जातीय भेदभाव र छुवाछूतको दुव्र्यवहारप्रति कुनै सहिष्णुता दर्शाइने छैन : प्रधानमन्त्री

403
  •  
  •  
  •  

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकारले देशलाई न्याय र समानतासहितको समृद्धिको दिशातर्फ अघि बढाइरहेको बताएका छन् ।

जातीय भेदभाव तथा छुवाछूत उ्रन्मुलन दिवसको अवसरमा मंगलबार एक शुभकामना सन्देश दिँदै प्रधानमन्त्री ओलीले सो कुरा बताएका हुन् ।

सन्देशमा वर्तमान सरकार सुखी नेपाली, समृद्ध नेपालको राष्ट्रिय आकांक्षा पूरा गर्न शताब्दीऔंसम्म विभेद र अन्यायको शिकार भएका दलित समूदायलाई शिक्षा, स्वास्थ्य र रोजगारको क्षेत्रमा अगाडि बढाउन तल्लिन रहेको उल्लेख छ ।

‘विगतमा पाखा पारिएकाहरुलाई राज्यको मूलप्रवाहमा समाहित गराउँदैछ’ प्रधानमन्त्रीको सन्देशमा उल्लेख छ ‘आजको एक्काइशौं शताब्दीमा पनि सामन्तवादको अवशेषका रुपमा रहेको मानव–मानवका बीच गरिने जातीय भेदभाव र छुवाछूतको दुव्र्यवहारप्रति कुनै सहिष्णुता दर्शाइने छैन । समानता, सद्भाव र सबैको मानवअधिकारको पूर्ण रक्षाका लागि सरकार दृढ छ ।’

प्रधानमन्त्री ओलीले सन्देशमा राज्यका हरेक अंग र निकायमा समानुपातिक समावेशी सिद्धान्त अनुसार दलित समूदायको प्रतिनिधित्व गराइने संवैधानिक व्यवस्था रहेको स्मरण गराएका छन् ।

‘राष्ट्रिय सभामा प्रत्येक प्रदेशबाट दलित समूदायबाट कम्तिमा १/१ जनाको प्रतिनिधित्व हुने संवैधानिक प्रत्याभूति गरिएको छ । स्थानीय तहको वडा स्तरमा दलित महिलाको अनिवार्य प्रतिनिधित्वलाई कानूनी रुपमा सुनिश्चित गरिएको छ’ प्रधानमन्त्री ओलीले सन्देशमा भनेका छन्,‘नेपालले जातीय भेदभाव तथा छुवाछूतको अन्त्यका लागि अन्तर्राष्ट्रिय रुपमा पनि ठोस प्रतिबद्धता जनाएको सबैलाई विदितै छ ।’

प्रधानमन्त्री ओलीले नेपाल जातीय विभेद मु्क्त देश घोषणा भएको यस दिनले जातीय विभेद र छुवाछूतको दुव्र्यवहारलाई रत्तिभर सहन नगर्न हरेक नेपाली नागरिकलाई उत्प्रेरित गर्नेछ भन्नेमा आफू विश्वस्त रहेको उल्लेख गरेका छन् ।

‘हामी सबैलाई समानताको मूल्य र मान्यताप्रति सजग गराउने यस दिवसका अवसरमा देशभित्र र प्रवासमा रहनु भएका सम्पूर्ण नेपाली दिदीवहिनी तथा दाजुभाइमा हार्दिक शुभकामना’ प्रधानमन्त्री ओलीको सन्देशमा उल्लेख छ ।


  •  
  •  
  •