सिरहा, ७ पुष(ओएनएस) : नेपाली कांग्रेस, एमाले र माओवादीले तयार गरेको रोड म्यापलाई नेपाल सरकारले अनुमोदन गरेपछि अब वार्ताबाट समस्या समाधानको संभावना क्षीण भएको जयप्रकाश गुप्ताले बताएका छन् ।
सिरहाको कल्याणपुर बजारमा आयोजित सभामा गुप्ताले संसदमा प्रस्तावित संविधानको संशोधनबाट भावी संसदमा मधेसको नगण्य सीट बढेपनि यसबाट जनसंख्याको आधारमा मधेसीको प्रतिनिधित्वको सिद्धान्त सुनिश्चित हुन नसक्ने बताएका छन् । संसदको उपल्लो सदन राष्ट्रिय सभाको बिषयमा संशोधन मौन रहेको बताउँदै उनले यसले राष्ट्रिय सभामा मधेस सदाका लागी न्यून प्रतिनिधित्वको शिकार भई रहने दाबी गरेका छन् ।
संसदमा आगामी तीन दशकसम्म मधेसको सीट नबढ्ने व्यवस्थामा यो संशोधनले कुनै परिवर्तन ल्याउन नसक्ने गुप्ताले स्पष्ट पारे । मधेसी मोर्चाका नेताहरू भारत भ्रमणबाट फर्केपछि समाधानको दिशामा मधेसको सवालहरू झन् फसेको गुप्ताको आरोप रहेको छ ।
सभामा रामसपाका अध्यक्ष तथा गठबन्धनका नेता शरदसिंह भण्डारीले मधेस आन्दोलन ३ वटा ‘क कलम’ अर्थात् सबै प्रशासनमा भागिदारी, ‘क’ अर्थात कोष विकासमा हकदारी, ‘क’ अर्थात कारतूसको मतलब सेना प्रहरीमा समावेशीकरणका लागि भैरहेको बताए । भण्डारी आफु रक्षामन्त्री भएको बेला नेपाली सेनामा ३ हजार मधेसी युवालाई भर्ना गराउन चाहेको तर, मधेसी नेताहरूको असहयोगले पुरा गराउन नसकेको बताए ।
सोही सभामा नेसपाका अध्यक्ष अनिल झाले मधेसी लडिरहेको यो लडाई मधेसी राज्यमा आफ्नो अंश खोज्न र मधेसमा मधेसीको वंशको रक्षाको लागि रहेको बताए । सभामा गणतान्त्रिक फोरमका अध्यक्ष राजकिशोर यादवले मधेस आन्दोलनको अवस्था, गठबन्धनको उद्देश्यको बारेमा जानकारी दिएका थिए । संघीय समावेशी मधेसी गठबन्धनमा तमरा अभियान, रामसपा, नेसपा र फोरम गणतान्त्रिक सम्मिलित छ ।