जनता समाजवादीले पायो दल दर्ताको प्रमाणपत्र

287
  •  
  •  
  •  

काठमाडौं । जनता समाजवादी पार्टी नेपाललाई निर्वाचन आयोगले प्रमाणपत्र दिएको छ। आयोगले समाजवादी पार्टी र राजपा नेपालबीच एकीकरणपछि निर्वाचन आयोगमा दर्ता भएको प्रमाणपत्र दिएको हो ।

निर्वाचन आयोगले १ सय ५९ नम्बर कायम हुनेगरी जसपा दल दर्ता गरेको छ। राजनीतिक दलसम्बन्धी ऐन २०७३ को दफा १० बमोजिम राष्ट्रिय जनता पार्टी राजपा र समाजवादी पार्टी एकीकरण भएको ‘जनता समाजवादी पार्टी, नेपाल’ नामको राजनीतिक दल कायम रहनेगरी प्रमाणपत्र दिईएको आयोगले जनाएको छ। दलको प्रमाणपत्र प्राप्त गरेपछि पार्टीका अध्यक्षद्धय महन्थ ठाकुर र उपेन्द्र यादवले संयुक्त प्रेस विज्ञप्ति जारी गर्दै जनसपालाई प्रमाणपत्र र आधिकारिक पत्र प्रदान गरेकोमा आयोगप्रति आभार व्यक्त गरेका छन्।

‘अग्रगामी परिवर्तनका पक्षधर, संघीयता, राष्ट्रिय पहिचान, सुशासन, लोकतन्त्र, समृद्धि, सामाजिक न्याय र समाजवादप्रति समर्पित राजनीतिक शक्ति र व्यक्तिहरुलाई जसपामा आबद्ध हुन आह्वान गर्दछौं’ विज्ञप्तिमा भनिएको छ।

गएकाे वैशाख १० गते मध्यरातमा भएको एकीकरणपछि बनेको जसपा निवेदन दिएको करिब एक महिनापछि निर्वाचन आयोगमा दर्ता भएको थियो।

जसपाको केन्द्रीय कार्यसमितिको अध्यक्षमा महन्थ ठाकुर पहिलो र उपेन्द्र यादव दोस्रो वरीयताका अध्यक्ष छन्। यस्तैगरी, वरिष्ठ नेताहरू अशोक राई, डा.बाबुराम भट्टराई र राजेन्द्र महतो क्रमशः तेस्रो, चौथो र पाँचौँ वरीयतामा छन्।


  •  
  •  
  •