जनताले चाहेअनुसार भूमि सुधार गर्न सकेनौं भने ५० वर्षपछि धकेलिनेछौं : अध्यक्ष दाहाल

342
  •  
  •  
  •  

पोखरा, २७ फागुन(ओएनएस) : नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’ले अबको प्राथमिकता भूमि सुधार रहेको बताएका छन् ।

राष्ट्रिय भूमि अधिकार मञ्च, नेपालको पाँचौं राष्ट्रिय सम्मेलनको पोखरामा उद्घाटन गर्दै दाहालले भने, ‘अहिले दुई तिहाइको सरकार छ, यो समयमा पनि हामीले जनताले चाहेअनुसार भूमि सुधार गर्न सकेनौं भने ५० वर्ष पछि धकेलिने छौं । यसैले हाम्रो पार्टीको अहिलेको प्राथमिकता भनेको जनतालाई सुखी बनाउन समृद्ध नेपाल निर्माण गर्नु रहेको छ, यसको पहिलो आधार जनमुखी भूमि सुधार हो ।’


उनले जनताको अधिकार स्थापित गराउनको लागि आफूले लामो लडाँई लडेको भन्दै भूमि समस्या समाधान गर्न विशेष पहल गर्ने बताए ।

उनले भने, ‘यस विषयमा पटक–पटक भूमि सुधार मन्त्रीसँग छलफल पनि गरेको छु । हामीलाई भूमि सुधार गर्नको लागि संविधानले पनि प्रशस्त बाटो दिएको छ । यसैले देशभरबाट भेला हुनुभएका भूमि अधिकारकर्मीहरूले अव ढुक्क भएहुन्छ, भूमि सुधार चाँडै हुनेछ र तपाईंहरूको समस्या समाधान हुनेछ ।’

सम्मेलनमा विशेष अतिथिका रुपमा सहभागी हुँदै भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्माकुमारी अर्यालले भूमि सम्बन्धि ऐन पारित हुने अवस्थामा मन्त्री परिष्दमा पुगेको बताइन् ।

उनले भनिन्, ‘यो ऐन पारित भएपछि भूमि सुधारको मार्गहरू पनि प्रशस्त हुनेछन् । हामीले भूमि अधिकार मञ्चले उठाएको माग बुझेका छौं, जायज मागहरू छन्, हाम्रै सरकारको पालामा जनतालाई समृद्ध भएको देख्न चाहन्छौं र सोहीअनुसार कार्ययोजना बनाई काम पनि गरिरहेका छौं । यसैले अबको केही वर्षमा भूमि सम्बन्धि सबै मुद्दाहरू समाधान हुनेछन् ।’

यस्तै राष्ट्रिय सभाको उपाध्यक्ष शशिकला दाहालले मुलुकमा भूमि सुधारको लागि जनताहरूले लामो समयदेखि सङ्घर्ष गरिरहेको भएपनि उनीहरूले परिवर्तनको महशुस गर्न नपाएको बताइन् ।
उनले भनिन्, ‘अबको दिनमा भूमि समस्या समाधान गर्नको लागि सरकारले प्राथमिकता दिनुपर्ने आवश्यकता रहेको छ ।’

पूर्वअर्थमन्त्री तथा नेपाली कांग्रेसका नेता डा.रामशरण महतले राजनीतिक छलफलद्वारा नेपालमा रहेका भूमिसम्बन्धि समस्याको दिर्घकालिन हल खोज्नु आवश्यक रहेको बताए ।
उनले भने, ‘नेपाली कांग्रेसले विगतमा पनि भूमि सुधारको लागि पलह लिएको र आगामी दिनमा यस प्रति प्रतिवद्धत छौं ।’

सामुदायिक आत्मनिर्भर सेवा केन्द्रका कार्यकारी निर्देशक जगत देउजाले नेपालमा सङ्गठित रुपमा राष्ट्रिय भूमि अधिकार मञ्चले विगत १५ वर्षदेखि संघर्षपूर्ण आन्दोलन गर्दै अघि बढिरहेको बताए ।

नेकपाका सचेतक शान्ता चौधरीले भूमि सुधारको लागि जनतालाई धेरै संघर्ष गर्न बाध्य नबनाई स्थायी समाधान खोज्न सरकारले विशेष पहल लिनु आवश्यक रहेको बताइन् ।

कार्यक्रममा राष्ट्रिय दलित नेटवर्कमा अध्यक्ष गणेश विश्वकर्मा, राष्ट्रिय कृषक महासंघका अध्यक्ष उद्धव अधिकारी, सामुदायिक वन उपभोक्ता महासंघका अध्यक्ष भारती पाठक, एकता परिषद् भारतका मन्जु डुमडुम लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

कार्यक्रममा सहभागीहरुलाई राष्ट्रिय भूमि अधिकार मञ्च, नेपाल गण्डकी प्रदेशका अध्यक्ष सुनिता विश्वकर्माले मन्तव्यद्धारा स्वागत गरेकी थिइन् ।

फागुन २७ देखि २९ गतेसम्म हुने सम्मेलनको पहिलो दिन सोमबार बिहान ११ बजेदेखि १२ बजेसम्म पोखराको लेक साइड गौरीघाटमा रहेको पार्कदेखि शुरु भएको ¥याली बजार परिक्रमा गरी मुख्य मन्त्रीको कार्यालय, जिल्ला प्रशासन कार्यालय छेऊको सडक हुँदै सभागृहमा आई सभामा परिणत भएको थियो ।

सम्मेलनको दोस्रो दिन वर्तमान परिवेशमा भूमि सम्बन्धि सवाललगायत विषयमा अनुभवी व्यक्तिहरुबाट वैचारिक प्रशिक्षण हुनेछ र तेस्रो दिन आगामी कार्यकालको लागि नेतृत्व चयन भई सम्मेलन समापन हुनेछ ।


  •  
  •  
  •