नेपाल र जापान सरकारबीच श्रम सम्झौता

अब जापानमा पनि सरकारीस्तरबाट कामदार पठाइने
1303
  •  
  •  
  •  

काठमाडौं, ११ चैत(ओएनएस) : नेपाल र जापान सरकारबीच आज श्रम सम्झौता भएको छ ।

ललितपुरस्थित होटल हिमालयमा जापानमा नेपाली कामदार पठाउने सम्बन्धी समझदारी पत्रमा दुई देशका प्रतिनिधिहरूबीचसम्झौता पत्रमा हस्ताक्षर भएको हो ।

श्रममन्त्री गोकर्ण विष्टको उपस्थितिमा समझदारीपत्रमा नेपालको तर्फबाट श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका निमित्त सचिव रामप्रसाद घिमिरे र जापानको तर्फबाट नेपालका लागि जापानका राजदूत मासामिग्री साईगोले हस्ताक्षर गरेका छन् ।

सहमतिपत्र अनुसार जापान जाने विशेष सिप भएका श्रमिक (एसएसडब्लु) लाई दुई वर्गमा विभाजन गरिनेछ ।

पहिलो वर्ग एसएसडब्ल–१ वर्गका श्रमिकहरुले आफ्नो कामको अनुभव भएको हुनुपर्ने छ । उनीहरु पाँच वर्ष जापान बस्न पाउने छन् ।

त्यस्तै दोस्रो वर्ग एसएसडब्लु–२ वर्गका कामदारहरुले आफ्नो काममा उच्च तहको सीप आवश्यक हुनेछ । उनीहरु पाँच वर्ष पछि पनि कार्यावधि थप गरी जापान बस्न पाउने छन् ।  यो वर्गका श्रमिकले आफ्ना परिवारका सदस्यहरुलाई पनि जापान लैजान सक्ने छन् ।

यसरी जापान जाने श्रमिकहरुलाई जापानी कानून बमोजिम रोजगारीका सेवा, सुविधा एवं शर्तहरु जापानी नागरिक सरह पाउने उक्त समझदारीमा उल्लेख गरिएको छ ।

पुस २५ गते नेपालको भ्रमणमा आएका जापानी विदेश मन्त्री तारो कोनो र नेपालका परराष्ट्र मन्त्री प्रदीपकुमार ज्ञवाली नेतृत्वको द्विपक्षीय वार्ताका क्रममा सहमति पत्रमा हस्ताक्षर गर्ने सहमति भएको थियो ।

दुई दिने नेपाल भ्रमणका क्रममा नेपाल आएका जापानी परराष्ट्र मन्त्री र नेपाली समकक्षीबीच भएको वार्तामा जापानमा नेपाली कामदार पठाउने विषयमा छलफल भएको थियो ।

जापानले त्यहाँको सांसदबाट कामदार भर्ना सम्बन्धी नयाँ कानून पारित गरेको छ । उसले नेपाललाई कामदारको स्रोत देशकोरुपमासमेत राखिसकेको छ ।

यहि चैत ४ गते सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले साझेदारीसम्बन्धी समझदारी पत्रमा हस्ताक्षर गर्ने जिम्मेवारी श्रम सचिवलाई दिने निर्णय गरेको थियो ।

जापानले कृषि, मत्स्यपालन, औद्योगिक, होटल, रेष्टुरेन्ट, पर्यटन लगायत १४ क्षेत्रमा नेपाललगायतका नौ देशका श्रमिक लैजाने नीति लिएको छ ।

जापानले पहिलो पाँच वर्षमा तीन लाख ४५ हजार नौ देशबाट कामदार लैजाने नीति लिएको छ । तिमध्ये नेपाली कामदार कति हुने भन्ने विषयमा छलफल हुन बाँकी नै रहेको छ ।

जापानमा रोजगारीका लागि भाषा र सीप अनिर्वाय हुनेछ । जापानले नर्सिङ, सरसफाइ, उत्पादनमूलक क्षेत्र, होटल, कृषि, माछा मार्ने तथा खाद्य प्रशोधन आदि क्षेत्रमा काम गर्न दिने तयारी गरेको छ ।


  •  
  •  
  •