मोरङमा जापानी इन्सेफलाइटिसका बिरामी बढे

187
  •  
  •  
  •  

विराटनगर, १ भदौ(ओएनएस) : गतवर्ष मोरङमा भयावह देखिएको जापानी इन्सेफलाइटिसका बिरामी यस वर्षपनि देखिन थालेका छन् । साउन पहिलो साता मोरङको डागिहाट ४ भाउन्नेमा यसका बिरामी भेटिएका हुन् ।

जिल्ला जनस्वास्थ्य कार्यालय मोरङका अनुसार डागिहाटका एकै वडाका दुई बालबालिकामा इन्सेफलाइटिस देखिएको हो । इन्सेफलाइटिसकै कारण मोरङमा गतबर्ष १० जनाको ज्यान गएको थियो । गत वर्ष रोकथाम र नियन्त्रणमा समयमा नै चासो नदिँदा बिरामीको ज्यान गएको थियो । यस वर्षपनि देखा परेको एक महिना बिति सक्दापनि जनस्वास्थ्यले रोकथाम र नियन्त्रणमा प्रभावकारी कदम नचालेको बताइएको छ ।

इन्सेफलाइटिस देखिएका १२ वर्षका एक बालकको विराटनगरमा उपचार भैरहेको छ, भने ९ वर्षीय बालिका विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठनमा उपचारपछि घर फर्किएको जनस्वास्थ्यले जनाएको छ । यस वर्ष जोखिम युक्त क्षेत्रको रुपमा गत वर्ष बढी बिरामी भेटिएका पथरी शनिश्चरे, लेटाङ भोगटेनी र उर्लावारी गाविसलाई लिइएको थियो । तर, डागिहाटमा दुई जनामा इन्सेफलाइटिस पुष्टी भएको जनस्वास्थ्य कार्यालय मोरङका भेक्टर कन्ट्रोलर महदम वसिल मियाले जानकारी दिए । उनले प्रभावित क्षेत्रमा जनचेतना जगाउने कार्य सञ्चालन गरिरहेको बताए । स्थानीय स्वास्थ्य सस्था मार्फत जनचेतना जगाउने कार्य सञ्चालन गरिउको छ ।

गत वर्षपनि साउन पहिलो साता लेटाङमा देखिएको इन्सेफलाइटिसका बिरामी १९ जना थिए । जसमध्ये १० जनाले ज्यान गुमाएका थिए । मृत्यु हुनेमा लेटाङका ६, उर्लावारीका ३ र पथरीका एक जना थिए । उपचारपछि घर फर्किएका अपाङ्ग भएको बताइएको छ ।

सेतो मच्छड नामबाट चिनिने क्युलेक्स जातको संक्रमित पोथी लामुखुट्टेको टोकाईबाट सर्ने यो रोग लागे तत्काल उपचार नपाए बिरामी बाच्ने सम्भावना न्युन हुन्छ । क्युलेक्स जातको पोथी लामुखुट्टेको टोकाईबाट सर्ने यो रोग ग्रामिण भेगमा अव्यवस्थित रुपमा पालिएका सुगुर र बुङगुरबाट मानिसमा सर्ने चिकित्सक बताउँछन् ।

सुँगुर वा बङगुरलाई टोकेको संक्रमित क्यूलेक्स जातको पोथी लामखुट्टेले मानिसलाई टोकेमा यो रोग सर्छ । यो रोगको संक्रमण भए वाकवाक लाग्ने, उच्च ज्वरो आउने, बेहोस हुनेजस्ता लक्षण देखिने विशेषज्ञहरुले बताएका छन् । गतबर्ष यसको संक्रमणबाट बालबालिकाहरू बढि प्रभावित भएका थिए । यस वर्षपनि बालबालिकामा नै देखिएको छ । गत वर्ष जापानी इन्सेफलाइटिस लेटाङ, पथरी, उर्लावारी, जाते टंकिशिनवारीलगायतका स्थानमा देखा परेको थियो ।


  •  
  •  
  •