
उनले संविधानलाई राष्ट्रिय उत्सवका रूपमा मनाउन आग्रह गर्दै संविधान जारी भएपछि देशमा हिंसा, बन्द, हड्ताललगायतका गतिविधि हुन नहोस भन्ने कामना भारतले गरेको स्पष्ट पारे । जयशंकरको भनाई उदृत गर्दै दुतावासल ट्वीटमा भनेको छ, ‘हामीलाई विश्वास छ, नेपालका राजनीतिक नेताहरुले यो संकटपूर्ण समयमा आवश्यक लचकता र परिपक्वता प्रदर्शन गर्नेछन् ।’
उनी आज बिहान इण्डियन एयरलाइन्सको विमानबाट सवदेश फर्केका छन् ।
नयाँ संविधान जारी हुने भएपछि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको विशेषदूतका रूपमा आएका जयशंकरले शुक्रबार राष्ट्रपति रामवरण यादव, प्रधानमन्त्री सुशील कोइराला, एमाले अध्यक्ष केपी शर्मा ओली र एमाओवादी अध्यक्ष पुष्पकमल दाहाललाई छुट्टाछुट्टै एवं मधेसवादी दलका नेतालाई संयुक्त भेटेका थिए । उनले संविधानमा ‘सक्नेसम्म र हुनेसम्म’लाई समेट्न आग्रह गरेको नेताहरूले बताए ।