
काठमाडौं । जनता समाजवादी पार्टीका नेताहरुले प्रतिनिधिसभाको बैठक बोलाउन सभामुख अग्नि प्रसाद सापकोटालाई आग्रह गरेका छन् ।
पूर्वप्रधानमन्त्री तथा पार्टीका संघीय परिषद अध्यक्ष बाबुराम भट्टराई, अध्यक्ष उपेन्द्र यादव लगायतका नेताहरुले सभामुख सापकोटालाई भेटेर संसद जीवितै रहेको बताउँदै प्रतिनिधिसभाको बैठक बोलाउन आग्रह गरेका हुन् । प्रधानमन्त्रीलाई प्रतिनिधिसभा विघटन गर्ने अधिकार संविधानले नदिएको अवस्थामा संसद् जीवितै रहेको निष्कर्षसहित सभामुख सापकोटालाई बैठक आह्वान गर्न आग्रह गरेको जसपाले जनाएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्या भण्डारीले संसद विघटन गरेपछि जसपाले देशव्यापी आन्दोलन घोषणा गरेको छ।
यसअघि बुधबार जसपाले ७७ वटै जिल्ला सदरमुकामहरूमा विरोध प्रदर्शन गरेको थियो ।